४ वैशाख २०८१ मंगलबार
खेल

बायर्न लगातार छैटौं उपाधिनजिक

बर्लिन – रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिक प्रेरित बायर्न म्युनिखले शनिबार राति बोरुसिया डर्टमन्डमाथि ६–० को फराकिलो अन्तरमा जित हासिल गर्दै लगातार छैटौं जर्मन बुन्डेसलिगा उपाधिको नजिक पुगेको छ।

शनिबारको जितपछि सिजनका ६ खेल बाँकी रहँदा शीर्ष स्थानको बायर्न १७ अंकको अग्रता कायम राख्न सफल भएको छ। शनिबारै दोस्रो स्थानको साल्केले फ्रेइबर्गमाथि २–० को जित हासिल गरेपछि बायर्नले छैटौं उपाधि जितको खुसी मनाउन कम्तीमा अर्को सातासम्म कुर्नुपर्ने भएको छ।

पाँचौं मिनेटमा लेवान्डोवस्कीको गोल अफसाइड करार पाउनबाट जोगिँदा बायर्नले खेलमा अग्रता लियो। तर त्यसको केही मिनेटपछि फ्य्रांक रिबेरीले गरेको गोललाई भने भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड भन्दै अमान्य घोषित गरेका थिए।

घरेलु मैदानमा बायर्नले पहिलो हाफमै ५–० को अग्रता लिने क्रममा हामेस रोडरिग्वेज, थोमस मुलर, लेवान्डोवस्की र रिबेरीले गोल थपे। रोडरिग्वेजले १४औं मिनेटमा बायर्नको अग्रता दोब्बर पारे भने मुलरले २३औं मिनेटमा गोल गरे। लेवान्डोवस्कीले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल गरे भने रिबेरीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बायर्नलाई फराकिलो अग्रता दिलाए। 

खेल सकिन ३ मिनेट बाँकी रहँदा लेवान्डोवस्कीले जोसुआ किमिचको पासमा गोल गर्दै पूर्वक्लबविरुद्ध ह्याट्रिक पूरा गरे। 

‘आज हामी खेलमा पूर्ण रूपमा अनुपस्थित जस्तै रह्यौं,’ डर्टमन्डका डिफेन्डर मार्सेल स्मेल्जरले भने, ‘बायर्नले हामीलाई बिरालोले मुसा खेलाए जसरी खेलायो । खेल निकै लज्जास्पद बन्यो, आउँदा दिनमा यस्तो खेल हुनु हुँदैन।’

जितपछि शीर्ष स्थानको बायर्न म्युनिखको २८ खेलबाट तालिकामा ६९ अंक भएको छ भने दोस्रो स्थानको साल्केभन्दा १७ अंकले अगाडि छ। पराजित डर्टमन्ड २८ खेलबाट ४८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। 

अर्को खेलमा साल्केले जित हालिस गरेपछि बायर्नको उपाधिमा खुसी मनाउने योजना स्थगित भयो। १० जनामा सीमित भएर खेलको अन्त्य गरेको फ्रेइबर्गविरुद्ध ड्यानिअल कालिगुरी र गुइडो बर्गस्टेलरले गोल गरेका थिए। कालिगुरीले ६१औं मिनेटमा अग्रता दिलाएको साल्केका लागि ७३औं मिनेटमा बर्गस्टलरले अर्को गोल गरेका थिए। यसबीचमा दोस्रो पहेंलो कार्ड सामना गर्दै निल्स पिटरसनले ६६औं मिनेटमा मैदान छोडेपछि फ्रेइबर्ग १० खेलाडीमा सीमित भएको थियो। 

बायर लेभरकुसन औसबर्गसँग गोलरहित बराबरीमा रोकिएको दिन शनिबारै ह्यानोभर–९६ माथि ३–२ को जित हात पार्दै आरबी लिपजिग शीर्ष चारमा उक्लिन सफल भयो।

टिमो वेर्नेरको पासमा इमिल फोर्सबर्गले १६औं मिनेटमा अग्रता दिलाएको लिपजिगका लागि विली अर्बानले ५४औं मिनेटमा दोस्रो गोल गरे। अर्बानले नाबी केइटाको उत्कृष्ट क्रसलाई गोलमा परिणत गरेका थिए। 

दुवै तर्फबाट गोलको वर्षा भएको खेलमा सालिफ सानेले ७१औं मिनेटमा गोल गर्दै घरेलु मैदानमा ह्यानोभरको पुनरागमन सम्भावना देखाए। तर त्यसको पाँच मिनेटपछि युसुफ फाउलसेनले लिपजिगका लागि तेस्रो गोल गरे। जसका कारण निकलस फ्युलकर्गले ७८औं मिनेटमा गोल गरे पनि ह्यानोभरलाई खेलमा फर्काउन पर्याप्त भएन।

‘आज तीन अंक निकै महत्वपूर्ण थियो । संघर्षपूर्ण खेलमा तीन अंक जोड्न सकेकोमा खुसी छौं’, लिपजिगका प्रशिक्षक राल्फ हसेनहल्टले भने, ‘तर हामीले अन्तिम समयमा स्थिर खालको प्रदर्शन गर्न जरुरी छ।’

शनिबारका नतिजापछि बायर लेभरकुसन ४५ अंकमै सीमित हुँदा जितसहित ४६ अंक जोडेको लिपजिग चौथो स्थानमा उक्लियो।

जर्मन बुन्डेसलिगामा शनिबारै भएका अन्य खेलमा होफेनहेइमले एफसी कोलोग्नलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दा पुछारको टोली ह्यामबर्गले स्टुटगार्टसँग १–१ तथा हार्था बर्लिनले उल्फसबर्गसँग गोलरहित बराबरी नतिजा निकाले।

‘बायर्नले हामीलाई बिरालोले मुसा खेलाए जसरी खेलायो । खेल निकै लज्जास्पद बन्यो, आउँदा दिनमा यस्तो खेल हुनु हुँदैन।’

प्रकाशित: १९ चैत्र २०७४ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App