coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

मेलम्ची – मेलम्ची नगरपालिका–७ दुवाचौरकी ५२ वर्षीया ठूली भारती भूकम्पले ढालेको घर कसरी ठड्याउने भन्ने चिन्तामा थिइन्। यही चिन्ताले जस्ताको अस्थायी टहरोमा उनका धेरै रात छट्पटिमा बिते, खाना रुच्न छोड्यो। एकल महिला उनलाई पुनर्निर्माणमा सघाउने बलियो साथ थिएन, न घर बनाउने आर्थिक हैसियत नै थियो।

विद्यालयमा पढ्ने एक मात्र सानो उमेरको छोराको भविश्यले ठूलीलाई अत्याउँथ्यो। पशु व्यापार गर्ने उनका श्रीमान् सोही सिलसलामा बेपत्ता भएपछि ठूली लामो समयदेखि एकल छिन्। मजदुरी गरेर गुजारा चलाउनले उनले नयाँ घरको सपना देख्नै छाडेकी थिइन्। 

‘दुःखमा हेर्ने सरकार रहेछ नि!’ सपनामै नदेखेको घर पाएपछि फुरुङ्ग ठूलीले सुस्केरा हाल्दै भनिन्। संघसंस्थाको सहयोगमा उनले दुई कोठे घर पुनर्निर्माण गरेकी छिन्। अहिले उनी छोरोसहित नयाँ घरमा छिन्। सरकारी सर्तमा रहेर संघसंस्थाले सहयोगमा उपलब्ध गराएको ३ लाख रुपैयाँबाटै ठूलीले ढुंगामाटो र काठजडित भूकम्पप्रतिरोधी घर बनाएकी हुन्। 

यसबाहेक उनले झण्डै १ लाख रुपैयाँ बराबरको जस्तापाता, किलाकाँटीलगायत सामग्री सहयोग पाएकी थिइन्। ‘यति बलियो साथ नपाएको भए घर बनाउनै सक्दिनथेँ,’ मुहारमा खुशीको भाव उतार्दै उनले भनिन्। 

त्यसो त हेलम्बु गाउँपालिका–३ का अरुण कुँवरसहितका तीनदाजुभाइ पनि नयाँ घर पाउँदा मख्ख छन्। १० कक्षामा पढ्ने अरुण तीन सदस्यीय परिवारकै जेठा सन्तान हुन्। उनीहरुका बुवा लामो समयदेखि बेपत्ता छन्। बुवा बेखरबर भएपछि उनीहरुकी आमा बिहे गरेर अन्यत्रै हिँडिन्। ‘आफन्तको लालनपालनमा हुर्कियौँ। उनीहरुकोमै बस्यौँ,’ नयाँ घर सरेपछि अरुणले भने, ‘बा–आमाको रुपमा घर पाएका छौँ।’

इन्द्रावती नदी करिडोरमा रहेका साविक आठ गाविसका आर्थिक रुपले विपन्न, साहाराविहिन अपांग, अशक्त, एकल महिला र जेष्ठ नागरिक घर पाउँदा दंग छन्। ठूली र अरुण जस्तै उनीहरुको मुहारमा पुनर्निर्माणले खुशी ल्याएको छ। भूकम्पले ढालेका उनीहरुका घर दाताको सहयोगमा ठडिएका छन्। 

हेल्भेटास नेपाल र सोलिडार स्वीट्जरल्याण्डको आर्थिक तथा प्राविधिक सहयोगमा साविक मेलम्ची, तालामाराङ, दुवाचौर किउल, हेलम्बु, इचोक, महांकाल र पाल्चोकका भूकम्प पीडित अपांग, अशक्त, एकल महिला र जेष्ठ नागरिकका लागि धमाधम नयाँ घरको पुनर्निर्माण भइरहेको छ। यी संस्थाकै सहयोगमा यस क्षेत्रमा ५ सय ३ पीडितको घर पुनर्निर्माण भइसकेको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हेल्भेटास र सोलिडारले भूकम्प पीडित पुनस्र्थापना परियोजना अन्तर्गत अपांग, अशक्त, एकल महिला र जेष्ठ नागरिकका ७ सय ८३ घर पुनर्निर्माण गर्ने अनुमति पाएका थिए। बाँकी घरको पुनर्निर्माण भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको स्थानीय साझेदार संस्था सिडिइसिएफका फिल्ड सुपरभाइजर पाण्डव अधिकारीले बताए। 

‘पुनर्निर्माण भएका घर पीडितलाई हस्तान्तरण गर्दै जान्छौँ,’ उनले भने। आवश्कता र व्यवहारिकता हेरेर एक–तीन सदस्यीय परिवारलाई दुइ, चार–सात सदस्य भएको परिवारलाई तीन र आठभन्दा बढी सदस्यीय परिवारको लागि चारकोठे घर बनिरहेको छ। पीडितले बुधबार ५ सय औँ घरको पुनर्निर्माण भएकोमा  खुशीयाली मनाएका थिए।

सो क्रममा मेलम्चीकी कान्छीमाया तामाङले आफ्नै घरको उद्घाटन् गरिन्। कान्छीमायाले मुलढोकाको रिवन काटेपछि उनीसहित परिवारका सदस्य घरभित्र परेका थिए। उनको यो ५ सय औँ घर  थियो। सहयोगी संस्थाका अनुसार ‘स्कोर बोर्ड’ का आधारमा लक्षितबर्ग छानिएको थियो। ‘छानिएकामध्ये अधिकांश आफ्नै बलबुताले घर बनाउन नसक्ने छन्,’ परियोजनाका टीम लिडर बिक्रम रानाले भने। 

उनका अनुसार छानिएका लक्षित पीडितले पुनर्निर्माण प्राधिकरणकै सीमाभित्र रहेका ३ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ। लक्षितबर्ग भएकाले पीडितलाई संस्थाकोतर्फबाट घरको आकार अनुसार जस्तापाता र किलाकाँटीमा एक–दुइ लाख रुपैयाँ सहयोगसमेत गरिएको छ।

प्रकाशित: १९ चैत्र २०७४ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App