७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘आत्मसमर्पण गर्न विद्रोही तयार’:सिरिया

पूर्वी गुटाको हरास्ता क्षेत्रबाट बाहिर निस्कनुभन्दा अघि गत साता प्रार्थना गर्दै विद्रोही लडाकु । तस्बिर : रोयटर्स

दमास्कस– सिरियाको पूर्वी गुटामा सरकारी फौजसँग संघर्ष गरिरहेको अन्तिम विद्रोही समूह आत्मसमर्पण गर्न तयार भएको राज्य सञ्चालित सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

राजधानी दमास्कस नजिकैको पूर्वी गुटाको एउटा क्षेत्रको नियन्त्रण गरिरहेको अन्तिम विद्रोही लडाकुको समूहले सरकासँग शान्ति सम्झौता गर्न वा सरकारी फौजले नियन्त्रणमा लिएको भूभाग छोड्नेबारे सरकारले गरेको प्रस्तावमा आत्मसमर्पण गर्न सहमति जनाएको सिरियाली सञ्चारमाध्यमलाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  

अधिकांश सदस्य बाहिरिसकेको जैस अल–इस्लाम नामक विद्रोही समूह सरकारले कारबाही सुरु गरेदेखि सरकारी फौजसँग पूर्वी गुटा क्षेत्रको दोमा सहरमा लडाइँ गरिरहेको छ । सिरियाको सरकारी सञ्चारमाध्यमले भने जस्तै यदि उक्त समूहले साँच्चिकै आत्मसमर्पण वा उक्त क्षेत्र छोड्न मञ्जुर भएको हो भने पूर्वी गुटा क्षेत्र पूर्ण रूपमा सरकारी नियन्त्रणमा आउने छ।
राज्य सञ्चालित टेलिभिजन र सिरियाली पत्रिकाहरुका अनुसार सरकारसमक्ष विद्रोहीले आफूसँग भएका ठूला र मझौला आकारका हतियार बुझाउने छन् र दोमामा सिरियाको सार्वभौमसत्तालाई स्वीकार गर्नेछन् । सरकारी सञ्चारमाध्यमको यस्तो समाचारलाई विद्रोही समूह जैस अल–इस्लामले भने हालसम्म केही प्रतिक्रिया जनाएको छैन । आठ वर्ष अघि सुरु भएको सिरियाली गृहयुद्धको सुरुवाती चरणमै सरकारले दोमा क्षेत्रको आफ्नो नियन्त्रण गुमाएको थियो । त्यसबेलादेखि हालसम्म उक्त क्षेत्रमा विद्रोहीको नियन्त्रण कायम नै रहेको छ।

राजधानी दमास्कसको पूर्वी क्षेत्रमा पर्ने सहरको मध्य भाग दोमालाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउने भन्दै यसै वर्षको फ्रेबुअरी महिनाबाट सरकारले कारबाही सुरुवात गरेको थियो । सरकारी सञ्चारमाध्यमले भनेजस्तै यदि जैस अल–इस्लाम र सरकारबीच सम्झौता भयो भने सिरियाली फौज र रुसले गरेको हवाई हमला र बमबारीबाट कैयौं सर्वसाधारणले ज्यान गुमाएको उक्त क्षेत्रमा विद्रोहीको उपस्थिति हुने छैन।

जैस अल–इस्लामको नियन्त्रणमा रहेको क्षेत्रमा घाइते भएका सर्वसाधारण र दमास्कसको उत्तरपश्चिम इदलिबमा घाइते भएका लडाकुलाई ती क्षेत्रबाट बाहिर निकाल्न शनिबार अबेर वार्ताकार गएका थिए । यसैबीच दोमा सहरमा फसेका अर्को विद्रोही समूह फैलाक अल रहमानले आइतबार उक्त क्षेत्र छोडेको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । शनिबार उक्त समूहले सरकारी फौजको नियन्त्रणमा रहेको उक्त क्षेत्रबाट आफ्ना हजारौं लडाकु बाहिर लाने एक साता लामो कार्यक्रम अन्त्य गर्दै विद्रोही नियन्त्रणमा रहेको अर्कै क्षेत्रतर्फ गएको बताइएको छ।

विपक्षी स्रोतका अनुसार जैस अल–इस्लामले रुसी सैन्य प्रहरीलाई दोमा सहरमा ल्याउने र राज्यको क्षेत्राधिकारभित्र बसेर आन्तरिक सुरक्षामा आफ्नो भूमिकालाई कायम गर्नेबारेको सम्झौता गर्न तीव्र रूपमा चाहना गरिरहेको बताइएको छ।

सिरियाको राष्ट्रपति बसर अल–असदको प्रमुख सहयोगी राष्ट्र रुसले जैस अल–इस्लामको उक्त प्रस्तावमा आफूहरु सकारात्मक रहेको बताए पनि सिरियाली सरकारले भने उक्त प्रस्तावको विरोध गरेको विद्रोही पक्षका उच्च स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।

गत साता सिरियाली सेनाले विद्रोहीलाई आत्मसमर्पण गर्न वा सैन्य आक्रमण सहन गर्न तयारी रहन चेतावनी दिएको थियो । शनिबार सिरियाली सेनाको उच्च कमान्डले पूर्वी गुटाको अधिकांश सहर र गाउँ आफ्नो नियन्त्रणमा लिन सफल भएको र दोमा सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन आफ्नो सैन्य कारबाहीलाई बढाएको प्रतिक्रिया दिएको थियो । यदि दोमा सहर विद्रोहीको नियन्त्रणबाट सरकारी सेनाले पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयो भने सन् २०१६ पछि विद्रोहीको सबैभन्दा ठूलो पराजय हुने बताइएको छ।

राजधानी दमास्कसको बाहिरी इलाकामा रहेको दोमा सहर सात वर्ष अघि वर्तमान राष्ट्रपति असदविरुद्ध हुने सडक संघर्षका लागि अत्यन्तै प्रख्यात रहेको थियो । सिरियाली रक्षा विश्लेषकका अनुसार सरकारको पछिल्लो योजना भनेको राजधानी दमास्कस नजिकै रहेको विद्रोही नियन्त्रणमा रहेका क्षेत्रलाई आफ्नो कब्जामा ल्याउनु हो ।

 

 

 

प्रकाशित: १९ चैत्र २०७४ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App