८ वैशाख २०८१ शनिबार
अर्थ

भारतमा पेट्रोलियम पदार्थ तस्करी

काठमाडौं
घटना – १
नेपाल आयल निगमको विराटनगर डिपोबाट मिलन आयल सेन्टर सुनसरी झुम्काका लागि डिजेल लिएर गएको ना २ ख ४३५२ नम्बरको ट्यांकरले गत बिहीबार पम्पमा डिजेल नछाडी भारत लगेर डिजेल बेच्यो।
घटना – २
इन्डियन आयल कर्पोरेसन (आइओसी) बरौनीबाट आयल निगम विराटनगर डिपोको लागि ल्याएको २० हजार लिटर डिजेल ना २ ख ४७११ नम्बरको ट्यांकरले भारतमै बिक्री गर्दा चालक पक्राउ परे।
घटना – ३
निगमको जनकपुर डिपोको लागि आइओसीको बरौनीबाट डिजेल लोड गरेको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेर आएको भेटेपछि प्रहरीले पक्राउ गर्‍यो ।पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले चोरी गरेर भारतमा पेट्रोलियम पदार्थ बिक्री गर्ने यी प्रतिनिधिमूलक प्रमाण हुन्।

नेपालमा भन्दा भारतमा पेट्रोयिम पदार्थ सस्तो भएपछि मिलेमतोमा भारततर्फ पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) तस्करी भइरहेको छ । केहीले भारतमै तेल बेचेर आएका छन् भने कतिले यहाँ ल्याएपछि फेरि भारत लगेर बेच्ने गरेका छन् ।भारतमै तेल बेच्दा एकै खेपमा पाँच लाख रुपैयाँसम्म फाइदा हुने भएपछि ट्यांकर चालकले धमाधम भारतमा बेच्ने गरेको तथ्य भेटिएको छ । निगमले घटनामा संलग्नलाई कडा कारबाहीको दायरामा नल्याउँदा चोरी गर्ने चालकको मनोबल बढेको हो।

गत बिहीबार भारतमा डिजेल बेच्ने ना २ ख ४३५२ नम्बरको गाडीले क्षतिपूर्ति तिरेको मिलन आयल सेन्टर सुनसरीका सञ्चालक मिलन रौनियारले बताए । ‘हाम्रो पम्पको लागि लोड भएको डिजेल ट्यांकर चालकले भारत लगेर बेचे,’ रौनियारले भने, ‘भारतमा बेचेको प्रमाण भेटिएपछि ट्यांकर सञ्चालकले क्षतिपूर्ति दिने सहमति भएको छ।’

भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २१ रुपैयाँ ६६ र डिजेल २५ रुपैयाँ ६१ पैसा सस्तो छ । अहिलेको मूल्य अनुसार २० हजार लिटरको एक ट्यांकर पेट्रोल भारतमै बिक्री गर्दा चार लाख ३३ हजार दुई सय रुपैयाँ फाइदा हुन्छ । त्यसैगरी एक ट्यांकर डिजेल बेच्दा पाँच लाख १२ हजार दुई सय रुपैयाँ नाफा हुन्छ।

खुद्रा मूल्यमा विभिन्न कर लगाउने भएकाले यहाँभन्दा भारतमा महँगो छ । तेल तस्करी र चोरीको  विषयलाई गम्भीर रुपमा लिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । ‘ट्यांकर चालकको बदमासीले विभिन्न समयमा चोरी हुने गरेको गुनासो आएको छ,’ गोइतले भने, ‘घटनामा संलग्नलाई कारबाही गर्छौं ।’ निगमले छानबिन समिति बनाएर अध्ययन गरेर कारबाही गरेको दाबी गरे पनि घटना दोहोरिँदै आएका छन्।

ट्यांकर चालकको बदमासीले तेल तस्करी भइरहेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । पटक–पटक भारतमै तेल बेच्ने घटना सार्वजनिक भएकाले यसमा ठूलो गिरोहको संलग्नता हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘बीच बाटोमै तेल चोरी हुँदा पम्प सञ्चालक मर्कामा परेका छन्,’ प्रधानले भने, ‘यसलाई नियन्त्रण गर्न निगमले सक्रियता बढाउनुपर्छ।’

ट्यांकर चालकले मात्र नभएर खुल्ला सीमाको फाइदा उठाउँदै सीमा क्षेत्रबाट पनि पेट्रोलियम पदार्थ तस्करी भइरहेको छ । तेल तस्करी भएपछि मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पदार्थ खरिद गर्न नगरपालिकाको सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ । रतुवामाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका पम्पलाई सिफारिस लिएर पेट्रोलियम पदार्थ बिक्री गर्न निर्देशन दिएको छ ।नगरपालिकाका प्रमुख रविन राईले केपिसी सप्लायर्सलाई दिँदै आएको पेट्रोलियम पदार्थ ७५ प्रतिशत कटौती गर्न आयल निगमको डिपोलाई निर्देशन दिएका थिए।

पम्प सञ्चालककै मिलेमतोमा तस्करी भएको आशंकामा कडाइ गरेको निगमले जनाएको छ । तेल तस्करी भएपछि सीमा क्षेत्रका पम्पलाई दिँदै आएको पेट्रोलियम पदार्थ ३० देखि ४० प्रतिशतसम्म कटौती गरेको नेपाल आयल निगम विराटनगर डिपोका प्रमुख भानुभक्त खनालले बताए । ‘मूल्य अन्तरको कारण भारततर्फ तेल तस्करी हुने गरेको छ,’ खनालले भने, ‘खुला सीमाको कारण पूर्ण रुपमा नियन्त्रण गर्न कठिन छ।’

भारतमा तेल चोरी भएको विषयमा भारतीय प्रहरीले नै अनुसन्धान अघि बढाएको खनालले बताए। भारतमै तेल बेच्ने ना २ ख ४७११ नम्बरका ट्यांकर चालक जोगिन्दर झालाई भारतीय अदालतमा मुद्दा दायर भएको छ । उक्त घटनामा प्रहरीले चालकसँगबाट डिजेल बिक्रीबाट प्राप्त गरेको १० लाख ८० हजार भारतीय रुपैयाँ पनि बरामद गरेको थियो। तेल चोरी नियन्त्रण गर्न निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम कार्यान्वनयमा ल्याएपछि चालकहरु हडतालमा उत्रिएका थिए।

प्रकाशित: १९ चैत्र २०७४ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App