८ वैशाख २०८१ शनिबार
समाज

अधिकांश अपराधका घटनामा महिला पीडित

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमा दर्ता भएका अधिकांश अपराधका घटनामा महिला पीडित हुने गरेका छन्।

परिसरमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा दर्ता भएका अधिकांश मुद्दामा महिला पीडित भएको परिसरले जनाएको छ। ‘हामी कहाँ दर्ता भएका अधिकांश अपराधसम्बन्धी मुद्दामा महिला पीडित हुने गरेको पाइएको छ,’ परिसरका प्रवक्ता प्रहरी नायव निरीक्षक मोहनकुमार थापाले भने।

परिसमा दर्ता भएका सार्वजनिक अपराध, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अप्राकृतिक मैथुन, बहुविवाह, बाल यौन दुराचार, बाल विवाह, विद्युतीय कारोबार ऐन तथा मानव बेचबिखनसम्बन्धी मुद्दामा महिला पीडित हुने गरेको थापाले बताए। उपर्युक्त उल्लेख गरिएबाहेकका अपराधसम्बन्धी मुद्दामासमेत महिलाहरु पीडित हुने गरेको प्रहरीले जनाएको छ।

परिसरको तथ्यांकअनुसार महिला पीडित हुने आपराधिक मुद्दाअन्तर्गत सात महिनाको अवधिमा सार्वजनिक अपराधसम्बन्धी करीब दुई हजार एक सय २१ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये साउन महिनामा दुई सय, भदौमा तीन सय २७, असोजमा दुई सय ९५, कात्तिकमा दुई सय ६७, मंसिरमा दुई सय ३५, पुसमा दुई सय ५६, माघमा दुई सय ८९ र फागुन २७ गतेसम्म दुई सय ५२ मुद्दा परिसरमा दर्ता भएका छन्। त्यस्तै, यस अवधिमा जबरजस्ती करणीमा ८९ मुद्दा दर्ता भएका छन्।

जबरस्ती करणीमा साउनमा ६, भदौमा आठ, असोजमा ६ कात्तिकमा ७, मंसिरमा ११, पुसमा ९, माघमा १९  र फागुनमा १४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। त्यस्तै जबरजस्ती करणी उद्योगमा सातमहिनाको अवधिमा १८ मुद्दा दर्ता भएका छन्। विद्युतीय कारोबार ऐनअन्तर्गत सात महिनाको अवधिमा ४२ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये साउनमा ५, भदौमा ७, असोजमा ३, कात्तिकमा ४, मंसिरमा ४, पुसमा ५, माघमा ७ र फागुनमा ६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

त्यस्तै बहुविवाहसम्बन्धी २९, बाल यौन दुराचारसम्बन्धी १, बालविवाह सम्बन्धी १ र मानव बेचबिखन सम्बन्धी १६ मुद्दा परिसरमा दर्ता भएका छन्।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय अपराधसम्बन्धी घटनाको संख्या बढिरहेको छ। तर यसको कारण अपराध बढेको नभई सूचना प्रविधिको पहुँच र नागरिकमा सचेतना बढेको बताउँछन् परिसरका प्रवक्ता थापा। ‘अपराधका घटना बढी सार्वजनिक हुनुको कारण अपराध बढेको भन्ने होइन, बरु पछिल्लो समय समाजमा हुने गरेका अपराधसम्बिन्धि गतिविधि बाहिर आउन थालेका छन्, यसले संख्यात्मक हिसाबले अपराध बढेको जस्तो देखिएको हो,’ थापाले भने।

पहिले समाजमा हुने अपराधका घटना बाहिर नआउने भएकाले संख्यात्मक हिसाबले कम देखिए पनि पहिलेको तुलनामा अपराधिक घटनामा उल्लेख्य सुधार भएको थापा दाबी गर्छन्। ‘पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ, नागरिक आफैं पनि सचेत छन्, कुनै घटना भएमा तुरुन्त सार्वजनिक गर्ने वा कानुनी अधिकार खोज्ने गर्छन्, यसले अपराधिक गतिविधि तत्कालै बाहिर आउने गरेका छन,’ थापाले भने। नागरिकको सचेतताका कारण प्रहरीलाई समेत अपराधमा संलग्नलाई कारबाही गर्न सजिलो भएको प्रहरी बताउँछ।

प्रकाशित: १९ चैत्र २०७४ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App