७ वैशाख २०८१ शुक्रबार
अर्थ

विमानस्थल आसपास लेजर लाइट निषेध

काठमाडौं-मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास विकिरण फ्याँक्ने ‘लेजर लाइट’ प्रयोग गर्न निषेध गरेको छ।

लेजर लाइटबाट उडान सुरक्षामा असर पुगेको र गत शुक्रबार अवतरण गर्न आइरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाजको पाइलट बस्ने ककपिटमा जमिनबाट फ्याँकिएको लेजर लाइट परेको घटनापछि विमानस्थलको प्रमुख सञ्चालक निकायसमेत रहेको प्राधिकरणले यस्तो कदम चालेको हो ।

उड्डयन सुरक्षामा ‘पर्याप्त ध्यान’ नपु¥याएको र प्रभावकारी अनुगमन गर्न नसकेको भन्दै युरोपेली आयोगको उड्डयन सुरक्षा सूचीमा नेपाल परेयता प्राधिकरण अप्ठेरो अवस्थाबाट गुज्रिँदै आएको छ । त्यसमाथि लगातार हवाई दुर्घटना भइरहनु, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजसँग चरा ठोक्किनुजस्ता कारण युरोपको उड्डयन ‘कालोसूची’ बाट उम्किन मुस्किल भइरहेका बेला एउटा ताजा घटनापछि प्राधिकरणको भागमा यस्तो जिम्मेवारी थपिएको हो ।

‘रातिको समयमा लेजर लाइटबाट पर्नसक्ने प्रतिकूल असर तथा प्रभावको सम्बन्धमा सर्वसाधारणलाई जानकारी गराउने तथा त्यस्ता अवान्छित क्रियाकलाप गर्दा प्रचलित कानुनी कारबाहीबारे पनि अवगत गराउने निर्णय गरेका छौं,’ प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विमानस्थल सञ्चालन निर्देशक प्रेमनाथ ठाकुरले मंगलबार नागरिकसँग भने, ‘हामी बिहीबारदेखि सर्वसाधारणलाई यसबारे जानकारी गराउन माइकिङ गर्दै हिँड्छौं ।’

उनका अनुसार गत शुक्रबार बैंककबाट उडेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाज ललितपुरको हात्तीवनमाथि आइपुग्दा पाइलट बस्ने ककपिटको शिशाबाट एक्कासि लेजर लाइट भित्र छिरेको थियो ।

त्यसलगत्तै चालकदलले ‘एयर ट्राफिक कन्ट्रोल’ टावरलाई घटनाबारे जानकारी गराएको थियो । ‘अज्ञात व्यक्तिले जहाजको ककपिटमा पर्ने गरी लेजर लाइट देखाएको ठहरपछि हामीले कोटेश्वर–जडीबुटी क्षेत्रमा नेपाली सेना र प्रहरी खटायौं,’ ठाकुरले भने, ‘राति करिब ८ बजे भएको घटनापछि सेना र प्रहरीले जडिबुटी क्षेत्रमा शंकास्पद केही व्यक्तिसँग सोधपुछ गरेका थिए र एकजना बालकको हातमा लेजर लाइटसमेत फेला पारेका थिए ।’

उनका अनुसार करिब १० वर्षीय ती बालकले ‘आफूले लेजर लाइट खेलेको भए पनि जहाजतिर नदेखाएको र झुक्किएर परेको भए थाहा नभएको’ सुरक्षाकर्मीलाई बताएका थिए । ‘त्यसपछि उनका अभिभावकलाई बोलाएर घटनाबारे जानकारी गराइएको र उनीहरूले समेत आइन्दा बच्चालाई लेजर लाइट बोक्न नदिने बताएपछि छाडिएको थियो,’ ठाकुरले भने ।

त्यसैगरी प्राधिकरणले उड्डयन सुरक्षामा गम्भीर असर पार्नसक्ने यस्ता घटना दोहोरिन नदिन कोटेश्वर–जडीबुटी क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको छ । यही क्षेत्रबाट फ्याँकिएको लेजर लाइट सिधै गएर हात्तीवनमाथिबाट आइरहेको निगम जहाजको ककपिटभित्र छिरेको थियो । 

थाइल्यान्डको बैंककबाट काठमाडौं आएको निगमको ‘९एन–एककेडब्लु’ कलसाइन भएको उक्त जहाजलाई क्याप्टेन सुवर्ण अवाले र को–पाइलट दिपु जुहार्चनले उडाएका थिए । जहाजमा १ सय ४१ यात्रु थिए ।

‘हात्तीवनमाथि आइपुग्दा करिब चारदेखी पाँच हजार फिट उचाइमा थियौं, एक्कासि लेजर लाइट शिशाबाट ककपिटमा छि¥यो,’ को–पाइलट जुहार्चनले नागरिकसँग भने, ‘आक्कल–झुक्कल लाइट पर्ने÷नपर्ने भयो तर हामीले त्यसलाई वास्ता नगरी जहाज अवतरण गरायौं । त्यसबेला हाम्रो जहाज प्रतिघन्टा २ सय २० किलोमिटरको तीव्र गतिमा विमानस्थलतिर गइरहेको थियो । पहिलोपल्ट लाइट परेको करिब १० सेकेन्डमै जहाज धावनमार्गमा अवतरण गरिहाल्यो ।’

ककपिटबाटै टावरलाई घटनाबारे जानकारी दिइसके पनि अवतरणपछि पुनः लिखित जानकारी गराइएको उनले बताए । सोमबार फेरि विस्तृत विवरण उल्लेख गरी उड्डयन प्राधिकरणमा प्रतिवेदन बुझाएको उनले जानकारी दिए।

‘लेजर लाइट लामो समय सिधा आँखामा प¥यो भने आंशिक दृष्टि गुम्न सक्ने र अझ उडानका बेला भयो भने थप खतरापूर्ण हुन्छ भन्ने थाहा थियो,’ जुहार्चनले भने, ‘त्यही भएर हामीले लेजर लाइटको वास्तै नगरी जहाज अवतरण गरायौं । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । यसबारे नियामक तथा सम्बद्ध निकायले बेलैमा सचेत हुन जरुरी छ ।’ आफूहरूले नआत्तिकन जहाज अवतरण गराउन सकेका कारण ठूलो दुर्घटना टरेको उनको भनाइ छ।

 

 

 

प्रकाशित: ८ भाद्र २०७३ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App