८ वैशाख २०८१ शनिबार
समाज

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

रसुवा– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने भएको छ।

सडक सुचारु नहुँदा हाकुका भूकम्प पीडितलाई सामाग्री ढुवानी गर्न समस्या आएपछि मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले चार दिनका लागि मैलुङ–स्याफ्रुबेसी सडक खुला गर्न लागेको हो।

सडक प्रयोगका लागि अनुमति नपाउँदा आमाछोदिङ्मो गाउँपालिका १ मा पर्ने ठुलोहाकु र हाकुबेसीका भूकम्प पीडितले सदरमुकाम धुन्चेबाट निर्माण सामग्री लैजाने गरेका छन्।

यहि चैत मसान्तसम्ममा दोस्रो किस्ता बुझिसक्नुपर्ने भएकाले सडक प्रयोगका लागि आमाछोदिङ्मो गाउँपालिका १ को वडा कार्यालयले रक्षा मन्त्रालयलाई अनुमति मागेको थियो। रक्षा मन्त्रालयले अनुमति दिएसँगै चार दिनका लागि सडक खुला गर्न लागिएको निर्माण कार्यदलका प्रमुख एवंम प्राविधिक सेनानी सञ्जय केसीले बताए।

‘सडक सञ्चालनका लागि वडा कार्यालयसँग समन्वय गरेका छौँ, प्राविधिक सेनानी केसीले भने, ‘यहि चैत २१ गतेबाट २५ गतेसम्म सडक खुला गर्ने कार्ययोजना बनेको छ ।’ २०७२ बैशाखदेखि निर्माण सुरु भएको सडकको ट्रयाक खोल्ने काम ९५ प्रतिशत सकिएको बताइएको छ। 

चार दिनका लागि सडक सुचारु भएपछि निर्माण सामग्री हाकुबेसीको पुलसम्म छिटो पुर्‍याउन सकिने वडा ध्यक्ष निमादिण्डु तामाङले बताए। ‘त्रिशुलीबाट हाकुबेसीको पुलसम्म गाडीबाट सामग्री पुर्‍याउन पाए घर निर्माणमा केही सहज हुन्छ, वडाध्यक्ष तामाङले भने, यसका लागि हामीले वडास्तरबाटै पहल गरेका हौँ।’

हाकुमा काम गर्नका लागि रुकुम, रोल्पा, बाँके बर्दियाबाट कामदार ल्याइएको छ । आमाछोदिङ्मो गाउँपालिका– १ मा पर्ने ठुलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही रहेका छन् । यी सबै लाभग्राहीसँग अनुदान सम्झौता भएको छ।

अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये एक सय ७१ जनाको दोस्रो किस्ताको लागि सिफारिस भएको सब–इन्जिनियर छत्रबहादुर शाहीले बताए। शाहीका अनुसार ६ जनाको तेस्रो किस्ताको लागि सिफारिस भएको छ।

‘हाकुका करिब ४७ प्रतिशत लाभग्राहीको दोस्रो किस्ताको लागि सिफारिस गरेका छौँ, सब–इन्जिनियर शाहीले भने, ७१ जनाको दोस्रो किस्ताको लागि सिफारिस गर्ने तयारीमा छौँ।’ चैत मसान्तसम्ममा करिब ७० प्रतिशतले घर निर्माण गरिसक्ने उनले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो। जिल्ला बाहिरबाट सिकर्मी, डकर्मी तथा लेबर गरी ४ हजार भन्दा बढी कामदार ल्याइएको छ।

प्रकाशित: १९ चैत्र २०७४ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App