६ वैशाख २०८१ बिहीबार
समाज

ढाका बुनेर मुटुको उपचार गराउँदै शोभा

पालुङटार (गोरखा)- मर्स्याङदी नदीको छेवैमा भएपनि भदौरे घामले धपक्क बलेको पालुङटारको नयाँबजार। यो बजार हुँदै हवाईमैदान तिर आउजाउ गर्दा सडकछेउ बाट दिनहुँजसो आईरहने टक्र्याक्क–टक्र्याक्क आवाजले पैदलयात्रुको ध्यान तान्छ। आवाज पछ्याउँदै हेर्दा भित्तोमा देखिन्छ, ‘मनकामना ढाका उद्योग। ढाका उद्योग सञ्चालन गरिरहेकी छन्, २२ वर्षीया शोभा मगर।

रंगीचंगी धागोको तान जस्तै रंगीन सपनाहरु लाई साकार बनाउन उनी ५ वर्षदेखि ढाकाको कपडा बुनेर आम्दानी गर्दै आएकी छन् । तानमा ढाका बुन्दै आएकी उनको पहिलो सपना हो, ‘मुटु सम्बन्धि विमारको उपचार ।’ लाउँ–लाउँ र खाउँ–खाउँ भन्ने बेलाकी गहुँगोरो वर्णकी हँसिली यी युवती मुटु सम्बन्धि विमारी छन् । मकवानपुरको चित्लाङबाट ५ वर्षअघि नै बाबुआमासँग विदा मागेर कमाई गर्न हिडेकी उनले ढाका बुन्न सीप सिकेर राम्रो आम्दानी गरिन् पनि। पछिल्लो समय आफ्नो कमाई उपचारमै खर्च भएको उनी बताउँछिन् । बिहानदेखि बेलुकी सम्म तानमै व्यस्त रहने शोभा, ढाका बुन्छिन् र त्यसबाट पछ्यौरा, सल, गलवन्दी, चोलो, कुर्ता, सुरुवाल, टोपी, महिलाले बोक्ने व्याग, हातेपर्स र पकेट पर्स बनाएर बिक्री गर्छिन्।

ढाकाबाट बनाईएका कपडा तथा सामानको बिक्री राम्रो छ । १ देखि ५ सय रुपयाँ सम्मका ढाकाटोपी, हातेपर्स र पकेट पर्स देखि १२ सय पर्ने सल, चोलो, दौरा, सुरुवाल सम्म उनको पसलबाट बिक्री हुने गर्दछ। ढाका बुनाई र सामान बिक्री वितरण गरि दैनिक औसतमा १ हजार ५ सय रुपैयाँ सजिलै आम्दानी हुने शोभा बताउँछिन्। पालुङटार, ठाँटीपोखरी, खरीबोट, मस्र्याङ्दी पारी तनहुँको तुरतुरेबजार र त्यस आसपासका ग्राहकले उनले उत्पादन गरेका सामानहरु खरिद गर्छन् । मासिक ५० देखि ६० हजार रुपैयाँको कारोबार हुनेमा आफ्नो मेहनत र सीप बढी खर्च हुने भएकाले ३५ देखि ४० हजार रुपैयाँ बचत गर्न सक्ने उनको भनाई छ। शोभाका अनुसार धागो, जरी, सितारा लगायतका सामान, घरभाड र एक्लो ज्यानको खानपान नै उनको मुख्य खर्च हो । मासिक झण्डै १० देखि १५ हजार रुपैयाँ भए उनलाई खर्च पुग्छ । ५ वर्षदेखि यही व्यवसाय गर्दै आएकी उनले बचत पनि राम्रै गरेको उनले बताईन्। 

५ वर्षअघि गोरखा बजारबाट ढाका बुन्ने सीप सिकेकी उनले ३ महिने आधारभूत र थप २ महिने एड्भान्स प्रशिक्षण पनि गराउँछिन्। प्रायजसो घरेलु कार्यालयले गराउने त्यस्ता प्रशिक्षणका अवधिमा दैनिक १ हजार रुपैयाँ आम्दानी हुने पनि उनले बताईन् । प्रशिक्षण गराउनकै लागि उनी गोरखा, लमजुङ, तनहुँ, काभ्रे, पर्वत, म्याग्दी लगायतका जिल्लासम्म पुगेकी छन् । लगातारको मेहनत र परिश्रमकै कारण आफ्नो लागि २/४ हजार रुपैयाँका लागि कसैको मुख ताक्नु नपरेको उनी बताउँछिन् । ‘हातमा सीप छ, जिउँदो जाँगर मारेर बस्न मन लाग्दैन,’ उनले भनिन्, ‘हात बाँधेर नबसेपछि खाना लाउनलाई के दुःख हुन्छ र ?’

कमाई गरेर आफ्नो दैनिक खर्च र व्यवसाय चलाउनुको साथै मकवानपुर चित्लाङ ९ विसिङखेलमा रहेका आमाबाबालाई पनि हेर्दै आएकी उनलाई केही महिना अघि मुटु सम्बन्धि विमार लागेको उनले बताईन्। काठमाडौंको शहिद गंगालाल अस्पतालमा परिक्षण गराएर उपचार गराई अहिले औषधी सेवन गर्दैछिन्। सुरुमा डेढलाख रुपैयाँ खर्च भएको र त्यसपछि औषधी उपचार, बाटोखर्च आदि स–साना खर्च भईरहेको छ। उपचारमा पनि आफ्नै पाखुराको कमाई खर्च भएको उनले बताईन् । आफुले बेलैमा सीप नसिकेको भए र गरेको कमाई बचत नगरेको भए आफुलाई निकै समस्या पर्ने उनी बताउँछिन् । परिवारको आर्थिक अवस्था पनि खासै राम्रो नभएकाले आफ्नो कमाई नभएको भए उपचारका लागि पैसा ऋणधन नै गर्नुपर्ने वाध्यता परिवारमा थपिने उनको भनाई छ । आफु मुटु विमारी भएपनि हिम्मत नहारीकन आफ्नो काममा लागि रहेको र कमाई गर्न सक्छु भन्ने विश्वास आफुबाट कहिल्यै नहट्ने शोभाको भनाई छ।

 

प्रकाशित: ७ भाद्र २०७३ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App