coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘वडामा दुई हजार रोपनीभन्दा धेरै बिर्ता जग्गा छ’

सन्तबहादुर वाइबा, वडाध्यक्ष
शंखरापुर नपा– ३

जनप्रतिनिधिको हैसियतले के काम गर्नुभयो ?
जनप्रतिनिधिको हैसियतले खासै उल्लेखनीय काम गर्न सकेको छैन । निर्वाचित भएको तीन महिनासम्म बधाई तथा शुभकामना खाँदै ठिक्क भयो । त्यसलगत्तै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा होमियौँ । निर्वाचन सकिएसँगै वडामा उपभोक्ता समिति गठन गरेर विकास निर्माणमा लागेका छौँ । कृष्णभक्त मार्ग हुँदै सेतीखोलासम्म साढे दुई किलोमिटर ट्र्याक खोल्यौँ । भञ्ज्याङ–बदामबारी कृषि सडकको पनि ट्र्याक खोल्यौँ । भञ्ज्याङ, सिरानचौर सुनुवार बस्तीमा खानेपानीको हाहाकार थियो । त्यहाँ खानेपानीको व्यवस्था मिलाएका छौँ । वडाको प्राविधिक सहयोगमा लप्सीफेदीमा नमुना बस्ती बनाइरहेका छौँ ।

वडाका लथालिंग सडकमा कालोपत्रे कहिलेसम्म गर्नुहुन्छ ?
वडाका अधिकांश सडक लथालिंग छन् । रत्नपार्कबाट १६ किलोमिटर दूरीमा रहे पनि यहाँका अधिकांश सडक कच्ची छन् । नगरपालिकाले वडाका ३० किलोमिटर सडक ग्राभेलिङ गर्ने तयारी गरेको छ । वडा कार्यालयको अगुवाइमा जर्सिङपौवा–फड्केश्वरी सिन्धुपाल्चोक सडकको डिपिआर बनाउन पहल भइरहेको छ । तामाकोसी जलविद्युत् आयोजनाको सबस्टेसन मेरै वडामा बन्न लागेको छ । त्यसैले आयोजनाले प्रवेश क्षेत्रमा सडकलगायत अन्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेरो कार्यकालसम्म वडाका सम्पूर्ण सडक कालोपत्रे गर्ने योजना बनाएको छु । हेरौँ, कति गर्न सकिन्छ ।

तपाईंको वडामा आनन्द शमशेरको नाममा रहेको बिर्ता जग्गा जनताले कहिले पाउँछन् ?
तत्कालीन आनन्द शमशेर जबराको मोही र हकबन्दी लागेको बिर्ता जग्गा लामो समयदेखि जनताले पाउन सकेका छैनन् । वडामा दुई हजार रोपनीभन्दा धेरै बिर्ता जग्गा छ । कानुनतः स्थानीय जनताले पाउनुपर्ने जग्गा अझै पनि पाउन सकेका छैनन् । त्यसैले वडा कार्यालयले बिर्ता जग्गा वितरणका लागि प्रक्रिया अघि बढाइरहेको छ । भूमिसुधार मन्त्रालय र नापी विभागसँग समन्वय गरेर बिर्ता जग्गा नपाएका स्थानीयलाई हस्तान्तरण गर्ने तयारीमा जुटेका छौँ ।

भूकम्पपीडितले अझैसम्म राहत पाएका छैनन्, कहिले पाउँछन् ?
वडामा भूकम्पपीडितको समस्या बल्झिँदै गएको छ । वास्तविक भूकम्पपीडितले अहिलेसम्म पहिलो किस्ता बापतको राहत रकम नपाउँदा टहरामा बस्न बाध्य छन् । करिब ४०–५० घरधुरी भूकम्पपीडितको नाम नमिलेर समस्या भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लामो समयदेखि भूकम्पपीडितको पूर्ण सर्वेक्षण गर्न सकेको छैन । जसबाट भूकम्पपीडितले राहत रकम पाउन नसकेका हुन् । वडा कार्यालयले बारम्बार प्राधिकरणसँग पूर्ण सर्वेक्षण गर्न अनुरोध गरिसकेको छ । तर, उनीहरूले प्राविधिक नपठाउँदा समस्या भइरहेको छ । वडा कार्यालयले सहज रूपमा राहत उपलब्ध गराउन पहलकदमी गरिरहेको छ । अहिलेसम्म वडाका करिब २५ प्रतिशतले मात्रै राहत पाएका छन् ।

तपाईं नगरपालिकामा सार्वजनिक जग्गा व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ, नगरक्षेत्रमा कति सार्वजनिक जग्गा मिचिएका रहेछन् ?
शंखरापुर नगरक्षेत्रमा धेरै मात्रामा सार्वजनिक जग्गा छन् । लामो समय स्थानीय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही भू–माफियाले सार्वजनिक जग्गा अतिक्रमण गरेर भोगचलन गर्दै आइरहेका छन् । नगरपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनका लागि समिति गठन गरिसकेको छ । सार्वजनिक जग्गाको अभिलेख छुट्ट्याउन सुरु गरिसकेका छौँ । अबको केही समयभित्रै मिचिएका सार्वजनिक जग्गाको तथ्यांक निकालेर सार्वजनिक जग्गालाई नगरपालिकाको मातहत ल्याउने प्रयास गरेका छौँ ।

शंखरापुर क्षेत्रको वनमा बर्सेनि आगलागीका घटना वृद्धि भइरहेका छन्, रोक्ने योजना के छ ?
हिउँदे मौसममा शंखरापुर क्षेत्रका जंगलमा बर्सेनि आगलागीका घटना भएका छन् । आगजनीबाट ठूलो मात्रा रूख तथा बोट–बिरुवा मासिने क्रम बढेको छ । त्यसैले नगरपालिकाले आगजनीलाई दीर्घकालीन रूपमा नियन्त्रणका लागि जर्सिङपौवामा कृत्रिम ड्याम बनाउन लागेको छ । नगरपालिकाले विपत् व्यवस्थापन समिति गठन गरेर आगलागी नियन्त्रणका लागि आधुनिक ढंगको दमकल सेवा सुरुवात गर्ने योजना बनाएको छ । यही आर्थिक वर्षमा आधुनिक दमकल सेवाका लागि डिपिआर तयार पारेर अर्काे वर्षदेखि सेवा प्रारम्भ गर्ने लक्ष्य राखेका छौँ ।

पर्यटन प्रवर्द्धनका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
जर्सिङपौवालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न आवश्यक छ । जर्सिङपौवाको क्षेत्रलाई समेटेर बृहत् गुरुयोजना बनाउने तयारी गरिरहेका छौँ । जर्सिङपौवामा ड्याम थुनेर कृत्रिम ताल बनाउने योजना बनाएका छौँ । जसबाट सिमसार क्षेत्र संरक्षणका साथै पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ । रत्नपार्कदेखि १६ किलोमिटर दूरीमा जर्सिङपौवा अवस्थित छ । जुन अहिले पनि पिकनिक स्पटका रूपमा प्रख्यात छ । त्यसैले पूर्वाधार तयार पारेर व्यवस्थित गर्न खोजेका छौँ । लप्सेफेदीका स्थानीयको अगुवाइमा नमुना बस्ती बनाइरहेका छौँ । सोही नमुना बस्तीलाई दुई वर्षभित्रै होम–स्टे विस्तार गर्न लागेका छौँ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छु । त्यसका अलावा सडक, खानेपानी, ढल निर्माण, स्वास्थ्यलगायत योजनालाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर काम अगाडि बढाएका छौँ ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
सर्वप्रथम आनन्द शमशेरको नाममा रोक्का गरिएको बिर्ता जग्गा स्थानीयको नाममा फिर्ता गर्ने लक्ष्य छ । मेरो वडामा रहेका सम्पूर्ण ग्रामीण सडकलाई पाँच वर्षभित्रै कालोपत्रे गर्नेछु । जनताको घरदैलोमा खानेपानीको धारा पुर्‍याउनेछु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १९ चैत्र २०७४ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App