८ वैशाख २०८१ शनिबार
खेल

रोमाञ्चक खेलमा गोल्डेनगेटलाई उपाधि

आर्मीविरुद्ध स्कोर गर्दै गोल्डेनगेटका खेलाडी (रातो)। तस्बिरः नागरिक

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक १ स्कोरले पराजित गर्दै गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम क्विक्स पुरुष बास्केटबलको उपाधि जितेको छ । 

राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनल खेलमा गोल्डेनगेटले आर्मीलाई ९७–९६ स्कोरले पराजित गर्दै उपाधि उचालेको हो । अन्तिम क्वार्टरको पनि अन्तिम सेकेन्डमा १ स्कोरले पछि परेको स्थितिलाई उल्टाउँदै गोल्डेगेटले रोमाञ्चक जित हात पार्याे। 
पहिलो क्वार्टर २१–२१ को बराबरी सकिएको खेलमा दोस्रो क्वार्टरमा गोल्डेनगेट ३३–२३ ले अघि रह्यो । तेस्रो क्वार्टरमा २०–२० को स्कोर गरेका दुवै टोलीले निर्णायक क्वार्टरमा आक्रामक खेल खेले। 

निर्णयपूर्व समग्रमा १० स्कोरले पछि परेको आर्मीले ६८–८१ पछि उत्कृष्ट खेल प्रस्तुत गर्दै ८२–८२ को स्कोरमा गोल्डेनगेटलाई बराबरीमा रोक्न सफल भयो । ८५–८५ को स्कोरमा खेल फेरि रोमाञ्चक बन्यो । त्यसपछि ९५–९२ मा अग्रता लिएको गोल्डेनगेटमाथि आर्मीका निश्चलले आकर्षक थ्री स्कोर गर्दै खेल ९५–९५ स्कोरमा पुर्याएका थिए । केही मिनेट बाँकी छँदा स्पष्ट नतिजालाई संघर्ष गरिरहेको गोल्डेनगेटले आर्मीका खेलाडी रोविन खत्रीलाई फल गरेपछि कप्तान खत्रीले १ स्कोर गर्दा आर्मीले १ स्कोरको अग्रता बनायो । तर एक सेकेन्ड बाँकी रहँदा गोल्डेनगेटले आकर्षक २ स्कोर गरेपछि आर्मी १ स्कोरले स्तब्ध बन्दै उपविजेता बन्यो।

खेलमा गोल्डेनगेटका राजीव जोशीले सर्वाधिक १५ स्कोर गरे भने विनोद श्रेष्ठले १३ स्कोर गरे । आर्मीका विनोद महर्जन र निश्चल  महर्जनले समान १७ स्कोर गरे पनि टोलीको पराजयलाई टार्न सकेनन् । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेता गोल्डेनगेटले दुई लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्याे भने उपविजेता विभागीय टोली त्रिभुवन आर्मीले नगद १ लाख रुपैयाँमा चित्त बुझायो। 

यस्तै, शनिबारै भएको खेलमा विशाल मिलन केन्द्रले परिषद्कै कोर्टमा हिमालयन हन्ड्सलाई ८०–७० को स्कोरले पराजित गर्दै तेस्रो बन्यो । विशाल मिलन केन्द्रलाई जिताउन विकास गुरुङले सर्वाधिक ३० र सन्देश तामाङले १३ स्कोर गरे । प्रतियोगितामा तेस्रो हिमालयन हन्ड्सले नगद ५० हजार रुपैयाँ हात पार्याे। 

होम एन्ड अवे लिगको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका सदीश प्रधान मोस्ट भ्यालुएबल प्लेयर्स घोषित भए भने सर्वाधिक स्कोररको उपाधि विशाल मिलन केन्द्रका विकास गुरुङले जिते । यस्तै, उत्कृष्ट डिफेन्डर आर्मीका विनोद महर्जन घोषित हुँदा उदीयमान खेलाडीको उपाधि विशाल मिलन केन्द्रका विवेक श्रेष्ठले हात पारे भने टिम कीर्तिपुर बास्केटबलका रवीन्द्र महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सवै विधाका खेलाडी र प्रशिक्षकले १० हजार रुपैयाँको गिफ्ट भौचर प्राप्त गरे। 

 

प्रकाशित: १८ चैत्र २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App