coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमै अगरबत्ती उद्योग

बेनी नगरपालिका–३ भकिम्लीको भुकभुकेमा रहेको अगरबत्ती उद्योगमा काम गदैं महिला।    तस्बिरः नागरिक

म्याग्दी – सधै चुल्होचौका र खेतीपातीमा व्यस्त हुने बेनी नगरपालिका–३ भकिम्लीका महिलाको दैनिकीमा परिवर्तन आएको छ। आधा रातमा उठेर घरधन्दामा खटिदा समेत आर्थिक रुपमा परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै गैरसरकारी संस्थाको सहयोगमा अगरबत्ती उद्योग स्थापना गरेपछि पछिल्ला केही दिन यता भकिम्लीका बिभिन्न बस्तीमा महिलाको दैनिकी फेरिएको छ।

गाउँमा दैनिक शुभकार्य, मठमन्दिर र घरघरमा गरिने पूजा पाठका लागि सदरमुकाम बेनीबाट महंगो धुप खरिद गर्नुपर्ने बाध्यतालाई अन्त्य गदैं गाउँमै उद्योग स्थापना गरेपछि स्थानीय महिलालाई भ्याइनभ्याई छ। 

गैरसरकारी संस्था धौलागिरी विकास केन्द्रले भकिम्लीको भुकभुके,मुसुङ र मरेकमा रहेका महिलालाई गाउँमै अगरबत्ती उद्योग स्थापनाका लागि आर्थिक तथा प्राविधिक सहयोगमा महिलाले दैनिक उद्योगमा आफ्नो समय दिन थालेका छन्। पुरुष र महिलालाई एउटै समूहमा आवद्ध गराइ उद्योगको स्थापना गरिएपछि घरायसी काम सकेपछि अगरबत्ती उत्पादनमा जुट्ने गरेको भुकभुके अगरबत्ती उत्पादन समूहका अध्यक्ष रत्न बहादुर जिसीले बताए। ‘गाउँमै उद्योगको स्थापनाले महिलाको आम्दानी बढाएको छ।

गाउँमै खपत हुन्छ’ जिसीले भने। उनले गाउँमा दैनिक हुने पूजा पाठ र नजिक रहेको स्वर्गाआश्रम मन्दिरमा नियमित हुने पुजामा खपत गरी अन्य गाउँमा विक्री हुने गरेको बताए। अगरबत्ती र सुइटर उत्पादन समूहले उद्योगमा ४ लाख लगानी गरेका छन्।
गाउँकै बनपाखामा फैलिने काउलोको कच्चा पदार्थ र घरमा दाउराबाट बनाइने अङ्गारलाई अगरबत्ती बनाउन प्रयोग गरिन्छ। साथै अगरबत्तीलाई सुगन्धित, कसिलो र बलियो बनाउन प्रयोग हुने पाउडरलाई समेत प्रयोग गरिने समूहकी कोषाध्यक्ष सरिता केसीले बताइन्।

‘एउटा सिन्कालाई १ रुपैयाँ पर्छ। प्याकेट बनाउदाँ १० रुपैयाँ आम्दानी गर्न सकिन्छ’ उनले भनिन्। भकिम्लीमा रहेका तीनवटै समूहबाट धमाधम अगरबत्ती उत्पादन हुन थालेपछि केही महिनाभित्र जिल्लाका मुख्य बजारमा समेत विक्रीका लागि लैजाने बताएका छन्। सामान्य तालिमबाट उद्योग स्थापना गरेपछि जिल्ला बाहिरका उद्योगमा समेत स्थलगत भ्रमण गरी मेसिन सहित आवश्यक उपकरणको प्रयोग गरिने समूहले जनाएको छ।

बजारमा नक्कली अगरबत्तीको विक्री भइरहेको अवस्थामा गाउँमा बनाइएको अगरबत्ती गुणस्तरीय भएको स्थानीयको भनाई छ। यसैबीच अगरबत्तीसँगै स्थानीय महिलाले सुइटर सहितका हस्तकला साम्रागी उत्पादन गर्ने गरेका छन्। स्वर्गाआश्रम सुइटर समुहकी अध्यक्ष पूर्णकला जिसीका अनुसार गाउँमै उत्पादन गरिएका सुईटर लगाएतका साम्रागीको बजार अभावले समस्या भएको बताइन्।

उनले सदरमुकाम बेनी लगाएतका बजारमा विक्रीका लागि लगिएका समान समेत फिर्ता आएपनि उत्पादन नरोकिएको बताइन्। ‘आयमूलक उद्योगलाई थप विस्तार गर्नेछौ। आर्थिक अभाव झेल्दै आएका महिलालाई सहज भएको छ’ उनले भनिन्।  गाउँमा स्थापना गरिएका उद्योगमा महिलाको आर्कषण बढेपछि वडास्तरबाट समेत बजेट विनियोजनको पहल भएको वडा अध्यक्ष पदम बहादुर पुनले बताए।

‘साना उद्योगले पनि रोजगारी सृजना गर्छ। आगामी आर्थिक वर्षमा बजेट विनियोजनमा प्राथमिकता दिनेछु’ पुनले भने। जिल्लामा घरायसी काममा सिमित महिलाले अल्लो, ढाकाका साम्रागी गाउँमै उत्पादन गरी विदेशका बजारसम्म पुर्याउने गरेका छन्। सानो लगानीमा स्थापना गरिएका उद्योगबाट समेत राम्रो आम्दानी हुन थालेपछि घरायसी खर्चका साथै महिलाले बचत गर्ने गरेका छन्। फुर्सदको समयलाई सदुपयोग गदैं महिलाले गाउँगाउँमा सुरु गरेका उद्योगले विदेशीएका पुरुषलाई समेत चुनौती दिएका छन्।

प्रकाशित: १८ चैत्र २०७४ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App