७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा बन्दकाे प्रभाव : हिंसात्मक बन्दै दलित अान्दाेलन, ४ जनाको मृत्यु

नयाँ दिल्ली- भारतमा केही दिनअघि सर्वोच्च अदालतले दलित समुदायसँग सम्बन्धित कानूनमा ल्याएको परिवर्तनको विरोधमा त्यहाँका दलित संगठनहरुले देशव्यापी भारत बन्दको आह्वान गरेका छन्।

अदालतले अनुसूचित दलित र जनजातिहरुप्रति असुरक्षा बढाएको भन्दै विभिन्न दलित समर्थित संघसस्थाले साेमबार  भारत बन्दको आह्वान गरेका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाब, हरियाणा, बिहार, उडिसा र अन्य धेरै प्रान्तमा बन्दको असर परेको छ भने धेरैजसो स्थानमा बन्दले हिंसात्मक रुप लिएको छ। प्रदर्शनकारीले प्राय: सबै प्रान्तमा प्रहरी चौकी, पसल, रेल्वे स्टेशन र सवारी साधनमा आगजनी गरेका छन्।

मध्य प्रदेशस्थित ग्वालिएर सहरमा बन्दले हिंसात्मक रुप लिँदा १९ जना बन्दकर्ता घाइते भएका छन भने प्रहरीको गोली लागि २ जनाको ज्यान गएको छ। ग्वालियरमा स्थानीय प्रशासनले भोलि बिहान ६ बजे सम्मका लागि इण्टरनेट सेवा बन्द गरेको छ। त्यस्तै सोही प्रान्तको मुरैना जिल्लामा पनि २ प्रदर्शनकारीको ज्यान गएको छ।

त्यस्तै उत्तर प्रदेशका आग्रा, सरानापुर, बारणसी, मेरठ लगायतका  सहरमा बन्दकर्ताले रेल सेवामा समेत अवरोध गरेका छन्। मेरठमा प्रहरी चौकीमा आगजनी गर्नुका साथै त्यहाँका विधायकको निवासमा समेत आगजनी प्रयास गरेका थिए।

पंजाबमा साेमबार हुने भनिएको सीबीएसइको कक्षा १० र १२ को बोर्ड परीक्षा रद्द भएको छ भने त्यहाँका यातायात र इन्टरनेट सेवा ठप्प छन्।

दिल्लीको संसद मार्गमा पनि प्रदर्शनकारीले प्रदर्शन गरेका छन्। उच्च सुरक्षा भएकाले त्यहाँ कुनै अप्रिय घटना भने भएको छैन।

भारतीय काङ्ग्रेसले समेत समर्थन जनाएको भारत बन्दलाई प्राेत्साहित गर्दै नेता राहुल गान्धीले  दलित समुदायलाई सडकमा उत्रेर नरेन्द्र मोदीसँग अधिकारका लागि लड्न ट्विटमार्फत आह्वान गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७४ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App