७ वैशाख २०८१ शुक्रबार
अन्य

बिहेपछि महिलाको जात के हुने ?

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी माओवादीकी दुर्गा सुवेदी र एमालेकी सुजिता शाक्य जनजाति महिला कोटाबाट सांसद बनेपछि महिलाको जातीय पहिचान के हुने ? भन्ने कुराको फेरि बहस सुरु हुन थालेको छ । सुजिता शाक्यले एमाले नेता शंकर पोखरेलसँग बिहे गरेकी हुन् भने दुर्गा सुवेदीले माओवादी नेता देव गुरुङसँग । दुवै जना महिला जनजाति कोटाबाट प्रतिनिधिसभाको सांसद बनेका छन् ।

करिब आजभन्दा सय वर्षअगाडि समाजसुधारक योगमाया न्यौपानेले तत्कालीन सरकारसमक्ष सामाजिक कुसंस्कार र विभेदबारे विभिन्न माग राखेकी थिइन् । जसमध्ये महिलाको पहिचान र जातबारे पनि एक थियो । योगमायाले बालविवाह हटाउनुपर्ने, विधुवाले चाहेमा पुनः विवाह गर्न पाउने, बिहेपछि महिलाको जात परिवर्तन हुन नपर्ने अर्थात् जन्मँदा जे थियो त्यही हुनुपर्नेलगायतका माग तत्कालीन सरकारसमक्ष राखेकी थिइन् भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । त्यतिबेलाको समाज र अहिले पनि महिलाले बिहे गरेपछि उसको गोत्र तथा जात फरक हुने भन्ने सामाजिक मूल्यमान्यता रहिआएको छ । 

नेपाली परिवेशमा महिलालाई खासै नपढाइने र सरकारी कामकाज गर्न नपर्ने हुँदा १६ वर्ष पुग्नेबित्तिकै नागरिकता बनाउने चलन थिएन । हजुरआमाहरुको त कि त बाजेको पेन्सन खाने बेलामा कि त वृद्धभत्ता खाने बेलामा नागरिकता बनाउने प्रचलन हाम्रो समाजमा रहिआएको छ । नेपालको कानुनमा अझै पनि बाबु र श्रीमान्को नागरिकताबाट महिलाको नागरिकता बनाउन सकिन्छ ।

२२ वर्ष पहिले तत्कालीन माओवादीले सशस्त्र युद्ध थाल्दा पहिचानको मुद्दालाई प्रमुखताको साथ उठाएको थियो । जसमा महिलाहरु जन्मदा जुन जात अथवा थरमा छन् बिहेपछि पनि त्यही थर अथवा जातमा रहनुपर्छ भन्ने कुरा जोडतोडले उठाएको थियो । यो राजनीतिक मुद्दा भएकै कारण होला अधिकांश राजनीति गर्ने महिला नेताले बुबाकै थर राखेका छन् । 

नागरिकताको दुरुपयोग भएको जे मन लाग्यो त्यही गर्ने र फाइदाका लागि जता पनि ढल्कने प्रवृत्ति बढेको एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले बताइन् । उनकाअनुसार पहिचान भनेको कुनै एक हुन्छ । रगतको आधारमा पहिचान हुने हुँदा पतिको थरतर्फ जानुनपर्ने उनले बताइन् । ‘यो दण्डनीय कार्य हो अवसरवादी प्रवृत्ति हो । जुनसुकै राजनीतिक दलमा पनि यस किसिमको गलत चलन आएको छ । सुविधाको आधारमा जात फेर्ने होइन,’ उनले भनिन्, ‘अब कानुन नै बनाएर जन्मको आधारमा मात्रै पहिचान हुने नियम बनाउनु पर्छ । फाइदाको आधारमा गर्नेलाई दण्ड गर्नुपर्छ ।’

बाहुनको छोरी सदा बाहुन नै हुने, गुरुङको छोरी सदा गुरुङ नै हुने हो । फाइदाका लागि जे पायो त्यही गर्न नहुने उनको धारणा छ । अब कानुन बनाउँदा यस्तो दोहोरो अर्थ दिने कुरा खारेजी हुनुपर्ने उनको भनाइ रहिआएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले पनि महिलाको जात जन्मको आधारमा हुने बताइन् । उनले भनिन्, ‘समानुपातिकको दुरुपयोग भएको छ पुग्न नसकेका पिछडिएका तर राजनीतिमा लागिरहेका महिला अथवा अन्य समुदाय पुगून् भनेर हो तर यसको दुरुपयोग गर्दै नेताको गोजीको मान्छे मन लाग्दी राखेर गलत गरिएको छ ।’

फाइदाको आधारमा जात राख्ने प्रविृत्त देख्दा आफूलाई लाजै लाग्ने गरेको उनले बताइन् । यस्ता गम्भीर गल्ती राजनीतिक दलले गर्न नहुने उनको मत रहेको छ । उनले भनिन्, ‘राजनीतिक दलहरुले यसलाई सच्याइनुपर्छ । कानुनबाहेक अझ भनांै लेखिएकोबाहेक अरू कुरा नहुने गलत ट्रेन्ड बसेको हाम्रो जस्तो देशमा पहिचानबारे पनि रगतकै आधारमा हुने भनेर स्पष्ट लेखिनुपर्छ ।’

त्यसो त राजनीतिमा आएपछि मात्रै चर्चा भए पनि अन्य कोटा मिलाएर पद पाउने ठाउँमा सम्बन्धित जातले भन्दा इन्टरकास्ट म्यारीज गरेका अर्काे जातले त्यो पदहरु लिने गरेका छन् । लोकसेवा आयोग सरकारी सेवासुविधा लिने अधिकांश ठाउँमा बाबुको थर राखे फाइदा हुनेरहेछ भने बाबुको, श्रीमान्को राखे फाइदा हुनेरहेछ भने श्रीमान्को राख्ने प्रवृत्ति पनि बढ्दै गएको छ । 

प्रकाशित: १९ चैत्र २०७४ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App