८ वैशाख २०८१ शनिबार
समाज

गाउँमा राधाको सामूहिक अभिनन्दन

बोक्सी आरोपमा पीडित राधा चौधरीलाई सम्मान गर्दै घोडाघोडी, देउकलियाका बासिन्दा। तस्बिर : नागरिक

धनगढी – बोक्सीको आरोपमा कुटपिट गरिएकी १८ वर्षीया राधा चौधरीलाई उनकै गाउँ घोडाघोडी नगरपालिका ५ देउकलियामा गाउँलेले फूलमाला र अबिरले अभिनन्दन गरेका छन्। बोक्सीको आरोपमा ६ घण्टासम्म कुटपिट गर्दा रमिते बनेका गाउँलेले गल्ती महसुस गर्दै अभिनन्दन गरेपछि राधा गाउँमै बस्न थालेकी छन्। तीन सातापछि आइतबार उनी विद्यालय गएकी छन्।

‘तिमीलाई कुटपिट हुँदा ताली बजाएर हामीले गल्ती ग-यौं, अबदेखि यस्तो आरोप कहिले लगाउनेछैनौं भनेर मलाई अबिर र फूलमालाले अभिनन्दन गरेका छन्’, राधाले भनिन्, ‘त्यसैले म गाउँमै बस्न सुरु गरेकी छु।’ राधाले पछिपछि आफूलाई बोक्सी हो भनेर आरोप नलगाउन, अवहेलना नगर्न गाउँलेलाई आग्रह गरेकी थिइन्। गाउँलेहरुले सम्मानका साथ व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनीसँगै उनका आमा फूलकेशरी चौधरी र बुवा जोखन चौधरीलाई पनि गाउँलेले सम्मान गरेका थिए। २३ दिनपछि घर फर्केकी छोरीलाई गाउँलेले सम्मान गरेपछि आमाबुवा पनि खुसी भएका छन्। ‘छोरीलाई गाउँलेले सम्मान गरेर गाउँमै बस्ने वातावरण बनाएकाले धेरै खुसी लागेको छ’, बुवा जोखनले भने।

शनिबार गाउँका भलबन्सा राजाराम चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर चौधरी, नागरिक समाजका अगुवा खेम सापकोटालगायतको पहलमा गाउँभरिका सबै जम्मा भएर उनी पढ्ने राष्ट्रिय माविमा सामूहिक अभिनन्दन गरेका हुन्। ‘राधालाई गाउँमै बस्ने वातावरण बनाउन, उनको पीडामा मलम लगाउन सामूहिक अभिनन्दन गरेका हौं’, स्थानीय खेम सापकोटाले भने। उनी आइतबार स्कुल गइन् । स्कुलमा उनका साथीले राधालाई हौसला दिए। ‘म घटनापछि आज स्कुल गएकी हुँ’, उनले भनिन्, ‘जे हुने भइहाल्यो, अब केही नमान भनेर साथीहरुले मलाई हौसला दिए।’ कक्षा ११ मा पढ्ने उनको वैशाखदेखि परीक्षा छ। परीक्षा बिग्रने चिन्तामा रहेकी उनी स्कुल पढ्न पाएपछि खुसी भएकी छन्।

बोक्सीको आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उसका सहयोगी युवतीले कुटपिट गर्दा रमिते बनेका र ताली पिट्नेहरुले नै गल्ती महसुस गरेर राधालाई गाउँमा बोलाई अबिर र फूलमाला पहि-याएर सामूहिक रुपमा राधाको अभिनन्दन गरेका हुन्। राधा घटना भएका दिनदेखि धनगढीमा एक गैरसरकारी संस्थाको सेफहाउसमा बस्दै आएकी थिइन्। शनिबार गाउँका भलबन्सा राजाराम चौधरी, जितबहादुर चौधरीलगायत आएर उनलाई गाउँ लगेका हुन्। ‘राधा विस्थापित भएकाले उसको परिवारमा सबैलाई पीडा भइरहेको थियो, उनलाई गाउँमा पुनस्र्थापित गराएर यस्तो घटना हुँदैन भन्ने महसुस गराउन सामूहिक अभिनन्दन गरेका हौं’, भलबन्सा राजारामले भने, ‘यो घटनाबाट हामी सबैले पाठ सिकेका छौं।’

अन्तर्राष्ट्रिय नारी दिवसका दिन गत फागुन २४ गते बोक्सीको आरोपमा राधालाई रामबहादु, किस्मती चौधरी र स्मारिका चौधरीले लगातार ६ घण्टासम्म कुटपिट गरेका थिए।  उनीहरुसहित ६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ।

प्रकाशित: १९ चैत्र २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App