coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन क्षेत्र फर्केर मन्त्री मगरले भनिन– वाचा पूरा गर्छु

कञ्चनपुर– खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले कञ्चनपुरका मतदाता र ७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्ने बताएकी छन्।

आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै सरकारमा गएकाले खानेपानी मन्त्रालयबाट हुने राम्रा कामको श्रेय समग्र प्रदेशले पाउने बताइन। मन्त्रालय महिला दिदीबहिनीसंग प्रत्यक्ष जोडिएकाले खानेपानीका लागि धेरै समय खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्ने उनले सुनाइन।

‘खानेपानी मन्त्रालयलाई हेर्ने राज्यको विगतको दृष्टिकोणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले भनिन, ‘सरकारको आगामी नीतिमा खानेपानीलाई प्राथमिकतामा राख्ने गरि पहल गर्छु।’ हाल खानेपानी पुगेका ठाउँमा आधारभुत खानेपानी मात्रै पुगेको बताउदै उनले सबै नेपालीलाई शुद्ध र स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताइन। काठमाडौवासीलाई खानेपानी सुविधा दिन सकिने गरि मेलम्ची आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न निरन्तर लागिरहेको उनले बताइन।

चुनाव प्रचारका क्रममा निर्वाचन क्षेत्रमा गरेका वाचा पूरा गराउन प्रतिवद्ध रहेको बताउदै उनले विभिन्न निकायमा प्रारम्भिक छलफल भएको जानकारी गराइन। ‘सीमा समस्या, हुलाकी सडकमा ढिलासुस्ती, नदी कटान लगायतका समस्या समाधानका लागि काठमाडौ फर्केपछि थप छलफल गर्छु’, उनले भनिन।

मन्त्री भएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा आएकी उनी सहिद गेटमा स्वागत, पुनर्वास र बेलौरी उद्योग वाणिज्य संघको बधाई, पुनर्वासमा विद्युत बिलिङ काउन्टरको उद्घाटन, आफू पढेको पुनर्वास जनता माविको सम्मान कार्यक्रम, श्रीपुर खानेपानीको सम्मान लगायतका कार्यक्रममा सहभागी भएका छन्। उनले बेलौरी बजारमा रहेको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण समेत गरेकी छिन्। निर्वाचन क्षेत्रमा मन्त्री मगरको भव्य स्वागत गरिएको छ। उनकै पहलमा भोलि पुनर्वासमा पाठेघर र स्तन क्यान्सरको जाच शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १७ चैत्र २०७४ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App