७ वैशाख २०८१ शुक्रबार
अर्थ

ट्रिपिङ र भोल्टेज अप–डाउनले उद्योगी व्यवसायी आजित

भैरहवा – गत शुक्रबार सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा उद्योगी व्यवसायी र विद्युतका अधिकारीहरुबीच छलफल चलिरहदा आधा घन्टाको समयमा चारपटकसम्म बत्ती गयो।

अनियमित विद्युत् कटौती, भोल्टेज अप–डाउन र ट्रिपिङले हैरानी बेहोरेका भैरहवाका उद्योगी व्यवसायी र विद्युत्का क्षेत्रीय, ग्रिड तथा वितरण केन्द्रका प्रमुखसँगको छलफल सोही विषयमा केन्द्रित थियो । लोडसेडिङ हटेको र प्राविधिक कारणले कहिलेकाँही लाइन जानु स्वभाविक भएको भन्दै सुरुमा कड्किएका विद्युत्का अधिकारी बारम्बार बत्ती गएपछि भने अलि असहज महशुस गरे।

भैरहवामा यो समस्या नौलो होइन । विगतका वर्षदेखि नै गर्मीयामको सरुआतसँगै यहाँका उपभोक्ता र उद्योगी व्यवसायीले यस्तो समस्या दिनहुँ भौग्नुपर्छ । विद्युत् प्राधिकरणले सिँगो देश लोडसेडिङमुक्त भएको बताइरहँदा औद्योगिक तथा व्यापारिक नगरी भैरहवा र यस आसपासका बासिन्दा गुणस्तरीय विद्युत् सेवाबाट अहिले पनि बञ्चित छन्।

भैरहवा, तिलोत्तमाको शंकरनगर, मणिग्राम, नयाँमिल, सालझण्डी क्षेत्रमा ट्रिपिङ, भोल्टेज हाइ–लो भइरहने र ट्रान्सफर्मर जल्ने समस्या दोहोरिरहेका छन् । जसका कारण आमउपभोक्ता, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानहरु मारमा परेका छन् । यहाँका उद्योगहरुले क्षमताअनुसार उत्पादन गर्न पाएका छैनन्।

छिनछिनमै बत्ती जाने र भोल्टेज एकैनासको नहुँदा विद्युतीय सामग्री तथा औद्योगिक उपकरण बिग्रेर करोडौंको नोक्सानी हुने अवस्था रहेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अरुण गोयन्काले बताए । ‘प्राधिकरणले प्रचार गरेजस्तो लोडसेडिङ हटेको छैन,’ उपाध्यक्ष गोयन्काले भने, ‘यहाँको औद्योगिक क्षेत्रले अहिले पनि १०–१२ घन्टा लोडसेडिङ खेपिरहेको छ । ट्रिपिङ र हाइ–लो भोल्टेजको समस्या झन बिकराल छ।’

फागुन अन्तिम सातादेखि नै भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी औद्योगिक करिडोर तथा सिद्धार्थनगर आसपास क्षेत्रमा ट्रिपिङ र भोल्टेजको समस्या जटिल बन्दै गएको छ । जसका कारण करिडोरका उद्योगले उत्पादन क्षमताको ५०–६० प्रतिशतमात्रै उत्पादन गरिरहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए । ‘हाम्रो मुख्य माग गुणस्तरीय विद्युत् हो,’ अग्रवालले भने । भारतबाट आयातित कमसल बिजुली भैरहवा क्षेत्रमा मात्रै वितरण गर्ने परिपाटी अन्त्य गरी राष्ट्रिय प्रसारण लाइन र आयातित विद्युत् आलोपालो वितरण गर्नुपर्ने माग अग्रवालले गरे।  

पटकपटक जानकारी गराउँदा पनि विद्युत्का कर्मचारीले समस्या समाधानमा ध्यान नदिई केन्द्रको समस्या भनेर पन्छिने गरेको गुनासो उद्योगी व्यवसायी तथा उपभोक्ताको छ । प्राधिकरणका अधिकारी भने मागको अनुपातमा आपूर्ति नहुनु, हावा हुुरी तथा भारतबाट आयातित बिजुली कम गुणस्तरको हुँदा समस्या भएको बताउँछन् ।प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख उमेशकुमार झाले मागअनुसारको आपूर्ति नहुँदा ओभरलोड हुने र ड्रप कन्ट्रोलमा समस्या आएको बताए।

एकातिर माग बढी आपूर्ति कम अर्कोतिर आयातित बिजुली कम भोल्टको भइदिँदा ट्रिपिङ, भोल्टेज अप–डाउनजस्ता समस्या देखिएको हो।
उमेशकुमार झा
भैरहवा वितरण केन्द्रका प्रमुख नेपाल विद्युत् प्राधिकरण

भैरहवा, लुम्बिनी, तिलोत्तमाको नयाँमिल र सालझण्डी क्षेत्रमा भारतको बाल्मिकी नगरबाट ल्याइएको विद्युत् वितरण गरीएको छ । सो फिडर अन्तर्गत ४२ मेगावाट माग छ तर, अहिले ३२ मेगावाट आयात भइरहेको छ । जसको गुणस्तर पनि कम भएको विद्युत्का अधिकारीहरु बताउँछन् । झाका अनुसार भारतबाट ल्याइएको लाइन एक सय ३२ केभी भोल्टेज हुनुपर्नेमा पुगनपुग एक सय २० मात्र छ।

जसमा नवलपरासीको गण्डक नहरबाट उत्पादित बिजुली पनि मिसाइएको छ । तर गण्डकको सूर्यपुरा पावर हाउस अहिले सरसफाइका लागि भन्दै बन्द गरिएको छ।‘एकातिर माग बढी आपूर्ति कम अर्कोतिर आयातित बिजुली कम भोल्टको भइदिँदा ट्रिपिङ, भोल्टेज अप–डाउनजस्ता समस्या देखिएको हो,’ झाले भने । उपभोक्ताको गुनासो बढेसँगै प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलले राष्ट्रिय प्रसारण लाइन र भारतीय लाइनलाई बुटवल र भैरहवा क्षेत्रमा आलोपालो वितरण गर्ने तयारी थालेको छ।

तर भारतीय लाइन जहाँ बाँडे पनि सो लाइन पाउने उपभोक्ताले ट्रिपिङ र भोल्टेज अप–डाउनको समस्या भोग्नुपर्ने भएकाले दीर्घकालीन समाधानका लागि केन्द्रीय स्तरबाटै पहल थालिनु पर्ने विद्युत्कै अधिकारीहरुले बताउँदै आएका छन् । भारतबाट आयातित बिजुलीको गुणस्तर सुधारका लागि माथिल्लो निकायबाटै विशेष पहल गर्नुपर्ने उनीहरुको भनाइ छ।
 

प्रकाशित: १९ चैत्र २०७४ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App