८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारमा जान फोरमलाई अन्योल

काठमाडौं – लिखित सहमति गरेर सरकारमा जाने सर्त राखेका  फोरमका नेताहरू सरकारले लिखित सहमति गर्न हिच्किचाएपछि  अप्ठेरोमा परेका छन्।

विगत १५ दिनदेखि सरकार र फोमरमका नेताबीच संवाद हुन सकेको छैन। प्रधानमन्त्रीले चैत २ गते मन्त्रिमण्डल विस्तार गरेयता सरकार र फोरमका नेताबीच छलफल हुन नसकेको फोरम नेताहरूले जनाएका छन् । संविधान संशोधनमा लिखित सहमति नभएकै  कारण पार्टी सरकारमा नगएको फोरमका नेताहरू बताउँछन्।  सरकारले भने फोरमका लागि मन्त्रालय खाली गरेको जनाएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘हामीले फोरमका लागि मन्त्रालय खाली राखेका छौं। अब कहिलेसम्म खाली राख्ने?’ फोरमका नेताहरू आफ्नै कारणले सरकारमा नआएको उनले दाबबी गरे। यता  फोरम नेपालका महासचिव रामसहाय यादवले सरकार र फोरम नेपालबीच संविधान संशोधन गर्ने प्रतिबद्धतामा लिखित सहमति नभएका कारण  पार्टी सरकारमा नगएको बताए।  उनले भने, ‘हामीले प्रष्ट रूपमा सरकारसँग संविधान संशोधन गर्ने लिखित सहमति नभएसम्म सरकारमा जान्नांै भनेका छौं।

  • कहिलेसम्म मन्त्रालय खाली राख्ने ? : सरकार
  • लिखित सहमति नभए सरकारमा जाँदैनौं : फोरम

सोही कारण हामी सरकारमा नगएका हौं।’ सरकारले चासो नदिएका कारण सरकार र फोरमबीच वार्ता अघि बढ्न नसकेको पनि उनले गुनासो गरे। सरकारमा जाने  विषयमा सरकारसँग वार्ता गर्न फोरमले राजेन्द्र श्रेष्ठ र रामसाह यादव सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

यसबाहेक पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसँग पटकपटक वार्ता गर्दै आएका छन्। तर चैत २ गतेपछि उपेन्द्र यादवले पनि प्रधानमन्त्रीसँग कुराकानी नगरेको महासचिव यादवले बताए। उपेन्द्र यादव अहिले  गृह जिल्ला सप्तरीमा छन् । उनी सोमबार मात्रै काठमाडौं आउने भएका छन्। फोरमका नेताहरूले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै  सरकारमा जान चाहन्छन यसमा पनि सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ। 

फोरमका नेता शिवजी यादवले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि हामी सरकारमा गयौँ भने भारतको इसारामा फोरम सरकारमा गयो भन्ने सन्देश जनतामा जान्छ। त्यसैेले  प्रधानमन्त्रीको भारत भ्रमणअघि नै सरकारमा जाने हाम्रो चाहना हो।’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले भने फोरमले जुनबेला चाह्यो त्यहीबेला सरकारमा आउनसक्ने बताए। उनले भने, ‘हामीले फोरमलाई पर्खेका हौं।  जुनबेला चाहन्छ, त्यसबेला सरकारमा आउनसक्छ।’ फोरमलाई कहिलेसम्म पर्खन भन्नेबारे पनि छलफल हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘कहिलेसम्म पर्खने भन्ने कुरा पनि आउँछ। अहिले नै यसबबारेमा नबोलौं।’

सरकारले लिखित सहमति नगर्ने 
सल्लाहकार रिमालले सरकारले फोरमसँग लिखित सहमति नगर्ने बताएका छन्। उनले भने, ‘तमसुक गरेर सरकारमा आउने भन्ने हुँदैन। सरकारले तमसुक गर्दैन।’ लिखित सहमति गर्नुपर्ने फोरमको कुरामा आफूलाई जानकारी नभएको पनि उनले बताए। उनले भने, ‘हामीले फोरमसँग सद्भाव राखेर सरकारमा बोलाएका छौँ। लिखित सहमति गर्ने भन्ने कुरामा मलाई थाहा छैन।’ यता फोरमका नेताहरूले फोरमलाई दिन छुट्टयाइएको सहरी विकास तथा खानेपानी मन्त्रालयलाई फुटाएर खानेपानी मन्त्रालयलाई अलग बनाएकोमा सरकारसँग गुनासो गरेका छन। यसैगरी फोरमका लागि छुट्टयाएको अर्को मन्त्रालय स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीलाई विभागीय मन्त्री  सरहको जिम्मेवारी दिएकोमा पनि दुःखेसो पोखेका छन्। फोरमका नेता शिवजी यादवले भने, ‘हाम्रा लागि छुट्टयाइएको सहरी विकास मन्त्रालयबाट खानेपानी मन्त्रालय अलग बनाइयो। स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्रीलाई फूल मन्त्रीको जिम्मेवारी दिइएको छ। यसबाट हामी सशंकित भएका छौ।’

फोरमले सरकारमा जाने निर्णय यसअघि नै गरीसकेको छ। सरकारमा जाने निर्णय गरीसकेको पार्टी न  निर्णयबाट पछि हट्न सकेको छ  न  सरकारमा जान सकेको छ। पार्टीका नेताहरूले एउटा कुरामा प्रष्ट हुन पार्टी नेतृत्वलाई दबाब दिएका छन्। पार्टीका एक नेताले भने, ‘कि   हामी प्रतिपक्षमा बस्नुप-यो। कि  पार्टी सरकारमा जानु प-यो। यस्तो स्थिति कहिलेसम्म  पर्खने?’

प्रकाशित: १८ चैत्र २०७४ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App