७ वैशाख २०८१ शुक्रबार
प्रविधि

काठमाडौंका सम्पदा क्षेत्रमा फ्री वाइफाइ

काठमाडौं- काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिले वाइफाइ जडान गर्न लागेको हो।

त्यसको लागि महानगरपालिकाले आइतबार वल्र्डलिंक कम्पनीसँग सम्झौता समेत गरिसकेको छ। सम्झौता पत्रमा महानगर प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले र वल्र्ड लिंकका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका छन्। हस्तक्षर कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोल लगायतको उपस्थिती थियो।

महानगर प्रमुख शाक्यले सम्पदा क्षेत्रमा वाइफाई जडानपछि आवश्यकता देखिएमा अन्य ठाउँमा समेत जडान गरिने प्रतिवद्धता गरेका छन्। नागरिकलाई प्रविधिमय बनाउन वाइफाइ जोडेपनि त्यसको दुरुपयोग होलाकी भनेर चिन्ता लागेको शाक्यले बताए।

महानगरलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने यसअघि नै अभियान थालिएको थियो। महानगर प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार नागरिकलाई प्रविधिमार्फत सेवा सुविधामा जोड्न महानगरले नीतिगत रुपमै वाइफाई जोड्ने कदम चालेको हो ।

वल्र्ड लिंकका निर्देशक जलानले गुणस्तरिय सेवा दिने प्रतिवद्धता  जनाउ । उनका अनुसार वल्र्ड लिंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वाइफाई सेवा दिन लागेका हो।

सम्झौता अनुसार महानगरका बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा र पशुपति क्षेत्र लगायतका सम्पदा क्षेत्रमा दुई महिनाभित्र वल्र्ड लिंकले वाइफाइ जडान गरिसक्नुपर्छ।

पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन्। वाइफाइ जडान सम्बन्धी अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर १० एमविपिएस व्याण्डविथ क्षमताको सेवाको निर्धारण गरिएको हो।

अध्ययन अनुसार पशुपतिमा २०० देखि ७०० जना, बौद्धमा २५० जनादेखि ५०० जना, शंखपार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले एक पटकमा वाइफाइ सेवा लिन्छन्।

जडान गर्न लागेका वाइफाइ भने जडान गरेको ३० मिनेटपछि सिस्टमबाट कनेक्सन टुट्छ । त्यसपछि चलाउन मन लागेमा अर्को एक्सेस प्वाइन्टबाट सेवा लिनपर्ने हुन्छ । सबैलाई सेवाको पहुँच पुराउन यसो गरिने बताइएको छ। वाइफाइको प्रभावकारिता नियाल्न महानगर र सार्वजनिक निजी साझेदारि एकाईबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ।

यसअघि रत्नपार्क, महानगर, वडा कार्यालय, बानेश्वरको छक्कुपक्कु मन्दिरमा सेवा दिइसकिएको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुवकुमार काफ्ले जनाए। यसअघि वाइफाइ सार्वजनिक निजी साझेदारि इकाइ अन्तर्गत जोडिएको हो।

प्रकाशित: १८ चैत्र २०७४ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App