८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा फेरि महाधिवेशन चटारो

काठमाडौं-नेपाली कांग्रेसका दुई संगठन नेपाल तरुण दल र नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशनलगत्तै दुवै पक्ष अन्य दुई संगठनको महाधिवेशनमा केन्द्रित भएका हुन्।

दुवै नेताले आफूनिकट नेताहरूलाई जिम्मेवारी नै दिएर नेतृत्व आफ्नो पक्षमा पार्न कसरत थालेका छन्। पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष नेविसंघमा जस्तै सभापति देउवा पक्षसँग मिलेर आफ्नो स्थान सुरक्षित गर्न लागिपरेको छ ।

भदौ अन्तिम साता महाधिवेशन गर्ने घोषणा भए पनि अहिलेसम्म दुवै संगठनको जिल्ला अधिवेशन सकिएको छैन । भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा चौथो महाधिवेशन गर्ने तयारीमा रहेको महिला संघको सात जिल्लामा अधिवेशन बाँकी छ ।

रुकुम, पर्वत, सिरहा, धनुषा, महोत्तरी, पर्सासहितका जिल्लामा अधिवेशन हुन नसकेको हो । रुकुम, पर्वतमा विवाद र तराई–मधेसका जिल्लामा कमजोर संगठनका कारण अधिवेशन नभएको संघकी एक केन्द्रीय सदस्यले जानकारी दिइन् ।

संघकी केन्द्रीय सदस्य तथा मिडिया संयोजक निर्मला क्षत्रीले जिल्ला अधिवेशन बाँकी रहेको स्विकार्दै त्यसकै कारण महाधिवेशन नरोकिने दाबी गरिन् । ‘महाधिवेशन तयारीबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछौं,’ उनले भनिन् ।

संघकी अर्की सदस्य बिजुला बर्माले पनि महाधिवेशन नरोकिने बताइन् । ‘केही समस्या छन्, तिनलाई हल गरेर महाधिवेशन समयमै हुन्छ,’ उनले भनिन् ।

महाधिवेशनमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित झन्डै २ हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशन तयारीका लागि संघले मंगलबार नै पार्टी केन्द्रीय कार्यालयबाट खर्चसमेत बुझिसकेको छ ।

संघको नेतृत्व लिन एक दर्जनभन्दा बढी नेत्री सक्रिय छन् । संघको वर्तमान समितिमा रहेकादेखि रुक्मिणी कोइराला, कल्याणी रिजाल, मालती सोडारी, मञ्जु खाँणसहितका नेत्री आकांक्षी छन् । खाँण देउवा र सोडारी सिटौलानिकट हुन् भने कोइराला, रिजाल पौडेलसँग नजिक मानिन्छन् ।  

 

महाधिवेशनको मिति दुई साता मात्र बाँकी रहँदा अर्को भ्रातृ संगठन तरुण दलको पनि विवादका कारण २५ जिल्लामा अधिवेशन अझै हुन सकेको छैन । प्रदेश नम्बर २ का सबै र सुनसरी, चितवन, कञ्चनपुर, बझाङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, काभ्रे, कपिलवस्तु, रुपन्देही, उदयपुरसहितका जिल्लामा अधिवेशन बाँकी छ । दोलखाको जिल्ला अधिवेशन मंगलबार सकिएको छ । धादिङ, बाँके, रुकुमसहितका जिल्लामा पनि विवाद छ ।

तरुण दल प्रचार समिति संयोजक मेदनी सिटौलाले तराईका अधिकांश जिल्ला अधिवेशन बाँकी रहेको जनाउँदै विधिवत् अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा जानुपर्ने बताए । ‘२५ भन्दा बढी जिल्ला अधिवेशन अझै हुन सकेको छैन,’ उनले भने, ‘भागबन्डा अन्त्य गरेर विधिवत् महाधिवेशन गर्नुपर्छ । दबाबमा गर्नु हुन्न ।’

अर्का केन्द्रीय सदस्य टेकराज पौडेलले पार्टी निर्देशक समिति नेविसंघकै जसरी महाधिवेशन गराउने रणनीतिमा रहेको आरोप लगाए । ‘प्रतिनिधिको टुंगो लगाएर मात्र महाधिवेशनमा जानुपर्छ,’ उनले भने, ‘भागबन्डा गरेर अधिवेशन गराउने प्रयास भए मान्य छैन ।’

तरुण दलमा महानगरपालिकाबाट तीन, उपमहानगरबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । साथै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधान छ । 

विधानमा उल्लेख ४५ वर्ष नाघेकाले नेतृत्वमा रहन नपाउने व्यवस्थालाई वर्तमान समितिका सबैले अव्यावहारिक बताएका छन् । सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्ने जनाउँदै उनीहरूले उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

पार्टीले उक्त निर्णय फिर्ता गरे वर्तमान अध्यक्ष उदयसमसेर राणाका साथै टेकराज पौडेल, मेदनी सिटौला, लक्ष्मी खतिवडा, नारायण भट्टराई, जन्मजय तिमल्सेनासहितका नेता आकांक्षी छन् । त्यस्तै, पदम पालुंगा, उत्तम चापागाईं, दामोदर कोइराला, कर्ण मल्लसहितका नेता पनि सक्रिय छन् । राणा, तिमल्सेना, पालुंगा, मल्ल देउवानिकट हुन् भने पौडेल कोइराला, खतिवडा पौडेल, चापागाईं, भट्टराईसहितका नेता सिटौलानिकट मानिन्छन् ।

जिल्ला सभापतिको दुई दिने भेलामा मल्लले उम्मेदवारी घोषणा गर्दै सहयोग मागेका छन् । भदौ २४ देखि २६ सम्म पोखरामा महाधिवेशन गर्ने तयारीमा जुटेको तरुण दलको २०६१ कात्तिकयता महाधिवेशन हुन सकेको छैन । दुवै संगठनको अधिवेशन गराउन सभापति देउवाले सोमबार पार्टीभित्रका गुटका आधारमा निर्देशक समिति गठन गरेका छन्।

प्रकाशित: ८ भाद्र २०७३ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App