७ वैशाख २०८१ शुक्रबार
विचार

ट्राफिक जाम कम गर्ने उपाय

ट्राफिक जामको समस्याले अहिले विश्वभर नै विकराल रूप लिइरहेको छ । विकासोन्मुख मात्र नभएर विकसित मुलुकका बासिन्दा पनि ट्राफिक जामका कारण आजित भइरहेका छन्। नेपालको न्युरोडदेखि अमेरिकाको न्युयोर्कसम्म ट्राफिक जाम सबैका लागि टाउको दुखाईको विषय भएको छ । तोकिएको समयमा गन्तव्यमा पुग्न नसक्नु ट्राफिक जामले निम्त्याउने मुख्य समस्या हो । ट्राफिक जामकै कारण यात्रुले ठूलो मानसिक तनाव पनि भोगिरहेका हुन्छन् जसको कुनै लेखाजोखा नै गर्न सकिन्न । जहाँ समस्या हुन्छ, त्यहाँ समाधानका विकल्प पनि हुन्छन् । ट्राफिक जामको समस्या पूर्णरूपमा नियन्त्रण गर्न निकै कठिन हुने भए तापनि केही सरल उपाय अपनाएमा निकै हदसम्म यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

ट्राफिक जामको समस्याकाठमाडौं उपत्यकामा विकराल छ । उपत्यकामा हाल एक लाख पचास हजारको हाराहारीमा कार, बस र ट्रक सञ्चालनमा छन् भने पाँच लाख दुई पांग्रे सवारी (मोटरसाइकल) चलिरहेका छन् । जम्मा ४५० किलोमिटर लम्बाइ र करिब ४ दशमलव ५ मिटरचौडाइका सडकमा गुड्ने यी सवारी साधन व्यवस्थापनमा अब नयाँ सोचाइ र समाधानका उपाय पहिचान गर्नु अत्यावश्यक हुँदै गएको छ। प्रत्येक दिन ८३ हजार किलोलिटर पेट्रोलियम पदार्थको खपत गर्ने यी सवारी साधनबाट हामीले वार्षिक १८ खर्ब रुपियाँ विदेश पठाउँदै छौ। प्रत्येक वर्ष नयाँ गाडी थपिँदै गर्दा बाटो साँघुरो हँुदै गएको महसुस सबैले गरेका छन् । भएको एउटामात्र बाटो अलि फराकिलो पनि पार्न नसक्ने र अन्य विकल्प, जस्तै– (ओभरहेड) फ्लाई ओभर र भूमिगत मार्गको व्यवस्था होइन, कल्पनासमेत गर्न नसक्दा हामीले साँघुरो बाटोको समस्या समाधान गर्न सकेका छैनौं। यस्तै अवस्थाबाट गुज्रिरहेका धेरै देश र सहरबाट पाठ सिकेर केही कदम चाल्न सकेमा राहत पाउने आशा गर्न सकिन्छ। धेरै युरोपेली देशले हामीभन्दा अगाडि यस्तै जामको समस्या बेहोरेका थिए । तर प्रभावकारी नीति तथा तिनको कार्यान्वयनका कारण ती देशमा जामको समस्या धेरै हदसम्म अन्त्य भएको छ ।

हाम्रो मुलुकको हकमा २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएपनि यसको कार्यान्वयन हुन सकेको छैन। पुराना सवारीले सडकमा जाममात्र होइन, प्रदूषणसमेत बढाइरहेका छन्। नेपालमा पछिल्लो समय माइक्रो, टेम्पो, साना बस तथा कम यात्रु क्षमताका साना सवारी साधन ह्वात्तै बढेका छन् । राजधानीमा साना तथा कम यात्रु बोक्ने सार्वजनिक यातायातको सट्टा ठूलाधेरै यात्रु अट्ने बसचलाउनु जरुरी भइसकेको छ ।ट्राफिक जामको समस्या समाधान गर्न विश्वभर अपनाइएका अनुभवको अध्ययनका आधारमा केही सुझाव प्रस्तुत छ:

१. विद्यालय बसको व्यवस्थापन– वर्षौंपहिले बेलायतको राजधानी लण्डन (अन्य देशमा समेत) मा विद्यालय बसहरुको नियमन गरी सजिलै सवारी व्यवस्थापन गर्न सकिन्छ भन्दा धेरै मानिस अचम्मित र स्तब्ध भए। त्यसो गर्न सकिन्छ भन्ने कुरा केही वर्षमा प्रमाणित पनि भयो । त्यहाँ विद्यार्थीको ठेगाना अनुसार उनीहरुलाई नजिकैको विद्यालयमा भर्ना गरियो जसका कारण अधिकांश विद्यार्थीलाई यातायातका साधन प्रयोग गर्नै परेन । यसबाट ट्राफिक जामको समस्या नै परेन भने शिक्षामा पनि समानता भेटियो । स्थानीयले आफ्नो आसपास सञ्चालित विद्यालयहरुको गुणस्तरमा पनि विशेष ध्यान दिन थाले ।

हाल उपत्यकामा ३ हजार विद्यालय सञ्चालनमा छन् र तिनमा करिव ८ लाख विद्यार्थी अध्ययन गर्छन् । जसमध्ये २ लाखले स्कुलको सवारी साधन प्रयोग गर्छन् । जम्मा ६ हजार बसले दिनमा २ देखि ६ ट्रिप गर्दा ३० हजार ट्रिप गर्ने गरेको पाइन्छ । सालाखाला एउटा ट्रिपमा २ घण्टा बिताउँदा पनि दैनिक ५० हजारदेखि ७० हजार घण्टा बसहरु बाटोमा कुदिरहेका हुन्छन् । त्यसमा यात्रा गर्ने कलिला बालबालिकाहरु आफ्नो अध्ययन, खेल्ने र मनोरञ्जन गर्ने समय खर्चेर बाटोमा अनावश्यक ट्राफिक जामको सकसमा पर्न बाध्य छन्। जब स्थानीय स्तरमा विद्यालय व्यवस्थापन हुन्छ, बस चढ्ने कुरा अन्त्य हुनेछ। एकातिर घरमा अभिभावकहरु छोरा–छोरी कुरेर बस्ने अर्कोतिर बाटोमा अबोधहरु ट्राफिक जाममा तड्पिने परम्परा अन्य हुनेछ। आर्थिक बचत हुनुका साथै बालबालिकाको समय बचत भई उनीहरु अन्य फलदायी काममा संलग्न हुनसमेतसक्छन् ।

२. एक्सप्रेस (द्रुत) मार्ग– हाल सार्वजनिक सवारी साधन चढेर घण्टांै रोकिँदै गन्तव्यमा पुग्न कठिनाई बेहोरिरहेका यात्रुले जब द्रुत मार्गबाट बिनाअबरोध आवतजावत गर्न पाउने कल्पना गर्ने गर्छन्,  आफँैमा प्रश्न गर्छन्– के काठमाडौंमा यस्तो सुविधा सम्भव छ र? धेरै पैसा खर्च गर्ने क्षमता के हाम्रो छ त? यीसँगै कौतुहलता हुन सक्छ ।

ड्डभारतको नयाँ दिल्लीमा मेट्रो चलेजस्तै काठमाडौंमा कहिले चल्ला?

ड्डयुरोप अमेरिकामा जस्तो लेन अनुशासन नेपालमा आशा गर्न सकिएला र?

ड्ड अहिले चलेका वा भएका मार्गहरुको विकल्प खोज्दा हाम्रो आर्थिक भारले सम्भव छ र?

यी प्रश्नको उत्तर सजिलो छ–‘एक कौडी खर्च नगरी त सम्भव छैन तर सानो लगानीले पनि समाधान गर्न सकिने प्रशस्त विकल्प भने छन् ।’ तीमध्ये पहिलो भनेको वैकल्पिकद्रुत मार्ग पहिचान गरी त्यसका लागि लगानी गर्ने वातावरण निर्माण गर्नु हो । जब पब्लिक बसहरुबाट छिटो गन्तव्यमा पुगिन्छ, व्यक्तिगत सवारीको चाप स्वतः घट्छ । मानिसले सवारी साधन किने पनि दैनिकरूपमा दु्रत मार्ग प्रयोग गर्नेछन्, आफ्ना सवारी कुनै विशेष समयमा मात्र प्रयोग गर्नेछन्। यसबाट पनि ट्राफिक जाम न्यून गर्न मद्दत पुग्छ ।

द्रुत मार्गका सम्भावना

मुख्यतया उपत्यकाको उत्तर–दक्षिण र पूर्व–पश्चिम चल्ने दुई मार्ग जसमा कुनै निश्चित मापदण्ड भएका ठूला क्षमताका बसमात्र सञ्चालनमा ल्याउन सकिन्छ । ती मार्गमा त्यस्ता बसका अलावा कुनै पनि सवारी साधन वा व्यक्ति र कुनै किसिमका अवरोध (दोबाटाहरुको) को जाम खप्न नपरोस्। यी बस चढ्ने/झर्ने यात्रुका लागि बस स्टपहरुको व्यवस्थापन कार्ड प्रणालीबाट गर्नुपर्छ । बस टर्मिनलहरु निर्माण गर्दा टिकट काट्ने, चेक गर्ने सम्पूर्ण नियम व्यवस्थित हुनुपर्छ । यी मार्गको पहिलो विकल्प काठमाडौं उपत्यकाभित्र बग्ने खोलाका किनारबाट गर्ने कोसिस गर्नेहो भने धेरै कम खर्चिलो पर्ने देखिन्छ। जग्गाको उपलब्धतादेखि सडकहरु बनाउँदा क्रसिङ (मानिस र गाडी दुवै)को खर्च बचाउनेदेखि उपत्यकाबासीहरुको सजिलै पहुँच पुग्ने मान्यताबाट प्रस्ताव गरिएका द्रुत मार्गहरुको विवरण यसप्रकार छ ः

१.     भक्तपुरबाट सुरु भएर हनुमन्ते खोलाको किनार हँुदै वाग्मती किनारबाट बल्खु खोलाको किनारसमेत विस्तार गर्ने सकिने, पूर्व–पश्चिम द्रुत मार्ग ।

२.    विष्णुमती किनार वा टुकुचा र धोबीखोला किनार वा गोदावरी खोला किनारको उत्तर–दक्षिण द्रुत मार्ग ।

यी मार्गमा दोबाटोमा फ्लाई ओभर बनाउँदा विशेष ध्यान दिनुपर्छ । अहिले पनि कतिपय बाटो (जस्तै– कुपण्डोल) मा पुलमुनिबाट बाटो सञ्चालनमा नै छन् । यही प्रविधिलाई केही समय सञ्चालन गर्न सकियो भने खर्चको ठूलो हिस्सा पहिले नै लगानी गर्नबाट छुटकारा मिल्नेछ। साथै यी बाटोमा दुवैतर्फ अन्य सवारी तथा बस बिसौनीमा बाहेक मानिस छिर्न नसक्ने गरी बार बन्धन गर्नुपर्छ । त्यस्तै मानिस ओहोरदोहोर गर्न आकाशे पुलहरु निर्माण गर्नुपर्ने स्थान पहिचान गर्नुपर्छ। यी खोला किनारमा बाटो बनाउँदा पैदल यात्रीका लागि क्रसिङसमेत कम निर्माण गर्दा पुग्नेछ । यो मार्ग प्रयोग गरेर सार्वजनिक साधनबाट नै भक्तपुरदेखि टेकु मात्र१५ मिनेटमा पुगिनेछ । भविष्यमा यो मार्ग पर्यटकीय केन्द्रसमेत बन्न सक्छ ।वाग्मती, विष्णुमती, मनहरा, धोबीखोलाहरुमा प्रदूषित पानी प्रशोधन गरेरमात्र छाडिदिनुपर्छ । गुजरातको अहमदावादको सावरमतीजस्तै ठाउँ–ठाउँमा बाँध बाँधेर सफा पानीको ताल बनाउने हो भने सुन्दर जलक्रिडा स्थलको सम्भावनासमेत देखिन्छ । यी तालमा मोटरबोट चलाउने र यसबाट पनि वैकल्पिक मार्ग बन्ने देखिन्छ।

          आर्किटेक, अर्बन प्लानर

प्रकाशित: ८ भाद्र २०७३ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App