७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पूर्वक्याटलन नेतालाई रिहा गर्न माग गर्दै बर्लिनमा प्रदर्शन

 बर्लिन– स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्लेस पुइगडेमन्टलाई रिहा गर्न माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौंको संख्यामा रहेका उनका समर्थकले प्रदर्शन गरेका छन्।

 क्याटलोनियाका पूर्व राष्ट्रपतिसमेत रहेका स्वतन्त्रता पक्षधर पुइगडेमन्टलाई राज्य विद्रोह गरेको र देश टुक्र्याउने अभियानमा लागेको आरोपमा स्पेनले युरोपेली पक्राउ वारेन्ट जारी गरेपछि गत साता जर्मनीबाट पक्राउ गरिएको थियो ।

जर्मनीको राजधानी बर्लिनमा पानी परिरहेको भएपनि पुइगडेमन्ट समर्थक प्रदर्शनकारीहरुले ब्रान्डेनबर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुस निकालेका थिए । विरोध कार्यक्रमका सहभागीले ‘नेता पुइगडेमन्ट र क्याटलोनियाका राजनीतिक बन्दी’को रिहाइका लागि मागसमेत गरेका थिए । प्रदर्शनकारीले बोकेको ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलन नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो । जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेंला र राता झण्डाहरूसमेत बोकेका थिए ।

 जर्मनीको प्रहरीले क्याटलोनियाका पूर्व राष्ट्रपति चार्लेस पुइगडेमन्टलाई  गत साताको आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा स्केलस्विग–होलस्टेन राजमार्ग गस्तीमा रहेका प्रहरीको टोलीले पक्राउ गरेको थियो।

  उनी क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन सुरु हुनु अगावै स्वघोषित रूपमा बेल्जियम निर्वासनमा गएका थिए । विवादित जनमत संग्रह गराएको र एकतर्फी रूपमा क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेन सरकारले पुइगडेमन्टसहित अन्य दर्जनौं क्याटलन नेताविरुद्ध पक्राउ आदेश जारी गरेको छ।

 

प्रकाशित: १९ चैत्र २०७४ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App