६ वैशाख २०८१ बिहीबार
अर्थ

इँटा उद्योग वर्षैभरि चल्ने बनाउनुपर्नेमा जोड

भक्तपुर – वर्षभरिमा ६ महिना मात्रै सञ्चालन हुने इटा उद्योगलाई वर्षैभरि सञ्चालन गराउनुपर्नेमा जोड दिइएको छ।

इँटा व्यवसायीहरुको छाता संगठन नेपाल इँटा उद्योग महासंघको आयोजनामा आइतबारदेखि भक्तपुरमा सुरु भएको पाँचदिने जिगज्याग बोझाई र झोकाई तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले यसो गर्न सके मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

तालिम उदघाटन गर्दै घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले इँटा उद्योगलाई दैनिक आवश्यकता अन्तर्गतको उद्योगको संज्ञा दिए । त्यसकारण विभागले उद्योगको स्थायित्वको विषयमा सरोकारवालासँग छलफल गरेको उनले जनाए । उनले परिवर्तित राजनीतिक परिवेशमा इँटा उद्योगप्रति विभिन्न नकारात्मक टीकाटिप्पणी भए पनि इँटा उद्योगको आवश्यकता रहेको बताउँदै उद्योगलाई समय सुहाउँदो तरिकाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले त्यसको लागि इँटा उद्योगले प्रदूषण न्यूनीकरणको उपाय अवम्बन गरी उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।

दैनिक आवश्यकताको उद्योग भएको कारण इँटा उद्योगलाई मौसमी उद्योगका रुपमा मात्र नभएर वर्षभरि सञ्चालन गर्न सकिने उद्योग बनाउन सके देशलाई अझ फाइदा हुने बताए। ‘मौसमी उद्योगका रुपमा रहेको इँटा उद्योगलाई वर्षैभरि कसरी सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ व्यवसायी र सरकार दुबैले सोच्नुपर्छ,’ उनको भनाइ थियो । इँटा उद्योग प्रत्येक वर्ष मंसिरदेखि वैशाखसम्म ६ महिना चल्ने गर्छ ।प्रदूषण न्यूनीकरणको लागि इँटा व्यवसायीले अत्याधुनिक प्रविधि प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । ‘यसका लागि व्यवसायीको क्षमता र दक्षता अभिवृद्धि गर्ने काम गर्नुपर्छ,’ उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघको वातावरण तथा ऊर्जा विभागका उर्जाविद् डा. उत्तम कुँवरले इँटा उद्योगप्रतिको सामाजिक मानसिकतामा परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौं उपत्यकामा वायुप्रदूषण गराउन इँटा उद्योगमात्र जिम्मेवार नभएर सरकारको कामको ढिलाइ पनि भएको जिकिर गरे । ‘काठमाडौं उपत्यकामा प्रदूषणको कारक के इँटा उद्योगमात्रै हो ? अरु कारण छैनन् ?’ उनले भने।

इसिमोडकी रेश्मा दीक्षितले पछिल्लो समय इँटा उद्योगहरुबाट निस्कने धूँवा नियन्त्रण भएको जानकारी दिँदै नेपालका इँटा व्यवसायीहरुले अवलम्बन गरेको जिगज्याग बोझाइ र झोकाइ दक्षिण एसियामै उत्कृष्ट प्रविधि रहेको बताइन् । उनले सोही प्रविधिको कारण प्रदूषणमा गिरावट आएको जानकारी दिइन्।

कार्यक्रममा तालिम आयोजक महासंघका अध्यक्ष महेन्द्र चित्रकार, वरिष्ठ उपाध्यक्ष विश्वराम कवाँ, भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बालगायतले व्यवसायीका लागि आयोजित तालिम फलदायी हुने विश्वास लिए ।तालिममा सैद्धान्तिकका अलावा प्रयोगात्मक तरिकाले पनि बोझाइ र झोकाइको सीप दिइने जनाइएको छ । तालिममा विभिन्न जिल्लाका ६० भन्दा बढी व्यवसायीको सहभागिता छ । तालिममा महासंघ अन्तर्गतको प्रविधि अनुसन्धान विकास केन्द्रले सहजीकरण गर्नेछ।

तालिममा स्रोतव्यक्तिहरु क्रमशः भीष्म उप्रेती, उषा मानन्धर, सुयश प्रजापति, सागर अधिकारी, राजकुमार लाखेमरु, श्याम महर्जन, देवेन्द्र महर्जन लगायतले विभिन्न विषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ । देशभर सञ्चालनमा रहेका इँटा व्यवसायीलाई इँटा भट्टामा भित्रिएको नयाँ प्रविधिबारे जानकारी दिन तालिम आयोजना गरिएको हो।
 

प्रकाशित: १९ चैत्र २०७४ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App