७ वैशाख २०८१ शुक्रबार
अर्थ

साढे नौ महिनामा २४ अर्ब ५२ करोडको सुन आयात

काठमाडौं – चालु आवको साढे नौ महिनामा बैंकिङ प्रणालीबाट २४ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। चालु वर्षको चैत १५ सम्ममा चार हजार नौ सय ५० किलो सुन आयात भएको हो।

बजारमा अहिले प्रति १० ग्राम सुनको मूल्य ४९ हजार पाँच सय रुपैयाँ तोकिएको छ। यो हिसाबले एक वर्षमा उक्त रकम बराबरको सुन मुलुकमा भित्रिएको हो।

सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकिङ प्रणालीबाट सुन आयात बढेको हो। गत आर्थिक वर्षमा ६ हजार चार सय ५५ किलो सुन आयात भएको थियो।

प्रत्येक वर्ष सुन आयात बढ्दै आएको छ। गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा सुन आयात बढ्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले नागरिकलाई बताए।

सरकारले वैदेशिक रोजगारीमा गएका र विदेश गएका अन्य व्यक्तिले काँचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि बैंकिङ प्रणालीबाट सुन आयात ह्वात्तै बढेको हो। झिटिगुन्टा सुविधा अन्तर्गत एकजनाले ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था थियो।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत १५ सम्म चार हजार नौ सय ५० किलो सुन बैकिङ प्रणालीबाट आयात भएको थियो। आर्थिक वर्ष २०७३/०७४ भरिमा ६ हजार चार सय ५५ किलो आयात भएको थियो।

बैंकहरुले एकपटकमा ५० किलो सुन ल्याउने गरेका छन्। २०७३ फागुनदेखि दैनिक २० किलो र चाडपर्वमा थप दैनिक पाँच किलो आयात गर्दै आएका छन्। यसअघि दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउँथे। 

अहिले २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। त्यसमध्ये सेञ्चुरी बैंकले धेरै ल्याउने गर्छ। ‘सेञ्चुरी बैंक थोक बिक्रेता हो,’ सेञ्चुरी बैंकका प्रवक्ता शेखरराज वास्ताकोटीले भने, ‘हामीले अरु बैंकलाई सुन बिक्री गर्छौं।’

व्यवसायीले बैंकबाटै सुनचाँदी किन्नुपर्छ । नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन्। केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ।

‘माग बढ्न थालेपछि बैंकहरुले सुन धेरै ल्याउन थालेको छन्,’ नेपाल बैंकर्स संघका एक अधिकारीले भने, ‘अहिले व्यापारीलाई दिने सुनको अभाव छैन।’ बैंकमा रहेको सुन चाँडै नै खपत हुन थालेपछि यसको आयात परिमाण पनि बढेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले प्रस्ट पारेको छ।

स्टक सुन बिक्री भएपछि बैंकले सुन आयात गर्न थालेका छन्। यसअघि बिक्री नभएको भन्दै आयात रोकेका थिए। पछिल्लो समय अनौपचारिक बाटोबाट सुन भित्रने क्रम घटेको र वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। ‘बैंकको सुन बिक्री बढेको छ,’ उनले भने।

बैंकबाट सुन किन्दा भरपर्दो हुने भएकाले बैंकबाटै किन्न थालेको एक व्यापारीले बताए। उनले भने, ‘बैंकबाट किन्दा झन्झट बेहोर्नु नपर्ने भएकाले पनि व्यापारी त्यतातिर लागेका हुन्।’

अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारको राजस्व गुम्छ। अवैधानिक सरहकै मूल्यमा बैंकबाट सुन पाउने भएपछि व्यवसायी पनि त्यतैतिर लागेका छन्।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था थियो। त्यस्तो व्यवस्था खारेज गरेपछि बैंकबाट सुन आयात बढेको महासंघका अध्यक्ष सुनारले बताए। ‘झिटीगुन्टा र तस्करीमा कमी आएका कारण सुन आयात बढेको हो,’ उनले भने।

झिटीगुन्टाको व्यवस्थाले पनि बैंकको सुन बिक्री घटेको थियो। सरकारले उक्त व्यवस्था खारेज गरी व्यक्तिले काँचो सुन ल्याउन नपाउने प्रावधान लागू गरेपछि बैंकबाट सुन किन्ने बढेका छन्। 

प्रकाशित: १८ चैत्र २०७४ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App