८ वैशाख २०८१ शनिबार
खेल

लुकाकु र सान्चेजको गोल

लन्डन – स्ट्राइकर रोमेलु लुकाकु र एलेक्सिस सान्चेजको गोलमा म्यानचेस्टर युनाइटेडले शनिबार स्वान्सी सिटीलाई २–० ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको पाँचौं मिनेटमा लुकाकुले सान्चेजको पासमा गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । त्यसको १७ मिनेटपछि सान्चेजले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । सान्चेजले हुँवा माटाको पासलाई पोस्टको दिशा दिएका थिए।

यस जितपछि ३१ खेलमा ६९ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत् छ । जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अंक कम हो । त्यस्तै ६६ अंक जोडेको लिभरपुल तेस्रो, ६१ अंक जोडेको टोटेनह्याम चौथो र ५६ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छन् । ३१ अंक जोडेको स्वान्सी १५आैं स्थानमा छ।

यसअघि शनिबारै चाँडो गरी सम्पन्न खेलमा मोहम्मद सालाहले अन्तिम समयमा गोल गरेपछि लिभरपुलले  क्रिस्टल प्यालेसमाथि २–१ को विजयी नतिजा हात पार्यो।

घरेलु मैदान सेलहर्सट पार्कमा सम्पन्न खेलको १३औं मिनेटमा लुका मिलिभोजेभिचले पेनाल्टीमा गरेको गोलमा प्यालेसले अग्रता लिएको थियो । लिभरपुलका गोलकिपर लोरिस कायर्ससले विल्फ्रिड जाहामाथि खराब फाउल गरेपछि प्यालेसले पेनाल्टीको अवसर पाएको थियो।

मध्यान्तर हुन १५ मिनेट बाकी हुँदा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए पनि सहायक रेफ्रीले अफसाइडको झन्डा उठाउँदा पाहुना टोली निराश बनेको थियो।

४९औं मिनेटमा मानेले जेम्स मिल्नरको पासमा गरेको गोलमा लिभरपुल खेलमा फर्किएको थियो । खेल सकिन ६ मिनेट बाँकी हुँदा सालाहले गरेको गोल लिभरपुलको जितमा निर्णायक बन्यो । सालाहले एन्ड्र्यु रोबर्टसनको पासलाई पोस्टको दिशा दिएका थिए । जारी सिजन प्रिमियर लिगमा उनको यो २९औं गोल हो र उनी सर्वाधिक गोलकर्ताको सूचीको अग्र स्थानमा छन् । घरेलु मैदानमा लगातार तेस्रो हार व्यहोरेको प्यालेस ३० अंकका साथ १७औं स्थानमा छ।

‘पहिलो हाफमा १–० ले पछि पर्दा टोलीको मनोबल घटेको थियो तर दोस्रो हाफमा खेलमा फर्कनेमा हामी आशावादी थियौं । हामीले अन्तिमसम्म आत्मविश्वास गुमाएनौं,’ लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले भने, ‘मानेले हामीलाई खेलमा फर्काए र मोहम्मद सालाहले गोल गर्दै हाम्रा लागि तीन अंक पक्का गरे । धन्यवाद मोहम्मद।’

प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–०, न्युक्यासल युनाइटेडले हडर्सफिल्डलाई १–०, बर्नलीले वेस्ट ब्रोमलाई २–१, वेस्ट ह्यामले साउथह्यामटनलाई ३–० पराजित गर्दा वाट्फोर्ड र बर्नमाउथले २–२ को बराबरी खेले।

प्रकाशित: १८ चैत्र २०७४ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App