जनताका स्मरणमा खड्का

‘विकासप्रेमी अभिभावक गुमायौँ’

आइतबार, १८ चैत २०७४, ०७ : २८ देवेन्द्र बस्नेत

दाङ – ‘सम्मानित सर्वोच्च अदालतसामु हाजिर हुन आएको छु र म जेल जाँदैछु,’ भ्रष्टाचार अभियोगमा जेल जानुअघि खुमबहादुर खड्काले सर्वसाधारणलाई भनेका थिए, ‘तर, मलाई भोलिका दिनले याद गर्नेछन्।’ आफू यातायातमन्त्री छँदा सडक पूर्वाधार विकासमा गरेको योगदानको फेहरिस्त सुनाउँदै उनले भनेका थिए, ‘छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख, सल्यान–मुसीकोट, कटारी–ओखलढुंगालगायत सडकको विकासले मेरो याद गराइरहनेछ।’

विकाका लागि सधैं समर्पित रहेका नेता खड्काको शुक्रबार निधनभएसँगै  उनलाई जनताले विकासप्रमी नेताका रूपमा स्मरण त गरिरहेकै छन् तर   अभावको महसुस सबैभन्दा बढी उनको गृहजिल्ला दाङले गरिरहेको छ।

घोराही उपमहानगरपालिका ५ धर्ना गाउँमा गत मंसिरमा चुनावी प्रचार गर्न पुगेका कांग्रेसका प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेतलाई एक वृद्ध मतदाताले भनेकी थिइन्, ‘खुमबहादुरजस्तै नेता बन्नु ।’ बस्नेतले जवाफ दिएका थिए, ‘म पनि खुमबहादुर दाइकै कार्यकर्ता हुँ, उहाँजस्तै नेता बन्ने संकल्प गरेको छु।’ 

धर्नाकी ती महिलाले खुमबहादुर खड्काको नाम जोडेर बस्नेतलाई दिएको आशिर्वादकाा दुई महत्वपूर्ण कारण थिए । पहिलो, खुमबहादुरले धर्नामा गरेको अपत्यारिलो विकास। दोस्रो, उनले कार्यकर्तालाई कहिल्यै बिर्सन जानेनन्। ‘उहाँ आएपछि हामीहरू सबैलाई चिनिहाल्नु हुन्छ,’ ती महिलाले भनिन्, ‘उहाँ धर्नाका लागि त भगवानसरह नै हो।’

बबई नदीपारिको धर्ना गाउँका लागि बबई नदी जहिल्यै अभिसाप बन्दै आयो। पुलविहीन बबई वारपार गर्ने एउटामात्रै साधन थियो डुंगा। नदीमा डुंगा नघोप्टिएको कुनै बर्खा नै रहेनन्। बर्सेनि एकदुईजनाले बबईमा देहत्याग गर्नुपर्ने कहालीलाग्दो अवस्थाबाट धर्नावासी गुज्रँदै आएका थिए। उनै खड्का धर्ना गाउँलेका लागि संरक्षणकर्ता बनिदिए। बबईमा पक्की पुल निर्माण गराइदिएका खड्का धर्नावासीका नजरमा सधैंका  लागि विकासप्रेमी नेता बनिदिए। ‘प्रत्येक बर्खामा एकदुईजना बबईमा बग्दै आएका थिए,’ स्थानीय विष्णुमणि दाहालले भने, ‘नेता (खुमबहादुर) ज्यूले पुल हालिदिएपछि हामी जोगियौं।’ धर्नामा सडक सञ्जाल पु¥याउने खुमबहादुरको गुणलाई स्थानीयले भुलेका छैनन्। पैदल हिंडेर सदरमुकाम घोराही आउन बाध्य धर्नावासीलाई यातायात सेवाको अनुभूति पनि उनैले दिलाएका थिए। विद्युत्, खानेपानीलगायत विकासका महत्वपूर्ण पूर्वाधार व्यवस्थापन गरिदिएका खड्का धर्नावासीका लागि विकासका ‘पर्याय’ भनेर चिनिँदै आए। खड्का शुक्रबार सधैंका लागि अस्ताए। ‘यातायातमन्त्री हुँदा उहाँले गरिदिएको विकास हामीहरूका लागि कहिल्यै बिर्सन नसक्ने गुण सावित भइदियो,’ दाहाल भन्छन्, ‘धर्नाका लागि उहाँजस्तो विकासप्रेमी नेता अब सायद जन्मिने छैनन्।’ धर्ना गाउँ खड्काको जन्मथलो हो । यो गाउँ उनको निधनका कारण शोकमा डुबेको छ। स्थानीय सुरवीर ओली खड्काका छिमेकी मात्रै थिएनन्, उनका संरक्षककै भूमिकामा रहँदै आए। बाल्यकालमा खड्काको स्याहारसुसार गरेका ओलीले खड्काको निधन भएको शनिबारमात्रै थाहा पाए। खबर सुन्नासाथ उनले मन थाम्न सकेनन्। आँसु झार्दै भने, ‘भेट्न आउँछु भन्थे, अब कहिल्यै नआउने गरी गएछन्।’ स्थानीय प्रेमा ओली खड्कालाई भूमिगत भएका बेला  खाना पु¥याइदिन जंगलसम्मै पुग्थिन् । ‘कसैले देख्ला र मार्ला भन्ने डरले लुकेर जंगलमा खाना लगिदिन्थे,’ उनले भावुक हुँदै भनिन्, ‘त्यस्तो भगवानजस्तो मान्छे पनि मर्दा रैछन्।’  

धर्नामा मात्रै हैन, जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पु¥याएका खड्काको निधनले विकासका धरोहर नै ढलेको आभास दंगालीले गरेका छन् । खड्का जहिल्यै मुलुक परिवर्तनको सपना देख्थे। अनि विकास र परिवर्तनकै लागि लड्न आफ्ना कार्यकर्तालाई ऊर्जा प्रदान गर्ने हक्की नेता थिए उनी। ‘उहाँ विकासको पर्याय हो, खुमबहादुरबिना दाङ विकासको परिकल्पनासम्म गर्न सकिँदैनथ्यो,’ कांग्रेसका पुराना नेता वीरकेशरी गौतम सम्झन्छन्, ‘अहिले दाङमा कालोपत्रे भएका सबै सडक उहाँले नै खोलेका ट्रयाक हुन्।’ 

२०४१ मा ९ महिना खुमबहादुरसँगै जेल बसेका गौतमले जेलमै खड्काले गरेको विकास चिन्तन सम्झेर अचम्म मान्छन्। गिरिजाप्रसाद कोइरालाको दाङ आउने कार्यक्रम तय भएको थियो। खड्का, गौतमलगायत कार्यकर्ता कोेइरालाको कार्यक्रमका लागि अनुमति माग्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए। तर, प्रशासनले उनीहरूलाई नियन्त्रणमा लियो। ९ महिनासम्म उनीहरू जेल बसे। ‘उहाँले जेलमा जहिल्यै बहुदल पुनसर््थापनाको चिन्ता मात्रै गर्नुहुन्थ्यो,’ गौतम सम्झन्छन्। 

२०२३ देखि कांग्रेस राजनीतिमा प्रवेश गरेका खड्का प्रजातान्त्रिक विचार राख्ने समूह (डिएसआइएल) मा सक्रिय बने। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनाका क्रममा खड्का र उनका सहयात्री राजेन्द्रबहादुर शाह दुईजना काठमाडौं पुगेका थिए। दुई दिन पैदल हिँडेर भारतीय सीमा नाका कोइलावासबाट भारतीय बाटो प्रयोग गर्दै उनीहरू चार दिनमा काठमाडौं पुगेका थिए। नेविसंघ महाधिवेशनमा सहभागी हुनु खड्काका लागि राजनीतिक ऊर्जा बन्यो। यो ऊर्जाले राजनीतिमा निकै सक्रिय बनेका खड्काले त्यही वर्षको पुस १ गते पञ्चायतविरुद्ध कालोझन्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए। पञ्चकै कार्यक्रममा बिपी कोइराला, गणेशमान सिंह जिन्दावाद भन्दै नाराबाजी गर्ने खड्कालगायतले पञ्चको कार्यक्रमस्थलको मञ्च भत्काइदिए। एक दर्जन युवा पक्राउ परे। तर, खड्का भागे। उनलाई पक्राउ पुर्जी जारी गरियो। त्यसबेला बलदेव शर्मा मजगैयाँलगायत युवा जेल परे।   प्रहरीको वान्टेड सूचीमा परेपछि उनी सीधै भारतको बनारस हानिए। बनारसबाटै उनले दाङमा संगठन निर्माण अभियानलाई जारी नै राखे। बनारसमा अध्ययनका क्रममा प्रदीप गिरीसँग उनको झगडा भयो। प्रहरीले त्यो बेला उनलाई समात्यो। 

२०२८ मा भारतको बलरामपुरमा दुई दर्जन नेता भेला भएर कांग्रेस दाङको जिल्ला कार्य समिति गठन भयो। उनी त्यो बेला पार्टीका जिल्ला सभापति भए। उनी करिब तीन वर्ष अध्यक्ष भए। भूमिगत रूपमा उनी संगठन निर्माणका लागि सल्यान, प्यूठान, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दैलेखलगायत जिल्लामा सक्रिय बने।  २०३५ सालमा भारतको पटनामा सम्मेलन गराएर बिपी कोइरालाले उनलाई केन्द्रीय समितिमा राखे । तर, त्यो आधिकारिक केन्द्रीय समिति थिएन। त्यसैले पार्टीको आधिकारिक दस्ताबेजमा योे विषय उल्लेख छैन। २०३८ सालमा बिपीले पाँचवटा विकास क्षेत्रका एक–एकजना क्षेत्रीय संयोजक तोके।

मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजकको जिम्मेवारी खड्काले पाए। सुदूरपश्चिमको शेरबहादुर देउवा, पश्चिमाञ्चलको रामचन्द्र पौडेल, मध्यमाञ्चलको शेष इद्रिस र पूर्वाञ्चलको शैलजा आचार्यले जिम्मेवारी पाए। कृष्णप्रसाद भट्टराईले २०४१ सालको अन्तिममा २०४२ सालको सत्याग्रहभन्दा पहिले २५ सदस्यीय केन्द्रीय समिति गठन गरे। त्यो समितिमा खड्का पनि अटाएका थिए। त्यसबेलादेखि उनी निरन्तर केन्द्रीय समितिमा रहँदै आए। २०५९ असारमा पार्टी फुटेर नेपाली कांग्रेस ‘प्रजातान्त्रिक’ बनेपछि त्यसको महामन्त्री बने उनी। २०४८ सालको आमनिर्वाचनपछि गठन भएको सरकारमा उनी निर्माण तथा यातायात मन्त्री बने। २०५१ सालको मध्यावधि निर्वाचनपछि नौ महिना एमालेको अल्पमतको सरकार बन्यो। त्यसपछि २०५२ भदौदेखि २०५३ फागुनसम्म उनी गृहमन्त्री भएका थिए।

२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि गृह र स्थानीय विकासमन्त्री बनेका थिए। त्यसपछि २०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। खड्कालाई आपूर्ति र वन मन्त्रालयको जिम्मेवारी दिइयो। पाँच÷छ दिनपछि नै खड्काले राजीनामा दिए। त्यसयता बनेका पटकपटकका सरकारमा खड्का मन्त्री बन्दै आएका थिए। 

२०५९ असोज १८ गते राजाले ‘कु’ गरे। त्यसको तीन दिनपछि २१ गते खड्कालाई अख्तियारले पुर्जी दियो। अढाई महिना अख्तियारको हिरासत बसे खड्का। बक्राह सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भन्दै मुद्दा चलाइयो। '

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनले साढे आठ वर्ष जेल सजाय भोगेका थिए। मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्केका बिपीसँगै खड्का पनि थिए। बिपी, गणेशमानसँगै २०३३ सालमा स्वदेश फर्केपछि उनी जेल परे। साढे तीन वर्ष जेल बसेपछि जनमतसंग्रहका क्रममा आममाफी भयो। जनमत संग्रहपछि पनि पाँच वर्ष जेल बसे उनी। सात वर्ष निर्वासनमा समेत बसेका उनलाई त्यतिबेला राजकाज तीनवटा, डाँका दुईवटा, चोरी चारवटा, हातहतियार दुईवटा र सार्वजनिक अपराध चारवटा गरी १५ वटा मुद्दा लगाइएको थियो। डाँका र चोरी मुद्दाको जिल्ला तथा अञ्चल अदालतबाटै टुंगो लाग्यो, तर राजकाज र सार्वजनिक अपराधको मुद्दामा भने लामो समय थुनिए।

२०३७ वैशाख १ गते ‘जनमतसंग्रह’ का क्रममा आममाफी हुँदा पनि खड्कालाई भने १७ महिना थप थुनियो। २०४२ सालको सत्याग्रहपछि थुनामा रहेका अन्य उनका सहकर्मी पाँच महिनापछि छुटे।  तर, उनलाई २२ महिनासम्म थुनामै राखियो। २०३३ सालमा स्वदेश फर्केपछि बिपी र गणेशमानजी अन्यत्रै लगियो। खड्का, शैलजा आचार्य, निलाम्बर आचार्य र रामबाबु प्रसाईंलाई एयरपोर्टबाटै गिरफ्तार गरेर हनुमानढोका लगिएको थियो।  तीन महिना नख्खु जेलमा राखेपछि भद्रगोल जेल चलान गरियो । भद्रगोलबाट बयान गराउन दाङ जेलमा ल्याइएको थियो। बयान गराएपछि फेरि सेन्ट्रल जेलमा पु-याइयो। क्याप्टेन यज्ञबहादुर थापालाई फाँसी दिने तयारीपछि कांग्रेसजति सबैलाई नख्खु कारागार सारियो। जनमतसंग्रहपछिको साढे पाँच वर्ष दाङको घोराही जेल, तुलसीपुर जेल र नख्खु जेलमा बसे खड्का। २०४६ सालको आन्दोलनमा तुलसीपुर जेलमा रहेका उनी २०४६ सालको आन्दोलन सफल भएको एक सातापछि मात्रै छुटेका थिए। उनलाई भालुवाङको पुल तोड्न लागेको आरोपसहित जेलमा राखिएको थियो। 

भारतबाटै दाङ कांग्रेसको डिजाइनकर्ता खड्का दाङ कांग्रेसको राजनीतिमा जहिल्यै पनि सर्वमान्य नेता भए। विभिन्न गुटमा विभाजित यहाँका कांग्रेसीका लागि खड्का भने सधैं पहिलो निर्णयकर्ता बन्दै आए। डेढ वर्ष जेल सजाय पूरा गरेर भ्रष्टाचार अभियोग कटाएका खड्कालाई यो अभियोगले केही आलोचित बनायो। सजाय पूरा गरेर जेलबाट बाहिरिएपछि उनी केन्द्रमा बसेर कांग्रेसको राजनीतिमा निर्णायक बने तर उनी जिल्ला दौडाहामा निस्केनन्। पछिल्लो संविधानसभा निर्वाचनको मुखैमा जेलबाट निस्केका खड्का त्यो चुनावमा पनि जिल्ला दौडाहामा आएनन्। कारण थियो उनको स्वास्थ्य। तर, निर्वाचनमा समेत जिल्लामा नआउनुलाई केहीले उनको आलोचनासमेत गरे। अहिलेको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार चयनमा पनि उनै खड्का हाबी भए। हक्की नेता खड्काबाट दाङवासीले पछिल्लो समयमा नयाँ अपेक्षा राखेका थिए। त्यो थियो प्रादेशिक राजधानी दाङ। तत्कालीन शेरबहादुर देउवाले प्रदेश ५ को राजधानी अन्यत्रै तोकेपछि रुष्ट बनेका खड्काले देउवालाई फोन गरेरै यो निर्णयले राम्रो नहुने चेतावनी दिएका थिए। खड्काको यो दबाबले दंगालीलाई स्थायी राजधानीको आशा बढाइदिएको थियो। उनले राजधानीकै विषयमा यहाँबाट निर्वाचित कृष्णबहादुर महरा, शंकर पोख्रेलसँग पटक–पटक छलफलसमेत गरेका थिए। शुक्रबार अस्त भएका खड्काले यो मिसनमा भने असफल भएका थिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad