४ वैशाख २०८१ मंगलबार
समाज

आफैं रगत जुटाएर उपचार गर्न बाध्य बिरामी

खोटाङ – डेलीभरीका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाइयो। ब्लड बैंकको व्यवस्था नहुँदा अस्पतालले श्रीमतीका लागि आकस्मिक रुपमा चाहिने रगतका लागि राईलाई रगत दिने दाता खोज्न लगाएको हो।

आवश्यक परेकोबेलामा श्रीमतीलाई आफैले रगत दिने भनेपछि अस्पतालमा बच्चा जन्माउने क्रममा शल्यक्रीयाको प्रकृया अघि बढेको राईले बताए। यस्तै, बच्चा जन्माउनकै लागि जिल्ला अस्पताल दिक्तेलमा भर्ना भएकी केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरकी कोपीला राईलाई रगत दिने दुई जना दाता तयार पार्न भनेपछि आफन्तलाई आपत आइलाग्यो। बच्चा जन्माउनेक्रममा चाहिने रगत दिने आफन्त÷दाता खोजि । अन्तमा रक्तदाता कोही नभेटिएपछि नेपाली सेनालाई गुहारेर कोपीलाका लागि रगत दिने मान्छे जुटाइएको आफन्त बताउँछन्।

यी केही उदाहरण हुन्। ब्लड बैंक नहुँदा जिल्ला अस्पताल खोटाङमा आउने बिरामीलाई रगत चाहिने अवस्थामा आफन्त वा दाताबाट रगत जुटाउने गरिएको छ। ब्लड बैंक अभावमा कतिपय बिरामीलाई उसकै आफन्त वा नेपाली सेना, सशस्त्र प्रहरीका जवान, रेडक्रसमार्फत आवश्यक रगत जुटाउने गरिएको छ। जिल्लामा ब्लड बैंक नहुँदा विशेषगरी सुत्केरी हुन आउने महिला समस्या झेल्न बाध्य छन्। सुत्केरी हुनका लागि आउने महिलालाई बेड भर्ना अगावै दुई जना रक्तदाता तयार पार्न लगाउने गरिएको छ।

सुत्केरी हुने क्रममा ब्लिडिङ भए र आवश्यक परे त्यही दाताबाट रगत झिकेर प्रयोग गरिन्छ, आवश्यक नपरे दातालाई फर्काउने गरिएको छ। अस्पतालले चोटपटक लाग्दा अधिक रक्तश्राव भएका घाईतेका लागि पनि रक्त दाता खोज्न लगाउने गरेको छ। ‘अस्पतालमा रगत दिने मान्छे खोज्न लगाइएको थियो,’ सञ्जीवले भने, ‘तर ब्लड ग्रुप मिलेकाले आफै दिन्छु भनेपछि रगत दिने मान्छे खोज्न परेन।’ केही समयअघि रगत दिने मान्छे नपाउँदा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी रिता राई १५ घण्टासम्म अस्पतालकै बेडमा छट्पटाउन बाध्य भइन्। खोजी गर्दा पनि रगत दिने दाता नपाएपछि रितालाई पत्रकार उजुर राईले एक पाउण्ड रगत दिएका थिए।

१५ शैयाको जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाको विषयमा लामो समयदेखि छलफल र चर्चा हुँदै आएको छ। तर, छलफलले हालसम्म ठोस गति लिन सकेको छैन। सदरमुकाम आसपासका स्थानीयलाई रगत जुटाउन केही सहज भएपनि टाढा–टाढाबाट आएका बिरामीका लागि रगत जुटाउन कठिनाई हुने गरेको रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका भोगेन एक्लेले बताए। ‘बिरामीका आफन्तलाई रगत दिने मान्छे तयार पार्न लगाइन्छ, भन्ने वित्तिकै रगत दिने मान्छे कहाँबाट ठीक पार्ने, कसलाई गुहार्ने ? एकदमै समस्या छ,’ भोगेनले भने, ‘प्राविधिक र आर्थिकरुपमा यो ठाउँमा ब्लड बैंक राख्न कठिनाई होला तर एउटा ब्लड बैंक अनिवार्य छ। यसतर्फ राज्यले ध्यान दिन जरुरी छ।’

जिल्ला अस्पतालमा आउने बिरामीका लागि आकस्मिकरुपमा चाहिने रगत जुटाउनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले २०७२ साल जेठमा २८६ जना रक्तदाताको ब्लड ग्रुप र सम्पर्क नम्बरसहितको सूची तयार पारेको थियो। तर, हाल २५÷२६ जनाले मात्र नियमित रगत दिन तयार हुने गरेको रेडक्रसले जनाएको छ। पटक–पटक रगत दिन अस्पताल पुगेर क्रस मेचिङ गरेर बस्दा पनि रगत नदिइ फर्कनुपर्दा कतिपय सूचीकृत रक्तदाता दोहोर्याएर अस्पताल जान हिचकिचाउने गरेको रेडक्रसका उपमन्त्री छत्र बजिमयले बताए। ‘ब्लड बैंक नहुँदा बिरामीले अत्यान्तै कष्ट भोग्न बाध्य छन्,’ उपमन्त्री बजिमयले भने, ‘ब्लड बैंक स्थापनाका लागि रेडक्रसका तर्फबाट पहल जारी छ।’

ब्लड बैंकको अभावमा बिरामीका लागि दाताबाटै रगत जुटाउने गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए । केसीका अनुसार अधिकांश रगत नेपाली सेना, शसस्त्र प्रहरी जवानबाट जुटाउने गरिएको छ। ‘पब्लिकबाट रगत अलि कम पाइन्छ,’ केसीले भने, ‘हामी पनि सेना र शसस्त्र प्रहरी जवानसँगै निर्भर छौँ ।’ ब्लड बैंक स्थापनामा रेडक्रसले अगुवाई गर्नुपर्ने डा. केसीले बताए।

ब्लड बैंकको भवन शिलान्यास
खोटाङमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को भवन शिलान्यास गरिएको छ। जिल्लामा रगतको अभाव परिपूर्तिका लागि शुक्रबार ब्लड बैंकको शिलान्यास गरिएको हो। जिल्ला अस्पतालको परिसरमा निर्माण गरिने भवन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले शिलाान्यास गरे। प्रसुती गराउने महिला, ठूला दुर्घटनामा परेका घाईते तथा ठूला र जटिल अपरेशन गर्नु पर्ने बिरामीका लागि आवश्यक रगत व्यवस्थाका लागि रक्त सञ्चार केन्द्र भवनको निर्माण गर्न लागिएको हो।

नगरपालिकाकै बजेट र प्राविधिक सहयोगमा दुई वर्षभित्र रक्त सञ्चार केन्द्रको भवन निर्माण सम्पन्न हुने छ। ब्लड बैंक निर्माण भएपछि जिल्लाबासीले रगत अभावका कारण अकालमा ज्यान गुमाउने पर्ने अवश्था नआउने जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए। रक्त सञ्चार केन्द्र नहुँदा जिल्लाबासी आवश्यक परेको बेला रगत अभाव झेल्दै आएको छन्। 

प्रकाशित: १७ चैत्र २०७४ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App