७ वैशाख २०८१ शुक्रबार
समाज

शुक्लाफाँटामा बाघ गणना सकियो, १६ क्यामेरा चोरिए

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना कार्य सकिएको छ। झण्डै दुई महिनाअघि माघ अन्तिम सातदेखि क्यामेरा ट्रापिङ्ग विधिबाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपालबहादुर घिमिरेले बाघ गणना पुरा भएको जानकारी दिए। शुक्लाफाँटासँगै, लालझाडी र जोगबुढा करिडोरमा बाघ गणना गरिएको हो। ‘गणना कार्य पुरा भएको छ। अहिले फोटो पहिचान (फोटो एनालाइसिस) को काम भइरहेको छ।’ निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले भने।

यस पटक शुक्लाफाँटा–लालझाडी र जोगबुढामा पर्ने शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा ९५ ग्रिड, निकुञ्जको मध्यवर्तीमा १४ ग्रिड, ब्रम्हदेब लालझाठी र जोगबुढा क्षेत्रमा एक सय ५१ ग्रिड गरि कुल २ सय ६० ग्रिड र ५८ ट्रान्जेक्टमा क्यामेरा ट्रापिङ्ग प्रविधिबाट बाघ तथा आहारा प्रजातिको गणना गरिएको हो।  २६० ग्रिड अन्र्तगत कुल ५२० क्यामेरा मार्फत बाघ गणना गरिएको थियो।

उनले एनालाइसिसको काम सुक्ष्म रुपमा गर्नुपर्ने भएकाले करिव डेढ महिनाभित्र मात्रै बाघको कुल तथ्यांक पत्ता लाग्ने बताए। बाघ गणनाका दौरान केही ठाउँबाट क्यामेरा चोरी भएका थिए। उनका अनुसार लालझाडीमा चार जोड, दोमिल्लामा दुई जोड र जोगबुढा क्षेत्रबाट दुई जोड गरि कुल १६ क्यामरा चोरी भएका हुन्।

निकुञ्का निमित्त प्रमुख घिमिरेले गणना कार्यमा ११ समूहमा ९० जनाको जनशक्ति प्रयोग भएका थिए। निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालय चार, जोगबुढा क्षेत्रमा तीन समूह गरि कुल ११ समूहले गणना गरेका हुन्।

‘एक बाघको कुनै पनि भाग अरु बाघसँग मिल्दैन्, ‘उनले भने, ‘शरिरबाटै गणना गर्ने हो।’ कुल पाँच हजार पाँच सय किलोमिटर क्षेत्र भित्र बाघ गणना गरिएको हो। सन १९६० मा बागको पञ्जाको छापबाट बाघ गणना गरिदै आएकोमा पछिल्ला वर्षहरूमा आधुनिक क्यामेराबाट बाघ गणना भइरहेको छ। सन २००९ मा गरेको बाघ सर्वेक्षणमा शुक्लाफाँटामा बाघको संख्या १० थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख अनिल प्रसाईले बाघ संरक्षणका लागि स्थानीयदेखि सरकार प्रमुख जुटेकाले नेपालमा बाघको संख्यामा वृद्धि भइरहेको बताए। शुक्लाफाँटामा बाघको संख्या वृद्धि हुने उनले आशा लिएका छन। शुक्लाफाँटा र आसपासको क्षेत्र संरक्षणका साथै बाघको आहारा बासस्थानका कारण बाघको संख्या वर्षेनी बढ्दै गएको उनले बताए। बाघ गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका साथै विश्व बन्यजन्तु कोष, हरियो बन कार्यक्रम, जिडएसएल नेपालको आर्थिक र प्राविधिक सहयोग रहेको थियो।  

सन् २०१० मा रसियाको सेन्टपिर्सवर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता अनुसार नेपालमा पनि बाघको संख्यामा वृद्धि गराउने प्रयास भइरहेको छ। शुक्लाफाँटामा लक्ष्य भन्दा पहिले नै बाघको संख्या दोब्बर भइसकेको छ। शुक्लाफाँटामा बाघको आहारा प्रजातीको प्रयाप्तताले यसको संख्यामा वृद्धि भएको देखिन्छ। तथ्यांक अनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्गकिलोमटिर आहारा प्रजातीको घनत्व छ।

एक शताब्दीअघि झण्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या पछिल्लो अवस्थामा आइपुग्दा करिव तीन हजार दुई सयको सँख्यामा सिमित भएको बिभिन्न अनुसन्धानहरूले देखाएका छन्। त्यस्तै मानविय क्रियाकलापका कारण बाघका आठ प्रजातीमध्ये तीन प्रजातीहरू बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन्। बाँकी रहेका पाँच प्रजातीहरू आमुर, सुमात्रा, साउथ चाइना, ईण्डो चाइनिज र रोयल बँगाल (पाटे बाघ)को अवस्थापनि दयनीय रहेको बन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका बिभिन्न संघ–संस्थाहरुको तथ्यांकहरूले देखाएको छ।

लोप हुन बाँकी रहेका पाँच प्रजातीका बाघहरू नेपाल, भारत, बंगलादेश, चिन, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्याण्ड र भियतनममा मात्रै सिमित छन्। नेपालमा पाइने पाटे बाघ तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र अन्र्तगतपर्ने पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमात्र पाइने गरेका छन्।

प्रकाशित: १७ चैत्र २०७४ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App