७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्डिकेटले सर्वसाधारणलाई सास्ती

सिन्डिकेट पक्षधरले सिसा फुटाइदिएको अवस्थामा सोमबार बनेपा आइपुगेको मयूर बस। तस्बिर : देवराज केसीको फेसबुक

बनेपा – सार्वजनिक यातायातमा एकाधिकार राख्दै आएका व्यवसायीले जिल्ला सदरमुकाम धुलिखेल पुग्न यात्रुलाई तीनवटासम्म बस फेर्न बाध्य बनाएका छन्। यसबाट ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङबेसी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट समितिका बसमा सदरमुकाम धुलिखेल पुग्ने यात्रुले हैरानी खेप्दै आएका छन्।

‘समितिहरुले गाउँमा बस चलायौं भनेका छन् तर कस्ता बस र कस्तो तरिकाबाट चलाएको भनेर सबैलाई थाहा छैन। धुलीखेल पुग्न हामीलाई दुईवटा बस चढ्नुपर्छ । त्यहाँ पनि सरकारी कार्यालयमा पुग्न बस स्टपबाटै हिँड्नुपर्छ। बुढापाका र महिलालाई सास्ती छ,’ नालाका यात्रु इन्द्रप्रसाद दाहालले भने।

वर्षौंदेखि ग्रामीण रुटका यात्रुले खेप्दै आएको सास्ती हटाउने काम गर्नुको साटो आइतबार उल्टै गाउँ आउने बस बन्द गरेकोप्रति उनले आक्रोश व्यक्त गरे। ‘ढुंगे युगको जस्तो यात्रुलाई व्यवहार गरिएको छ, मयूर यातायात आउँदैमा हामीलाई थप सास्ती दिन पाइन्न,’ दाहालले थपे।

अघिल्लो दिन ग्रामीण रुटहरुमा बस नचलाएका काभ्रेका व्यवसायीले सोमबार मयूर यातायातको सेवामा अवरोध गरेका छन्। मयूरले अरनिको राजमार्गमा रहेको सिन्डिकेट तोड्दै चक्रपथ परिक्रमापछि बनेपासम्मको सुविधायुक्त बस सेवा सञ्चालन गरेपछि यहाँका व्यवसायी विरोधमा उत्रेका हुन्।

काभ्रे बस र काभ्रे मिनीबस समितिले सोमबार अरनिको राजमार्गको त्रिभुवनचोक, पुलबजार, जनागाललगायत सडकमा बस तेस्र्याएर मयूरका बसलाई सञ्चालन हुन दिएनन्। जनागालमा रोकिएको मयूर बसलाई स्थानीयले सुरक्षा दिँदै सञ्चालनमा सहयोग गरेका थिए। त्रिभुवनचोक र प्रत्येक स्टपमा दुवै समितिका बसले मयूरको बसलाई बीचमा पार्दै आफ्ना बसमा यात्रु तानातान गर्दै आएका छन्।

काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले कानुनी प्रक्रिया पूरा गरेर आएको मयूरलाई थप सुरक्षा दिएर भए पनि सञ्चालनमा अवरोध हुन नदिने वातावरण बनाउने बताए। उनले भने, ‘मयूरके बस तोडफोड गर्ने आँट नगरून् भनेर नै दिनहुँ एउटा टोलीलाई त्रिभुवनचोक, चारदोबाटोमा खटाएका छौं।’

जिल्ला यातायात व्यवस्थापन समितिको सदस्यसमेत रहेका एसपी थापाले ग्रामीण रुटमा सेवा सञ्चालन बन्द गर्ने काममा व्यवसायी उद्यत भइरहेमा जिल्लाबाट सिफारिस भएको अस्थायी रुट अनुमति खारेजीसम्मका प्रक्रिया अघि बढाइने बताए। ‘सिडिओ साबले बोलाउनुभएको बैठकमा चारवटामात्रै समितिका अध्यक्ष आउनुभयो। हामीले कानुनी प्रावधानबारे थप जानकारी गराएपछि अहिलेको समस्या १३ वटै समितिको भएकाले मंगलबार बैठक बसेर फेरि आउने भन्नुभएको छ,’ उनले थपे।

काभ्रेका प्रजिअले डाकेको बैठकमा सहभागी एक व्यवसायीले काभ्रेका समितिकै मात्र निर्णय हुँदा भक्तपुरका समिति रिसाउने भएकाले कोटेश्वरपूर्वका १३ वटै समितिसँग बसेर निक्र्योल निकाल्ने भनेर बैठक छाडेको बताए । ‘कोटेश्वर पूर्वको रुटमा दुई हजार चार सय बस–मिनीबसले सेवा दिने क्रममा सात हजार पाँच सय मजदुरलाई रोजगारी दिएका छन्,’ ती व्यवसायीले भने, ‘आठ अर्ब रुपैयाँ लगानी रहेकाले सुरक्षित गरिदिनुप¥यो भन्ने हाम्रो प्रमुख माग हो।’

प्रकाशित: २० चैत्र २०७४ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App