८ वैशाख २०८१ शनिबार
राजनीति

पारोसम्बन्धी महासन्धि अनुमोदन प्रक्रिया सुरु

काठमाडौं – सरकारले हानिकारक धातु पारो तथा पारोजन्य पदार्थबाट मानव र वातावरणमा पारिरहेको प्रतिकूल प्रभाव न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्ने प्रक्रिया थालेको छ। ‘मिनामाता महासन्धि’ मा हस्ताक्षर गरेको पाँच वर्षपछि सरकारले यो प्रक्रिया थालेको हो।

नेपालले उक्त महासन्धिमा सन् २०१३ अक्टोबर १० मा हस्ताक्षर गरेको भए पनि हालसम्म अनुमोदन गर्न सकेको छैन। नेपालमा पारो र पारोजन्य पदार्थको वास्तविक अवस्थासमेत सरकारले पहिचान गर्न सकेको छैन। महासन्धिमा एक सय २८ मुलुकले हस्ताक्षर गरिसकेका छन् । तीमध्ये ९१ राष्ट्रले अनुमोदन पनि गरिसकेका छन्।

वन तथा वातावरण मन्त्रालयले यसको वास्तविक अवस्था यकिन गरी अभिलेख तयार गर्न र उक्त महासन्धिमा सम्मिलित हुन आवश्यक कानुनी व्यवस्था गर्न एक परियोजना सञ्चालनमा ल्याएको छ। जिइएफको आर्थिक र युनिडोको प्राविधिक सहयोगमा सञ्चालित परियोजनाले सरोकारवाला निकायका प्रतिनिधिलाई समेटेर सोमबारबाट कार्यशाला सुरु गरेको छ। तीन दिनसम्म चल्ने कार्यशालामा परियोजनाको उद्देश्यबारे जानकारी दिनुका साथै पारो तथा पारोजन्य पदार्थको इन्भेन्ट्री संकलनसम्बन्धी प्रशिक्षण प्रदान गर्ने र कानुनी व्यवस्थाका लागि सुझाव संकलन गर्ने मन्त्रालयले जानकारी दिएको छ।

‘पारो जस्तो हानीकारक रसायनको प्रयोगबाट हुने असरबाट नेपाल र नेपालीलाई जोगाउन र पारो तथा पारोजन्य पदार्थको उपयुक्त व्यवस्थापन गर्न जरुरी छ,’ मन्त्रालयका सचिव प्रकाश माथेमाले भने, ‘यसका लागि मन्त्रालयले यही आर्थिक वर्षभित्र जोखिमपूर्ण पदार्थ व्यवस्थापन नियमावली तयार गर्न लागेको छ।’ महासन्धिमा हस्ताक्षर गरे पनि विस्तृत अध्ययनपछि मात्र यसको अनुमोदन गर्नुपर्ने उनले बताए। ‘आगामी नौ महिनामा यो परियोजनाले मिनामाता महासन्धि अनुमोदनका लागि खाका तयार पार्नेछ,’ उनले भने, ‘पारो र पारोजन्य पदार्थको इन्भेन्ट्री तयार पार्ने काम पनि यो परियोजनाले गर्नेछ।’ कार्यशालाबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाएअनुसार काम गर्ने सचिव माथेमाको भनाइ छ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर एवं नेपालका लागि मिनामाता महासन्धिको फोकल प्वाइन्ट विपिन राजभण्डारीले नेपालमा पारो उत्पादन नभए पनि पारोयुक्त सामग्रीको प्रयोग भइरहेको जानकारी दिए। ‘नेपालमा पारो उत्पादन गर्ने उद्योग र खानी छैन,’ नेपालमा मिनामाता महासन्धिको वर्तमान अवस्थाबारे प्रस्तुति राख्दै उनले भने, ‘पारोयुक्त थर्मोमिटर, रक्तचाप नाप्ने उपकरण, दन्त सामग्री, ट्युबलाइट, सिएफएल चिम, कोइलालगायतका बस्तु तेस्रो मुलुकबाट आयात भई प्रयोगमा आइरहेको छ।’

आयुर्वेदिक औषधि र हस्तकलाका मूर्ति तयार गर्ने क्रममा पनि पारो प्रयोग भइरहेको राजभण्डारीले बताए। ‘हालसम्म  कुन–कुन क्षेत्रमा के–कति परिमाणमा पारोको प्रयोग भइरहेको छ भन्ने यकिन तथ्यांक छैन । पारो तथा पारोजन्य पदार्थको इन्भेन्ट्री तयार पार्न यो परियोजनाले सहयोग गर्ने अपेक्षा छ,’ उनले भने।

परियोजनाका संयोजक भूपेन्द्र देवकोटाले पारो र पारोजन्य पदार्थले मानवीय स्नायु प्रणालीमा प्रत्यक्ष असर पार्ने जानकारी दिए। बालबालिकाको स्मरणशक्ति विकासमा यसले अझ बढी प्रभाव पार्ने उनको भनाइ छ। पारोका कारण मानिसको स्नायु प्रणालीका साथै पाचन प्रणाली, स्मरणशक्ति, शारीरिक सन्तुलन, रक्तचाप, तौललगायतमा विभिन्न समस्या उत्पन्न हुने देवकोटाले बताए। माछालगायत जीवजन्तु र वातावरणमा पनि यसले प्रतिकूल प्रभाव पार्छ। जनस्वास्थ्यसँग सम्बन्धित अस्पतालहरुमा नै यसको प्रयोग बढी हुने गरेको उनले बताए।

प्रकाशित: २० चैत्र २०७४ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App