४ वैशाख २०८१ मंगलबार
समाज

ब्लड बैंक नहुँदा उपचारमा समस्या

खोटाङ – प्रसूतिका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाए। ब्लड बैंकको व्यवस्था नहुँदा अस्पतालले आकस्मिक चाहिने रगतका लागि राईलाई रक्तदाता खोज्न लगाएको हो । आवश्यक परेको बेलामा श्रीमतीलाई आफैले रगत दिने भनेपछि अस्पतालमा बच्चा जन्माउनेक्रममा शल्यक्रियाको प्रक्रिया अघि बढेको राईले बताए  

बच्चा जन्माउनकै लागि जिल्ला अस्पताल दिक्तेलमा भर्ना भएकी केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरकी कोपिला राईलाई रगत दिने दुईजना दाता तयार पार्न भनेपछि आफन्तलाई आपत् आइलाग्यो। बच्चा जन्माउने क्रममा चाहिने रगत दिने आफन्त खोजिए। अन्त्यमा रक्तदाता कोही नभेटिएपछि नेपाली सेनालाई गुहारेर कोपिलाका लागि रगत दिने मान्छे जुटाइएको आफन्त बताउँछन्।

यी केही उदाहरण हुन्। ब्लड बैंक नहुँदा जिल्ला अस्पताल खोटाङमा आउने बिरामीलाई रगत चाहिने अवस्थामा आफन्त वा दाताबाट रगत जुटाउने गरिएको छ। ब्लड बैंक अभावमा कतिपय बिरामीलाई उसकै आफन्त वा नेपाली सेना, सशस्त्र प्रहरीका जवान, रेडक्रसमार्फत आवश्यक रगत जुटाउने गरिएको छ। जिल्लामा ब्लड बैंक नहुँदा विशेष गरी सुत्केरी हुन आउने महिला समस्या झेल्न बाध्य छन्। सुत्केरी हुनका लागि आउने महिलालाई बेडमा भर्ना हुनुअगावै दुईजना रक्तदाता तयार पार्न लगाउने गरिएको छ। सुत्केरी हुनेक्रममा ब्लिडिङ भए र आश्यक परे त्यही दाताबाट रगत झिकेर प्रयोग गरिन्छ, आवश्यक नपरे दातालाई फर्काउने गरिएको छ। 

अस्पतालले चोटपटक लाग्दा अधिक रक्तस्राव भएका घाइतेका लागि पनि रक्तदाता खोज्न लगाउने गरेको छ। ‘अस्पतालमा रगत दिने मान्छे खोज्न लगाइएको थियो,’ सञ्जीवले भने, ‘तर, ब्लड ग्रुप मिलेकाले आफै दिन्छु भनेपछि रगत दिने मान्छे खोज्नु परेन।’ केही समयअघि रगत दिने मान्छे नपाउँदा रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी रिता राई १५ घण्टासम्म अस्पतालकै बेडमा छट्पटाउन बाध्य भइन्। खोजी गर्दा पनि रगत दिने दाता नपाएपछि रितालाई पत्रकार उजुर राईले एक पाउन्ड रगत दिएका थिए।

१५ शय्याको जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाको विषयमा लामो समयदेखि छलफल र चर्चा हुँदैआएको छ। तर, छलफलले हालसम्म ठोस गति लिन सकेको छैन। सदरमुकाम आसपासका स्थानीयलाई रगत जुटाउन केही सहज भए पनि टाढाटाढाबाट आएका बिरामीका लागि रगत जुटाउन कठिनाइ हुने गरेको रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका भोगेन एक्लेले बताए। ‘बिरामीका आफन्तलाई रगत दिने मान्छे तयार पार्न लगाइन्छ, भन्ने बित्तिकै रगत दिने मान्छे कहाँबाट ठीक पार्ने, कसलाई गुहार्ने? एकदमै समस्या छ,’ उनले भने, ‘प्राविधिक र आर्थिक रूपमा यो ठाउँमा ब्लड बैंक राख्न कठिनाइ होला तर एउटा ब्लड बैंक अनिवार्य छ। यसतर्फ राज्यले ध्यान दिन जरुरी छ।’ 

जिल्ला अस्पतालमा आउने बिरामीका लागि आकस्मिक रूपमा चाहिने रगत जुटाउनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले २०७२ साल जेठमा २८६ जना रक्तदाताको ब्लड ग्रुप र सम्पर्क नम्बरसहितको सूची तयार पारेको थियो। तर, हाल २५÷२६ जनाले मात्र नियमित रगत दिन तयार हुने गरेको रेडक्रसले जनाएको छ। पटकपटक रगत दिन अस्पताल पुगेर क्रस मेचिङ गरेर बस्दा पनि रगत नदिई फर्कनुपर्दा कतिपय सूचीकृत रक्तदाता दोहो¥याएर अस्पताल जान हिचकिचाउने गरेको रेडक्रसका उपमन्त्री छत्र बजिमयले बताए। ‘ब्लड बैंक नहुँदा बिरामीले अत्यन्तै कष्ट भोग्न बाध्य छन्,’ उनले भने, ‘ब्लड बैंक स्थापनाका लागि रेडक्रसका तर्फबाट पहल जारी छ।’

ब्लड बैंकको अभावमा बिरामीका लागि दाताबाटै रगत जुटाउने गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए। केसीका अनुसार अधिकांश रगत नेपाली सेना, सशस्त्र प्रहरी जवानबाट जुटाउने गरिएको छ। ‘पब्लिकबाट रगत अलि कम पाइन्छ,’ उनले भने, ‘हामी पनि सेना र सशस्त्र प्रहरी जवानमै निर्भर छौं।’ ब्लड बैंक स्थापनामा रेडक्रसले अगुवाइ गर्नुपर्ने डा. केसीले बताए।

ब्लड बैंक भवन शिलान्यास 
खोटाङमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को भवन शिलान्यास गरिएको छ। जिल्लामा रगतको अभाव परिपूर्तिका लागि शुक्रबार ब्लड बैंकको शिलान्यास गरिएको हो। जिल्ला अस्पतालको परिसरमा निर्माण गरिने भवनको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले शिलाान्यास गरे। प्रसूति गराउने महिला, ठूला दुर्घटनामा परेका घाइते तथा ठूला र जटिल अपरेसन गर्नुपर्ने बिरामीका लागि आवश्यक रगत व्यवस्था गर्न रक्तसञ्चार केन्द्र भवनको निर्माण गर्न लागिएको हो। 
नगरपालिकाकै बजेट र प्राविधिक सहयोगमा दुई वर्षभित्र रक्तसञ्चार केन्द्रको भवन निर्माण हुनेछ। ब्लड बैंक निर्माण भएपछि जिल्लावासीले रगत अभावका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने जिल्ला अस्पताल खोटाङका प्रमुख डा. केसीले बताए।

प्रकाशित: १८ चैत्र २०७४ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App