coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

काठमाडौं– चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाई चाउचाउ उद्योग स्थापना गर्ने तथा सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताएको छ।

अमेरिकामा रहेका नेपालीसँग शनिबार अमेरिकी सहर ड्यालस र आइतबार लस एन्जेल्समा छलफलका क्रममा नेपाली व्यवसाय विस्तारको आफ्नो योजना सुनाउँदै चौधरीले उक्त कुरा बताएका हुन् ।
‘म सानैदेखि सपना देख्ने मान्छे, त्यो पनि राति होइन दिनमा,’ उनले भने, ‘मेरो सपना थियो नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी खोल्ने, त्यही सपना पछ्याउँदै यहाँसम्म आइपुगेको छु ।’

गैरआवासीय नेपाली संघ अमेरिका कोअर्डिनेसन कमिटीका स्थानीय च्याप्टरमार्फत अमेरिकाका विभिन्न स्थानमा नेपाली समुदायसँग व्यावसायिक सफलता विषयमा छलफल गर्ने क्रममा हाल विनोद चौधरी अमेरिका भ्रमणमा छन् ।

आफ्नो ग्रुपको लगानी विस्तारका सम्बन्धमा चौधरीले सिलिकन भ्यालीमा भन्चर क्यापिटलमार्फत उदीयमान र नयाँ सोचका नेपाली युवालाई प्रोत्साहित गरी कम्पनी खोल्न प्रेरित गरेका छन् ।

‘तपाईंहरुसँग विश्वलाई बदल्न सक्ने क्षमता छ,’ चौधरीले भने, ‘तपाईंहरु नयाँ सोच लिएर आउनुहोस्, सिलिकन भ्यालीमा जम्ने र नेपाली पौरख स्थापित गर्ने स्तरको योजना लिएर आउनुहोस्, म तपाईंहरुलाई साथ दिन तयार छु ।’

अन्तर्राष्ट्रिय स्तरमा नेपाली व्यवसायको विस्तारमा गैरआवासीय नेपालीले खेलेको विशेष भूमिकाको चौधरीले प्रशंसा गरे । ‘तपाईंहरुको प्रयासले विदेशी भूमिमा नेपाली आत्मसम्मानको रक्षा भएको छ, जसका लागि तपाईंहरु धन्यवादका पात्र हुनुहुन्छ,’ उनले भने ।

‘नेपाल धनी नभएसम्म तपाईं हामी कसैको स्वाभिमान उँभो लाग्दैन,’ उनले अमेरिकामा व्यवसाय गरिरहेका नेपालीसँग कुरा गर्दै भने, ‘त्यसो हुँदा पहिला नेपाल बन्नुपर्छ । नेपाललाई धनी बनाउने कुरामा हामी सबैले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नु जरुरी छ ।’

व्यावसायिक सफलताको सूत्र सुन्न उत्सुक नेपाली समुदायलाई उनले अरुलाई ‘फलो’ गरेर धेरै अघि जान नसकिने भन्दै अघि बढ्ने हो भने अरुलाई उछिन्नैपर्ने बताए ।

राष्ट्रिय अर्थतन्त्र र निजी क्षेत्र दुवैको विकासमा उदार अर्थ व्यवस्थाको महŒव रहेको बताउँदै उनले सन् १९९० पछि चौधरी ग्रुपले विदेशमा लगानी नगरेको भए अहिले पहिलो नेपाली अर्बपतिको सूचीमा आफू नपर्ने पनि बताए । हाल नेपालका ६ वटा र भारतका ८ वटा प्लान्ट (उद्योग) मा वाइवाईको उत्पादन भइरहेको छ ।

न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा रहेको ¥याडिसन होटलमा चौधरी ग्रुपको लगानी रहेको छ भने चौधरीले उक्त होटललाई पुनर्संरचना गर्ने योजना रहेको समेत बताए ।

उक्त अवसरमा छलफलसँगै विनोद चौधरीको आत्मकथाको नेपाली र अंग्रेजी संस्करणमा लेखकको हस्ताक्षरको कार्यक्रम पनि सञ्चालन गरिएको थियो । युवा, उद्यमी, आर्थिक, र बौद्धिक वृत्तमाझ अत्यन्त लोकप्रिय चौधरीको आत्मकथा नेपालमा नेपालय र भारतमा पेन्गुइनले प्रकाशित गरी वितरण गरिरहेको छ ।

 

प्रकाशित: ७ भाद्र २०७३ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App