६ वैशाख २०८१ बिहीबार
खेल

सुजलको ह्याट्रिकले मनाङ फाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै खेलाडीहरू। तस्बिरः नागरिक

बुटवल – साबिक विजेता सुनौलो संगम क्लबलाई ५—० को फराकिलो अन्तरले स्तब्ध पार्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब शनिबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

घरेलु दर्शकको साथ पाएको सुनौलोले सुरुमा निकै राम्रो प्रदर्शन गरे पनि २७औं मिनेटमा पेनाल्टीमार्फत मनाङले अग्रता लिएपछि दबदबा कायम राख्न सकेन । पेनाल्टी बक्समा मनाङका विमल रानालाई सुनौलोका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा सुजल श्रेष्ठले गोल गरेपछि मनाङको अग्रता सुरु भएको थियो । ४ मिनेट बित्न नपाउँदै मनाङका अन्जन विष्टले सुनौलोका खेलाडीको खुट्टाबाट खोसेर बललाई एक्लै छलाउँदै आकर्षक गोल गरेका थिए।

दुई गोलले हौसिएको मनाङ त्यतिमै रोकिएन । दोस्रो हाफपछि मनाङका खेलाडीले बल पूरै आफ्नो कब्जामा लिए । सुनौलो निरीह देखियो । ५८औं मिनेटमा सुजल श्रेष्ठले पुनः अर्को गोल थपे । खेलको ६६औं मिनेटमा अन्जन विष्टले पुन अर्को सुन्दर गोल गरे । अन्जनले गोल पोस्टनजिकैबाट हानेको बललाई रोक्ने सुनौलोका गोलकिपर श्रीजन श्रेष्ठको प्रयास सफल हुन सकेन । श्रीजनले छोपेको बल हातबाट फुस्कियो र अन्जनकै खुट्टामा पर्यो । अन्जनले बललाई सजिलै जाली चुमाए । खेल सकिन एक मिनेट बाँकी छँदा सुजलले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे।

सुनौलोका अधिकांश खेलाडी एन्फा एकेडेमी बुटवलका उत्पादन हुन् । खेलको पहिलो हाफसम्म सुनौलोका खेलाडीले गरेको पटकपटकको प्रयासलाई मनाङका किपरले रोकेका थिए । दोस्रो हाफमा भने मनाङका अनुभवी खेलाडीका अगाडि सुनौलोका खेलाडी कमजोर देखिए।

शनिबारको खेलमा ह्याटिक गर्ने सुजल श्रेष्ठ म्यान आफ दी म्याच भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । मनाङले अब आइतबार हुने पहिलो सेमिफाइनलको विजेतासँग उपाधिका लागि सोमबार भिड्नेछ । आइतबार पहिलो सेमिफाइनल अन्तर्गत रुस्लान थ्री स्टार र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार हुने भनिएको यो सेमिफाइनल मौसमका कारण स्थगित भई आइतबारका लागि सरेको हो।

प्रकाशित: १८ चैत्र २०७४ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App