coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सर्लाहीमा गोलभेंडा अभाव

सासापुरस्थित किसानको खेतमा मर्ने अवस्थामा पुगेको गोलभेंडाका बोट । तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – कात्तिकदेखि नै बजारमा आउने भएपनि हरेक वर्ष चैतमा निकै गोलभेंडा किनेर सिन्की बनाउने वा बयम (सिसाको भाँडो) मा अचार राख्दै आएकी हरिवनकी निर्मला बस्नेतले यसवर्ष भने त्यस्तो मौका पाइनन्। सदाझै यस वर्षको चैतमा पनि निकै सस्तोमा गोलभेंडा किन्ने दाउमा बसेकी बस्नेतको आशाविपरित भाउ अकाशिएपछि उनको अचार हाल्ने योजनामाथि तुषारापात लागेको छ।

‘हैन पोर परार चैतमा रुपैयाँ किलोसम्म पाइन्थ्यो र निकै गोलभेंडा किनेर सिन्की अचार हाल्थे,’ उनले भनिन्, ‘यसवर्ष त २० रुपैयाँभन्दा कम नै थिएन, चैतमा त सस्तो होला भनेको ६० रुपैयाँ पो पुगेछ।’

हो विगतका वर्षहरुमा निकै सस्तोमा गोलभेंडा किन्नका लागि उपभोक्ता फागुन अन्तिमदेखि चैत महिना कुरेर बस्थे। चैत पहिलो सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गोलभेंडा फालाफालजस्तै हुन्थ्यो। दुई रुपैयाँ किलोमै उपभोक्ताले गोलभेंडा किन्न पाउँथे। अझ कुनै–कुनै वर्षमा त एक रुपैयाँमै गोलभेंडा लिने हो भन्दै किसान उपभोक्ताको घर–घरमा आउँथे। टिपाई र ढुवानीको लागतसमेत नआउने हुँदा कतिपय किसानले त पहेलाम्मे भएका गोलभेंडा बोटैमा छाडिदिन्थे।

तर यसवर्ष गोलभेंडा उत्पादनका लागि मुलुकमै चर्चित सर्लाहीमा फरक अवस्था आएको छ। उत्पादन नै नभएकाले गोलभेंडाको भाउ अकाशिएको मात्र हैन जिल्लास्थित लालबन्दी र नवलपुरस्थित गोलभेंडा बजार चैत पहिलो सातादेखि सुनसान छ। ‘गोलभेंडा नै आउन छाडिसक्यो,’ लालबन्दीस्थित कृषिउपज बजार समितिका कर्मचारी जयदेव घिसिङले भने, ‘पाँच–सात दिनदेखि दैनिक मुस्किलले काठमाडौं र पोखरा पाँच–पाँच क्विन्टल निकासी भइरहेको छ।’ जबकी विगत वर्षको चैतमा लालबन्दीबाट दैनिक ५० मेट्रिक टन एवं नवलपुरबाट २० मेट्रिक टनभन्दा बढी गोलभेंडा काठमाडौंसहित मुलुकका विभिन्न सहरमा निकासी हुन्थ्यो। एक सातायता स्थानीय उपभोगबाहेक लालबन्दीबाट दैनिक १० क्विन्टल हाराहारी निकासी भएपनि नवलपुरबाट त ठप्पै भइसकेको छ।

मागको तुलनामा उत्पादन सून्यझै‌ भएपछि गोलभेंडाको मूल्य अकाशिएको छ। विगतका वर्षको चैतमा प्रतिकिलो एक रुपैयाँसम्म किनबेच हुने गरेको भएपनि यस वर्ष बजारमा खुद्रा किन्दा ७० रुपैयाँसम्म उपभोक्ताले तिर्नु परिरहेको नवलपुरस्थित कृषिउपज बजारका ब्रम्हदेव महतोले जानकारी दिए। पुस वा माघमा अकाशे पानी नपरेका कारण बिरुवा पलाउन नपाएकाले फागुन अन्तिमदेखि गोलभेंडा फल्नै छाडेको किसानले गुनासो गरेका छन्। ‘गोलभेंडाका बोटहरु मर्न थालिसके,’ सासापुरका किसान अजमल अहमद्ले भने, ‘एउटा बोटमा एक–दुई दानामात्रै फल्छ।’

यो समयमा थोरै भएपनि टिपेर बजारसम्म पु¥याउने किसानले इतिहासकै सबैभन्दा बढी मूल्य पाएको लालबन्दीस्थित कृषिउपज बजारका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए। ‘यस वर्ष पुसतिर पानी नपरेपछि बजारमा मागअनुसारको गोलभेंडा नै आउन सकेन,’ घिमिरेले भने, ‘अनि किसानले फलेजति गोलभेंडाको मनग्गे मूल्य पाइरहेका छन् भने बढी मूल्य तिर्नुपर्दा उपभोक्ता मर्कामा परेका छन्।’ चैत महिनामा यसरी गोलभेंडा अभाव भएको अहिलेसम्म थाहा नभएको घिमिरेले बताए।

विगत वर्षहरुमा फागुन अन्तिमसँगै लाग्ने चर्को घामले टिप्नै नसक्ने गरी गोलभेंडा बारी पहेलाम्मे हुने गरेपनि यस वर्ष पर्याप्त पानी नपर्दा बोट नै मरेर फल्न छाडेपछि बजारमा भाउ अकाशिएको हरिवनका किसान सानु बलले बताए। ‘बढी फल्यो भनेर खुसी भयो, भाउ निकै कम हुन्छ,’ उनले गुनासो गरे, ‘भाउ निकै पाउन थालेपछि गोलभेंडा नै फल्दैन।’

सर्लाहीको लालबन्दी र नवलपुरबाट काठमाडौंसहित इटहरी, लहान, सिन्धुली, वीरगन्ज, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगन्जलगायत मुलुकका मुख्य सहरमा गोलभेंडा निकासी हुने गरेको छ। सिँचाइको भरपर्दो व्यवस्था नहुने सुक्खा क्षेत्रमा बढी गोलभेंडा खेती हुने गरेकाले आकाशे पानीसमेत नपर्दा यो वर्ष उत्पादनमा निकै कमी आएको हो। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित इश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र बागमती नगरपालिका क्षेत्रका दुई हजार हेक्टर क्षेत्रफल हाराहारीमा गोलभेंडा खेती हुने गर्छ। 

प्रकाशित: १८ चैत्र २०७४ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App