८ वैशाख २०८१ शनिबार
राजनीति

सर्वोच्चलाई कार्कीको लिखित जवाफ

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूले अदालतको अपहेलना हुने कुनै पनि कार्य नगरेको जिकिर गर्दै सम्बन्धित निवेदन खारेजीको माग राखेका छन्। सर्वोच्च अदालतमा दायर अपहेलना मुद्दाको मंगलबार लिखित जवाफ दिँदै कार्कीले निवेदन आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।

पत्रकार कनकमणि दीक्षित पत्नी शान्ताले कार्कीविरुद्ध अपहेलना मुद्दा दर्ता गराएकी छन् । आयोगबाट गरिने कामकारबाहीको जिम्मेवारी आयोगकै हुने, त्यसमा आफ्नौ कुनै हस्तक्षेप नहुने कार्कीले जवाफमा उल्लेख गरेका छन् । ‘आयोगमा दर्ता उजुरी अनुसन्धान गर्न अलग्गै संयन्त्र हुने र त्यसले स्वतन्त्रतापूर्वक अनुसन्धान गर्ने भएकाले कसैको निर्देशन र ठाडो हस्तक्षेपमा गरिएको भन्ने जिकिर गलत छ,’ कार्कीको जवाफ छ, ‘दीक्षितले साझा सहकारी संस्थामा कार्यरत रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी दर्ता भएकाले अनुसन्धान गरिएको हो।’

अदालत अवहेलना र अदालतको आस्थाप्रति आँच आउने काम नगरेकाले दोस्रो सुनुवाइमा रिटनिवेदन खारेज हुनुपर्नेमा उनले जोड दिएका छन् । ‘म सधैं अदालत र आदेशको सम्मानका पक्षमा छु,’ कार्कीले थप लेखेका छन्, ‘अदालतका आदेश कार्यान्वयनमा कहीँकतै कमजोरी छैन, त्यसैले मविरुद्ध दायर निवेदन गलत मनसायले प्रेरित देखिन्छ।’

गत असार २७ गते सर्वोच्चका न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले कार्कीविरुद्ध दायर अवहेलना मुद्दामा पहिलो सुनुवाइ गरी कारबाही गर्नुनपर्ने कारणसहित सातदिनभित्र जवाफ माग गरेको थियो । आदेश भएको लामो समयसम्म म्याद तामेली हुन सकेको थिएन ।

भ्रष्टाचार मुद्दामा आरोपितलाई सार्वजनिक चर्चाको विषय नबनाई गोप्य अनुसन्धान गर्नुपर्ने, मुद्दाको ठोष प्रमाण प्राप्त भएपछि मात्र अनुसन्धानका लागि बोलाउनुपर्नेजस्ता सर्वोच्चका अघिल्ला आदेश कार्कीले अटेरी गरेको भन्दै अपहेलना मुद्दा दायर गरिएको थियो ।

वैशाख २० गते दर्ता बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले दीक्षितलाई तारेखमा राखी अनुसन्धान गर्न भनेको थियो । त्यसपछि पनि अख्तियारले पटकपटक अनुसन्धानका नाममा आदेश उल्लंघन गरेको भन्दै शान्ताले वैशाख २२ गते अपहेलना मुद्दा हालेकी थिइन् । त्यसको करिब दुई महिनापछि सुनुवाइ भएको निवेदनमा कार्कीले आदेश अवज्ञा गरेको ठहरसहित कारबाही माग गरिएको थियो । आयोगले पटकपटक सार्वजनिक पत्र लेख्दै दीक्षित परिवारको मानहानि गरेको, अदालतको आदेशविपरीत व्यक्तिगत मनमुटाबका भरमा पत्र काटेको शान्ताको आरोप छ।

बहसका क्रममा वादीतर्फका कानुन व्यवसायीले कार्कीको एकल निर्देशनमा दीक्षित परिवारलाई मानसिक यातना दिने कार्य गर्दै आएकाले अपहेलना ठहर गरी अदालतमा स्वयम् उपस्थित गराएर बयान लिन माग गरेका थिए । त्यसलगत्तै अदालतले कार्कीको जवाफ सुन्न उनलाई अदालत उपस्थित हुन भनेको हो।

अदालतको अपहेलना ठहर भए एक वर्ष कैद र दस हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था  छ।

 

प्रकाशित: ८ भाद्र २०७३ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App