coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

अवैध खानी दर्ता गर्दै नगरपालिका

अवैध ढंगले सञ्चालन भइरहेको बालुवाखानीलाई गोदावरी नगरपालिकाले दर्ता गरेर वैधानिकता दिन लागेको पाइएको छ।

नगरप्रमुख गजेन्द्र महर्जनकै पहलमा गोदावरी– ८ डुकुछापस्थित बाग्मती किनारमा गत दुई वर्षदेखि सञ्चालित अवैध बालुवाखानीलाई वैधानिकता दिन लागिएको हो । शनिबार नागरिककर्मीसँग कुरा गर्दै डुकुछापस्थित ‘साइनिङ बालुवा वासिङ सेन्टर’ अवैध भएको उनले बताएका थिए । आइतबार भने उनले दर्ता प्रक्रिया अघि बढिसकेको बताए।

आइतबार जिल्ला प्रशासन कार्यालयले खानी बन्द गराउन मौखिक निर्देशन दिएपछि उनले दर्ता प्रक्रिया अघि बढिसकेको बताएका हुन् । दुई वर्षदेखि अवैध रूपमा बालुवा उत्खनन र तस्करी भएको समाचार आइतबार नागरिक दैनिकमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले खानी बन्द गर्न नगरपालिकालाई निर्देशन दिएको थियो।

गोदावरी नगरपालिका प्रमुख महर्जनले खानी बन्द गराउन नमानेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनले लामो समयदेखि सञ्चालनमा आएको खानी बन्द गराउन जिल्ला प्रशासनले पटक–पटक निर्देशन दिँदा पनि मेयर महर्जनले खानी बन्द गराउन अटेर गरेको आरोप लगाए । ‘हदै भयो भने मात्रै हामीले कारबाही गर्न मिल्छ,’ उनले भने, ‘पछिल्लो नियमअनुसार स्थानीय तहले खानी वा क्रसर उद्योग बन्द गराउने र दर्ता गर्न सक्छन्।’

बालुवा तस्करीमा गोदावरी– ८ का वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा र सञ्जीव अधिकारी लगायतको टोली संलग्न छ । उनीहरूले बाग्मतीको बहाव नै परिवर्तन गरेर अवैध बालुवा तस्करी गर्दै आएका छन् । उक्त क्षेत्रबाट हरेक दिन सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ।

स्थानीयवासीका अनुसार बगरको सय रोपनी क्षेत्रफलमा बालुवाखानी सञ्चालन भइरहेको छ । अहिले बाग्मती किनार छेउछाउको करिब सय रोपनी जग्गा हडपेर टहरा निर्माण गर्ने, बालुवा, गिटी र ढुंगा ओसारपसार गर्नेलगायत कार्य भइरहेको छ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले नगरपालिकाले बालुवाखानी बन्द नगरे प्रहरीले बल प्रयोग गरेरै भए पनि बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘कसैले पनि गैरकानुनी रुपमा प्रकृति दोहन गर्न पाउँदैन, केही दिनभित्रै नगरपालिकाले खानी बन्द गराएन भने हामीले हटाउन सक्छौँ।’

उनले खानी सञ्चालनमा टोले गुन्डा र नेताका भरौटे कार्यकर्ता बढी संलग्न भएकाले ग्रामीण क्षेत्रको सुरक्षा अवस्था पनि चुनौतीपूर्ण बनेको बताए । ‘यसलाई कहिले बन्द गर्ने र कहिले र सञ्चालन गर्ने भन्ने यहाँका नेताले निर्णय गर्छन्,’ उनले थपे, ‘यसलाई हेर्ने खास जिम्मा प्रहरीको होइन।’

सरकारको वातावरणीय प्रभाव मूल्यांकन मापदण्डअनुसार बालुवाखानी सञ्चालकले वातावरणीय अवस्था, मानव बस्तीको अवस्था र भौगोलिक क्षेत्रबारे समेटिएको रिपोर्ट विभागमा बुझाएर वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति लिनुपर्छ।

तर, खानीले कुनै पनि किसिमको प्रतिवेदन पेस नगरेको वातावरण विभागकी वैज्ञानिक अधिकारी ज्वाला श्रेष्ठले जानकारी दिइन् । उनले बालुवा, ढुंगा, गिटी तथा अन्य प्रकृतिसँग जोडिएका वस्तु निकासी गर्दा विभागसँग अनुमति लिनुपर्ने प्रावधान रहेको बताइन् । ‘उनले भनिन्, ‘वातावरण संरक्षण नियमावली अनुसार कसैले पनि स्वीकृतिविना खानी सञ्चालन गर्न पाउँदैन, त्यसो भएको छ भने मन्त्रालयले अनुगमन गरेर बन्द गराउन निर्देशन दिन्छ।’

अवैध खानी कम्पनी रजिस्टार कार्यालयमा पनि दर्ता छैन । खानी भएका जिल्लाको खानी तथा उद्योगको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइन्छ । तर, ललितपुरमा ६ वर्षदेखि गठन भएको समितिले कुनै अनुगमन गरेको छैन । जिल्लाका धेरै अवैध खानी निर्बाध सञ्चालन भइरहेका छन्।

गोदावरी नगरपालिका प्रमुख महर्जनले खानी बन्द गराउन नमानेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनले लामो समयदेखि सञ्चालनमा आएको खानी बन्द गराउन जिल्ला प्रशासनले पटक–पटक निर्देशन दिँदा पनि मेयर महर्जनले खानी बन्द गराउन अटेर गरेको आरोप लगाए ।

गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष विष्णुमान महर्जनको संयोजकत्वमा खानीसम्बन्धी अध्ययन सिफारिस तथा अनुगमन समिति गठन भएकोे छ । समितिमा नगरप्रमुख गजेन्द्र महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, इन्जिनियर माधवेन्द्र चौधरी, सीताराम कार्की वातावरण शाखा प्रमुख श्रीराम आचार्य लगायत छन् । तर, उनीहरूले कुनै काम गरेको देखिन्न।

नगरप्रमुख महर्जनले खानी सञ्चालकले खानी दर्ता फारम भरेको बताए । ‘हामीले अवैध खानी चल्न दिएका छैनौँ,’ उनले भने, ‘केही खानी दर्ता प्रक्रियामा छन् ।’ उनले प्रमुख जिल्ला अधिकारीको मौखिक निर्देशनपछि नगरपालिकाले खानी सञ्चालकलाई नियमभित्र आउन आग्रह गरेको बताए । ‘दर्ताको काम अन्तिम चरणमा रहेकाले एकपटक हेरफेर गर्छौं,’ उनले भने।
‘अवैध खानी बन्द गराउनुपर्छ’
अवैध रूपमा सञ्चालन हुँदै आएको खानीमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले खानी बन्द गराउन माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

पुनले खानीमा आफूहरूको संलग्नता नभएको र सञ्चालकलाई बन्द गर्न ध्यानाकर्षण गराइएको जनाएका छन् । ‘अवैध बालुवा निकासीमा मेरो संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘साइनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन, सबै प्रकारका अवैध बालुवाखानी र अवैध कामलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्छ ।’

प्रकाशित: १९ चैत्र २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App