coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘सात महिनामा सम्पदा पुनर्निर्माण गर्छौं’

काठमाडौं-पुरातत्व विभागले आगामी सात महिनाभित्र भूकम्पमा ध्वस्त सम्पदा पुनर्निर्माण गर्ने दाबी गरेको छ। विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै सम्पदा पुनर्निर्माणमा बाधक भएको आरोप समेत लगाएको छ।

विभागका महानिर्देशक भेषनारायण दाहालले मंगलबार भने, ‘भूकम्पमा क्षतिग्रस्त सम्पदा सात महिनामा पुनर्निर्माण गर्छौं ।’ विश्व सम्पदा सूचीमा रहेका सम्पदा दुई वर्षभित्र पुनर्निर्माण नगरे खतराको सूचीमा राख्ने युनेस्कोको चेतावनीलाई ध्यान दिइ सात महिनाभित्र पुनर्निर्माण सक्ने दाबी दाहालले गरे ।

महानिर्देशक दाहालले भने, ‘क्षतिग्रस्त सम्पदाको श्रृखंलाबद्ध पुनर्निर्माण गर्ने विभागको योजना छ । विश्व सम्पदा सूचीमा भएकालाई पहिलो प्राथमिकता र राष्ट्रिय स्तरका अन्य सम्पदालाई दोस्रो चरणमा निर्माण गर्ने योजना अनुरुप पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्धनाथ, स्वयम्भूनाथ पहिलो चरणमा पुनर्निर्माण गरिनेछ ।’

चीन, भारत, श्रीलंकासहित जापान, अमेरिका र स्विजरल्यान्डलगायत मित्रराष्ट्रले गत वर्षको महाभूकम्पमा क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्ने भएका छन् । सबैभन्दा बढी भारतले भूकम्प प्रभावित जिल्लाका २४ वटा सम्पदा पुनर्निर्माण गर्ने पुरातत्व विभागले जनाएको छ ।

भूकम्पमा ऐतिहासिक सम्पदामा ७ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको पिडिएनए (पोस्ट डिजास्टर निड एसेसमेन्ट) प्रतिवेदनले अनुमान गरेको थियो । भूकम्पमा सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकासँगै नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकका दरबार, मठमन्दिरमा भएको छ । भूकम्पमा क्षतिग्रस्त ५ सय ३७ सम्पदामध्ये राष्ट्रिय योजना आयोगले १ सय ४ वटाको पुनर्निर्माण अनुमति दिए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४९ वटाको मात्रै पुनर्निर्माण अनुमति दिएको छ ।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार भारतले उपत्यकाका ११ वटा र १३ वटा उपत्यका बाहिरका सम्पदा पुनर्निर्माण गर्न विभागबाट अनुमति पाइसकेको छ ।

दाहालले बताए अनुसार स्विजरल्यान्डले दोलखाको त्रिपुरासुन्दरी मन्दिर, साँखुको धर्मशाला पुनर्निर्माण गर्ने भएको छ । त्यसैगरी जापानले हनुमानढोका, आगमघर, जगन्नाथ मन्दिर र शिव मन्दिर पुनर्निर्माण गर्नेछ । चीनले बसन्तपुर दरबार क्षेत्र र नुवाकोटको साततले दरबार पुनर्निर्माण समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । अमेरिकाली राजदूत कोषबाट हनुमानढोकास्थित पञ्चमुखी मन्दिर निर्माण हुनेछ । दाहालले भने, ‘जापानले हनुमानढोकाको आगम घर र जगन्नाथ मन्दिर पुनर्निर्माण गर्न एमओयू गरिसकेको छ ।’

त्यस्तै स्वयम्भूस्थित आनन्दकुटी महाविहार र बुङमतीको रातो मछिन्द्रनाथ मन्दिर श्रीलंकाले पुनर्निर्माण गर्ने भएको छ । ‘यसको विस्तृत अध्ययन र लागत अनुमान तयार भएर टेन्डर समेत गरिसकिएको छ,’  दाहालले भने, ‘हामीले जिम्मेवारी पाएका काम पूरा गरिसकेका छौं । ४८ वटा सम्पदाको टेन्डर प्रक्रिया पनि सकिएको छ ।’

सम्पदा पुनर्निर्माण गर्न भारतले अनुमति पाएकामध्ये ४ वटा सम्पदाको लागत अनुमान र नक्सा पुरातत्व विभागले तयार पारिसकेको विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरेले बताए । उनका अनुसार ६ वटा सम्पदाको ललितपुर विकास समितिले अध्ययन, लागत अनुमान र नक्सा तयार पारेको छ ।

इन्जिनियर घिमिरेले भने, ‘विभागले डिजाइन, लागत अनुमान तयार पारिसकेका सम्पदामा काठमाडौंको सेतो मछिन्द्रनाथ मन्दिर, टेकुस्थित पचली भैरवको वमविकटेश्वर सत्तलसहित ललितपुर पाटनको भीमसेन मन्दिर, पाटनको पुरानो अदालतको लागत अनुमान र डिजाइन तयार भइसककेको छ ।’

ललितपुर विकास समितिले जिम्मा लिएका सबै ६ वटा सम्पदा हिरण्यवर्णेश्वर महाविहार, ज्येष्ठवर्ण महाविहार, शिवपुर चैत्य, नापीचन्द्र महाविहार, कुमारीघर र रत्नाकर महाविहारको डिजाइन र लागत अनुमान तयार भइसकेको इन्जिनियर घिमिरेले जनाए ।

इन्जिनियर घिमिरेका अनुसार भारतले खोकना र बुङमती बस्ती विकासका लागि समेत विभागबाट अनुमति लिएको छ । दुवैको लागत अनुमान र डिजाइनको काम भएको छैन । उनले भने, ‘काठमाडौं र ललितपुरका सम्पदा पुनर्निर्माणको लागत अनुमानमा अहिले सामग्रीको मुल्य बढेकाले दरभाउ संशोधन गरेपछि काम अघि बढ्छ।’

 

प्रकाशित: ८ भाद्र २०७३ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App