काठमाडौं – धुलो, धुवाँ र इन्फ्लुएन्जाका कारण यो वर्ष खोकी पटकपटक दोहोरिने समस्या देखिएको सरुवारोग विशेषज्ञले बताएका छन्। जाडो महिनासँगै सुरु भएको खोकी गर्मी महिना सुरु हुन लाग्दा समेत नरोकिएको उनीहरुको जनाएका छन्। यस अवधिमा एक व्यक्तिमा तीनचारपटकसम्म खोकी दोहोरिएर उपचारमा आउने गरेको चिकित्सकले बताए।
‘एउटा व्यक्ति तीनचारपटकसम्म खोकीकै उपचार गराउन आएका छन्’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने। उनका अनुसार खोकी दोहोरिएका बिरामी दैनिक चारपाँचजना उपचारमा आउँछन्। यो अस्पतालमा दैनिक पाँच चिकित्सकले बहीरंग विभागमा सेवा दिन्छन्। यो हिसाबले दैनिक कम्तीमा २० जना खोकी दोहोरिएका बिरामी आएको हुन सक्ने पुनले बताए। ‘मैले हेरेकामध्ये मात्र दैनिक चारपाँचजना छन्, अरुसँग पनि त्यही संख्यामा पुगेको हुनुपर्छ’, पुनले भने। खोकी बिरामी औसतमा दैनिक ५० जना शुक्रराज पुगेको तथ्यांक छ।
वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेका अनुसार बहीरंग विभागमा धेरै रुघाखोकीका बिरामी आउने गरेका छन्। मेडिकल विभागमा आउने दैनिक तीन सय बिरामीमध्ये ५० जना रुघाखोकीका मात्र हुने उनले बताए । तीमध्येमा पाँचदेखि सात प्रतिशत बिरामी खोकी दोहोरिएर आउने गरेका छन्। ‘मौसमी रुघाखोकीका बिरामी नै बढी छन्’, उनले भने।
प्रदूषण र इन्फ्लुएन्जा ‘बी’ का कारण खोकी दोहोरिएको चिकित्सकको भनाइ
शुक्रराज ट्रपिकलमा सीमित बिरामीमात्र आउने भएकाले खोकीका बिरामीको संख्या अन्य अस्पतालमा धेरै हुन सक्ने चिकित्सकको अन्ुमान छ। उपत्यकाको प्रदूषण र इन्फ्लुएन्जा ‘बी’ का कारणले खोकीको आयु लम्बिने र एउटै व्यक्तिमा पटकपटक दोहोरिएको चिकित्सकको दाबी छ। तीन साताअघि केहीको नमुना परीक्षण गरिएकोमा चारजनामा इन्फ्लुएन्जा ‘बी’ प्रमाणित भएको थियो। ‘उपत्यकाकामा प्रदूषण र मौसमी फ्लु मौसम परिवर्तन हुने बेलामा सक्रिय भएको देखिन्छ’, वीर अस्पतालका डा. गैरेले भने। प्रदूषण र मौसमी फ्लुका कारण दम, ब्रोङकाइटिस र रुघाखोकीका बिरामी उपचारमा बढी आउने गरेको डा. गैरेले बताए।
‘बी’ इन्फ्लुएन्जाको अवधि वैशाखसम्म रहन सक्ने डा. पुनले बताए । उनका अनुसार विगत वर्षमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतका स्वाइनफ्लु, बर्डफ्लु र हङकङ फ्लु विश्वभर फैलिसकेका छन्। इन्फ्लुएन्जा ‘बी’ यो वर्ष नेपालमा मात्र सक्रिय भएको बिरामीको स्थिति र नमुना परीक्षणबाट देखिएको हो। ‘खोकी लम्बिरहने कारण कतै इन्फ्लुएन्जा ‘बी’ को भूमिका छ कि भनेर पनि आशंका गर्न सकिन्छ’, डा. पुनले भने।
चिकित्सकका अनुसार दैनिक मोटरसाइकलमा हिँड्ने, झ्याल खुला भएको बसमा हिँड्ने र पैदलयात्रीमा खोकी दोहोरिने समस्या देखिन्छ। डा. पुनका अनुसार घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने र कतिपय अवस्थामा पखाला लाग्नेजस्ता लक्षण यो फ्लुको संक्रमणपछि देखिन्छ। खासगरी वृद्धबृद्धा, बालबालिका, दीर्घरोगी र विभिन्न रोगका संक्रमितलाई यो फ्लुको संक्रमण हुने सम्भावना बढी हुन्छ। त्यसैले यस्तो उमेर समूहका व्यक्तिलाई बढी सचेत हुन डा. पुन सुझाउँछन्। यस्ता उमेर समूहकाले सकेसम्म फ्लुविरुद्धको खोप लगाउनुपर्ने उनले बताए।
युवा उमेर समूहमा भने दैनिक खानपानमा ध्यान दिने, फ्लुको संक्रमण भइहालेमा प्रशस्त नरम खानेकुरा खाने र लक्षणात्मक उपचार गरेको खण्डमा सात दिनमा संक्रमण निको हुन्छ। यसमा धुलो र धुवाँको संक्रमण भएमा भने बिरामीको श्वासनलीमा संक्रमण भई शरीर कमजोर हुने, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्तो समस्या हुन सक्छ। कतिपयलाई निमोनिया पनि हुन सक्छ।
खोकी लाग्नै नदिन बाहिर निस्कँदा भरपर्दो माक्स प्रयोग गर्ने, वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी सकेसम्म भीडमा नजाने, बाहिर गएर आएपछि कुनै कुरा छुनुअघि राम्रोसँग हात धुने, संक्रमित बिरामीबाट एक मिटर टाढा बस्ने गरेमा इन्फ्लुएन्जाको संक्रमणबाट बच्न सकिने चिकित्सकले बताएका छन्।
प्रकाशित: १९ चैत्र २०७४ ०१:३२ सोमबार