coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खेलाडीबीच कुटाकुट हुँदा फाइनल खेल स्थगित

सर्लाही– सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबारको फाइनल खेल खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण स्थगित भएको छ। 

नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीचको फाइनल खेल अर्को सूचना नआएसम्म स्थगित गरिएको आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। 

मध्यान्तर पछिको २२औं मिनेटमा सुदूरपश्चिमका ११ नं. जर्सीका अफ्रिकन खेलाडी एरोनालाई फिफा रेफ्रि सुदिस कुमार पाण्डेले रेडकार्ड देखाएपछि सूरु भएको विवादका क्रममा खेलाडीबीच नै कुटाकुट भएको थियो। लगतै उपस्थित अधिकांश दर्शक समेत मैदानमा छिरेर आर्मीका खेलाडीलाई कुटेका थिए। 

आयोजक समितिका स्वयंसेवक र सुरक्षाकर्मीले मैदानबाट भिड तितरवितर पारेर आधाघण्टा पछि आर्मीका खेलाडी मैदानभित्र छिर्ने बितिकै रेफ्रि पाण्डेले आर्मीका १ नं. जर्सीका गोलकिपर विकास कुथु, २७ नं. का विकास तामाङ र ३२ नम्बरका दिपक गुरुङलाई रेडकार्ड देखाएका थिए। लगतै आर्मीका कप्तान भरत खबाससहितका खेलाडी कल गर्नका लागि रेफ्रितर्फ बढ्दै गर्दा आयोजक समितिका पदाधिकारी मैदानभित्रै छिरेर रोक्न खोजेपछि आर्मीका खेलाडी र आयोजक समितिका पदाधिकारी बीच नै भनाभन भएको थियो। त्यसपछि आर्मीका खेलाडी मैदान छाडेर हिँडे भने मैदान भित्रै रहेका सुदूरपश्चिमका खेलाडीलाई बोक्दै दर्शकले हिपहिप हुर्रेको नारा लगाएका थिए।

उपाधिका लागि नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीच शनिबार फाईनल भिडन्त हुँदैछ। 

आर्मीका प्रशिक्षक नविन न्यौपानले रातो कार्ड खाईसकेका सुदूरपश्चिमका खेलाडीलाई रेफ्रिले बाहिर ननिकाल्दा समस्या बढेको बताए। ‘रेडकार्ड खाइसकेको खेलाडीलाई रेफ्रिले बाहिर ननिकाल्दा उसैले हाम्रा केटाहरुमाथि हात हालेपछि दुवैतर्फबाट कुटाकुट भएको हो’, उनले भने, ‘आयोजक समितिको कमजोरी एवं सुरक्षा स्थितीका कारण  खेल्न नसक्ने भएपछि हामीले मैदान छाडेका हौं।’ हाम्रा तीन खेलाडीलाई एकसाथ रेडकार्ड देखाईएपछि कल गर्न जाँदा मैदान छिरेर आयोजकले दुर्व्यवहार गर्दा यो अवस्था आएको न्यौपानेले दाबी गरे। ‘हाम्रा खेलाडीलाई पनि सुदूरपश्चिमका खेलाडीहरुले कुटेका छन्, तर उनीहरुलाई चाँही खै त रेडकार्ड ?’, न्यौपानेले भने।

विवाद अगाडि सुदूरपश्चिमको तर्फबाट २ र आर्मीको १ गोल रहेको थियो। यता सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमाल भने खेल आफूले जितेको दाबी गर्छन्। ‘आर्मीले मैदान छाडेर हिँडेपछि खेल हाँमीले जितिसक्यौं’, उनले भने, ‘अब हाँमी त्यही गेम खेलाइए सहभागी हुँदैनौ।’ रेडकार्ड पाइसकेको आफ्ना खेलाडीलाई आर्मीका खेलाडीले कुट्दा यस्तो अवस्था आएको उनको दाबी छ।

रेडकार्ड पाइसकेको सुदूरपश्चिमका खेलाडीलाई सबै खेलाडी मिलेर मैदानभित्रै कुटिएपछि आर्मीका ३ जना खेलाडीलाई रेडकार्ड दिईएको रेफ्रि पाण्डेले जानकारी दिए।

प्रतियोगितामा आर्मी सर्लाही–११ र सरस्वती युवा क्लब काठमाडौंलाई हराउँदै फाइनल पुगेको थियो भने सुदूरपश्चिम जावलाखेल क्लब ललितपुर र ब्वाईज युनियन काठमाडौंलाई पराजित गर्दै उपाधीको होडमा पुगेको थियो। 

५ लाख नगद सहित सुन र चाँदी समेत प्रयोग गरेर ४ लाख रुपैंया लागतमा बनाइएको कलात्मक राजर्षि जनक कप प्रतियोगितामा फाइनल पुग्ने आर्मी र सुदूरपश्चिम बाहेक दुईवटा विदेशी टिम भूटानको ड्रूक स्टार र भारतको स्काई क्रेस्ट ब्वाईज मुम्बई क्लब एवं मुलुकका नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरस्वती युवा क्लब, जावलाखेल क्लब, ब्वाईज युनियन र सर्लाही–११ समेतको सहभागिता रहेको थियो।

प्रकाशित: १७ चैत्र २०७४ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App