८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरका गाउँपालिकाहरू विद्युतविहीन

उदयपुर – स्थानीय तह सञ्चालनमा आएको वर्षदिन पुग्न लाग्दासम्म उदयपुरको गाउँपालिकाहरू विद्युतविहिन छन्। विद्युत सेवा नपुगेका कारण गाउँपालिकाका दैनिक कामकाज सोलार प्यानलको भरमा चलाउनुपर्दा सेवाग्राहीले चुस्त सेवा पाउन नसकेको गुनासो गरेका छन्।

उयदपुरका ८ स्थानीय तहमध्ये ४ वटा गाउँपालिका कुनैमा पनि विद्युत सेवा विस्तार नभएका कारण कार्यालयको कामकाज सोलारको भरमा चलाउनुपरेको हो। गाउँपालिकाका वडाको त के कुरा केन्द्रस्लमा समेत बिजुली सुविधा नपुगेका कारण जिल्लाका ४ वटै गाउँपालिकाको दैनिक कामकाज गर्न समस्या हुने गरेको उनीहरू बताउँछन्। विद्युत विस्तार नभएका कारण सोलारबाट काम चलाउनुपर्ने र कामचलाऊ सोलारको भोल्टेज कम हुने हुँदा थप काम झन्झटिलो हुने गरेको कर्मचारीहरूको गुनासो छ।

जिल्लाका लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिका कार्यालय सोलारको भरमा चलाइदै आएको छ। सोलारको भरमा काम गर्नुपर्दा भनेजस्तो सेवा प्रवाह गर्न नसकेको उनीहरूको गुनासो छ। नेपाल सरकारले प्रविधिमैत्री कामकाज गर्ने भन्दै अनलाइन सिष्टमबाट सेवा गर्ने निर्देशन दिएको, योजना तुर्जमा, इस्टीमेट, बीलिङ र बजेट निकासादेखि भुक्तानीसम्मका काम प्रविधिमार्फत गर्नुपर्दा विद्युत अभावमा कामकाज प्रभावित हुन पुगेको लिमचुङबुङका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए।

उनका अनुसार गाउँपालिका केन्द्रमै बिजुली नभएका कारण वडागत योजनाका काम, सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घट्ना दर्ता र सूचना अद्यावधिकलगायत सम्पूर्ण काम चाहेजस्तो छिटो छरितो गर्न सकिएको छैन। विद्युतको विकल्पको रुपमा सोलार जडान गरिए पनि काम लिएर आउने सेवाग्राहीलाई सन्तोषजनक सेवा दिन नसकिएको राईको भनाई छ।

विद्युत विस्तार नभएका कारण कामचलाउ सोलार जडान गरेर काम गरिदै आएकोमा उच्च पहाडी भेगका गाउँपालिकामा अत्याधिक चिसोका कारण सोलारले पनि राम्रो काम गर्न नसकेको ताप्ली गाउँपालिकाले जनाएको छ। ताप्लीका अध्यक्ष उद्यव थापाले चिसो ठाउँ भएकाले सोलारमा पावर कम भएर भोल्टेज कम हुने हुँदा काम प्रभावकारी हुन नसकेको बताए। लिमचुङबुङ र ताप्ली केन्द्र उच्च ठाउँमा रहेकाले घाम राम्ररी नलाग्ने हुँदा सोलार चार्ज गर्ने कठिन पर्ने भएकाले सेवा प्रभावित हुन पुगेको हो। अन्य काम सामान्य कठिनाई हुने भएपनि प्रिन्ट, फोटोकपी र इन्टरनेट चलाउन समस्या पर्ने गरेको छ।

राम्ररी घाम नलाग्ने ठाउँमा केन्द्र परेका कारण पनि सोलार व्याकअपले धान्न नसक्दा काम गर्न साह्रै गाह्रो भएको कर्मचारीहरू बताउँछन्। हिउँदयाममा सामान्य काम चलाउ भए पनि बर्खायाममा सातादिनसम्म लगातार पानी पर्ने हुँदा थप कठिनाई पर्ने कुराले गाउँपालिकाबासी अहिलेदेखि चिन्तित छन्। विद्युत विस्तार गर्न वर्षौं लाग्ने भएकाले पनि गाउँपालिकाहरुको कामकाजमा सहजता ल्याउन ठूलै क्षमताको सोलार प्यानल जडान गर्नुको विकल्प नभएको उनीहरुको धारणा छ।

रौतामाई गाउँपालिका र उदयपुरगढीको पनि हालत उस्तै छ। उदयपुरगढी गाउँपालिकामा जडान गरिएको सोलार प्यानलबाट कार्यालयको कामकाज गर्न कठिनाई भईरहेको निमित्त प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले बताए। कम क्षमताको सोलारबाट नियमित चिठीपत्र प्रिन्ट गर्नुपर्ने, योजनाहरूको इस्टीमेट, बजेट तर्जुमा, अद्यावधिकलगायत काम गर्दा व्याट्रीले काम गर्न छोड्ने हुँदा बीचैमा काम अवरोध हुने गरेको उनले बताए। उदयपुरगढी केन्द्र पनि धेरै उचाईमा भएकाले चिसोका कारण सोलारले चार्ज दिन नसक्ने र व्याकअप चाँडै सकिएर कार्यालयको कामकाज प्रभावित हुने गरेको उनको भनाई छ।

‘बिजुली भए पो ढुक्क भएर काम गर्नु, सोलारबाट धान्नुपरेको छ’ श्रेष्ठले भने ‘सानातिना काम भए पनि प्रिन्टिङ, स्क्यानिङ र इन्टरनेट सेवामा कम पावरको विद्युतले सेवा प्रभावकारी बनाउन सकिएको छैन।’ मन्त्रालयदेखि कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समितिसँगै विषयगत कार्यालयहरूसँगको सबै लिंक कम्प्युटर अनलाईनबाट चलाउनुपर्ने हुँदा विद्युत विस्तार गाउँपालिका केन्द्रस्म्म अनिवार्य भईसकेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए।

अर्को गाउँपालिका रौतामाईको केन्द्र पनि सोलारकै भरमा कार्यालय सञ्चालन गरिदै आएको छ। स्थानीय खारी खोलाबाट उत्पादित लघुजलविद्युतको विद्युत थोरै क्षमताको भएकाले कार्यालय सञ्चालन गर्न सोलारका भर पर्नुपरेको केन्द्रस्थल २ नम्बर वडाध्यक्ष खविन्द्र रास्कोटीले बताए। विद्युत अभावका कारण इन्टरनेट चलाउन र कार्यालयको काम छिटो छरितो बनाउन समस्या पर्ने गरेको नासु माधव खतिवडाको भनाई छ।

राष्ट्रिय प्रशारणको विद्युतलाईनले अहिलेसम्म रौतामाईको ७, उदयपुरगढीको ४ र ५ लाई छोए पनि लिमचुङबुङ र ताप्लीलाई छुन सकेको छैन। रौतामाईको केन्द्र २ नम्बर वडा लानेगरी ७ नम्बरको मुर्कुची बजार हुँदै पुवारे भञ्ज्याङसम्म विद्युतीय पोल गाड्नेसम्मको काम भने सुरु भएको अध्यक्ष गजेन्द्र खड्काले बताए। तर, त्यहाँसम्म पनि तार टाँग्न बाँकी रहेको विद्युत भुट्टार पुग्न कम्तीमा ३ वर्ष लाग्ने उनको भनाई छ।

ताप्ली र लिमचुङबुङसम्म विद्युत विस्तारका लागि केन्द्रीय आयोजना अन्र्तगत प्रयास भइरहेको छ। केन्द्रीय प्रशारणको लाईन जोड्नेगरी खोटाङको बुईपा सबस्टेशनबाट सुनकोसी तारेर साविक बाँसबोटे हुँदै लिमचुङबुङ केन्द्र बाराहा ल्याएर ताप्लीसम्म विद्युत विस्तार गर्ने योजना अघि बढाइएको भए पनि कार्यान्वयन कहिले हुने भन्ने विषय भविष्यकै गर्भमा रहेको गाउँपालिकाबासी बताउँछन्।

प्रकाशित: १९ चैत्र २०७४ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App