१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

संगीतबाट समाज बदल्ने सपना

हाम्रो समाजमा गीत–संगीत क्षेत्रमा लाग्ने महिलालाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन। गला र कला भएका कतिपय महिला अझै पनि नेपाली समाजको पुरातन सोच चिरेर बाहिर निस्कन सकिरहेका छैनन्।

महिलाको उपस्थिति पुरानै हो, नेपाली संगीत इतिहासमा। यति हुँदाहुँदै पनि महिलाको छुट्टै सांगीतिक ब्यान्ड खोलेर अघि बढ्नु कम्ता चुनौतीपूर्ण थिएन। राजधानीका केही युवतीले भने त्यो आँट पनि गरे, एक हदसम्म सफल भए। सांगीतिक ब्यान्डमा पुरुषको वर्चस्व रहेका बेला त्यसलाई चुनौती दिन उत्रिएका उनीहरूले खोले– दिदीबहिनी ब्यान्ड। दिदीबहिनी ब्यान्डको विशेषता भनेकै यसका सदस्य महिला मात्र हुनु हो।

संगीत क्षेत्रको पुरुष सत्तालाई चुनौती दिँदै खडा भएको त्यही दिदीबहिनी ब्यान्डकी सदस्य हुन्, वनस्थलीकी मनु शाही (२६)। उनी संगीतकी विद्यार्थी हुन्। शाही गितार र सरोद बजाउँछिन्। कक्षा ८ मा पढ्दै गर्दा मनुलाई संगीत पढ्ने ठूलो इच्छा जाग्यो। उनले संगीतलाई नै जीवनको लक्ष्य सोच्न थालिन््। सानो हुँदा संगीत पढ्न, काम गर्न र संगीतमा अघि बढ्न निकै सजिलो होला भन्ने सोचेकी मनु संगीतमा जति डुब्यो, उति गहिराइमा पुगेको बताउँछिन्। ‘संगीत पढ्छु, संगीतमै भविष्य बनाउँछु भन्दा घरमा मान्नुभएको थिएन, संगीत नै पढाउँछु, मलाई संगीत पढ्न दिनु भनेपछि मान्नुभएको हो,’ उनी भन्छिन्, ‘नेपालमा संगीतमा भविष्य बन्दैन, के गछ्र्यौ म्युजिक पढेर ? भन्ने प्रश्न त कति सुनेँ सुनेँ।’ 

महिलाको उपस्थिति पुरानै हो, नेपाली संगीत इतिहासमा। यति हुँदाहुँदै पनि महिलाको छुट्टै सांगीतिक ब्यान्ड खोलेर अघि बढ्नु कम्ता चुनौतीपूर्ण थिएन। राजधानीका केही युवतीले भने त्यो आँट पनि गरे र एक हदसम्म सफल भए। सांगीतिक ब्यान्डमा पुरुषको वर्चस्व रहेका बेला त्यसलाई चुनौती दिन उत्रिएका उनीहरूले खोले– दिदीबहिनी ब्यान्ड । दिदीबहिनी ब्यान्डको विशेषता भनेकै यसका सदस्य महिला मात्र हुनु हो।

गीत पढ्दै गर्दा आफ्ना पिताले व्यवस्थापन पढ्न निकै जोड दिएको उनी सम्झिन्छन्। अचेल भने परिवारले आफ्नो संगीतप्रतिको लगाव बुझेको उनी बताउँछिन्। संगीत क्षेत्रमा हुनुपर्ने अनुशासन नभएको उनको अनुभव छ। संगीतमा जति आफू हरायो, उति नै नयाँ लाग्छ उनलाई। उनी भन्छिन्, ‘संगीत क्षेत्रमा लाग्न र यसैमा भविष्य बनाउन निकै धैर्य, लगनशीलता, सहनशक्ति हुन जरुरी छ।’
संगीतलाई जीवनसँग तुलना गर्ने, जीवनशैलीलाई नै संगीतमार्फत प्रस्तुत गर्ने साथीको संगतले नै उनलाई संगीतमै केही गरुँ भन्ने ऊर्जा दिएको हो। मनु बेलायती संगीतकार ज्याकब कोल्लियर (२३) की फ्यान हुन्। उनलाई ज्याकबको गितार, पियानो र ड्रम बनाउने शैलीले तान्ने गर्छ। ‘संगीत  जीवन हो, जीवन जिउने कलालाई सन्तुलन बनाउने मीठो माध्यम जसको कुनै व्याख्या गर्ने शब्दको अभाव छ,’ मनु भन्छिन्। 

संगीतले आनन्द दिनुका साथै निराश हुनबाट रोक्ने उनको तर्क छ। भविष्यको चिन्ताले सताउँदा पनि संगीतकै सहारा लिने बानी छ उनको। आफ्नो संगीत चित्त बुझ्यो भने संसारै जितेको अनुभव हुने उनी बताउँछिन्। आफूले सिर्जना गरेका सबै संगीत भने चित्त बुझ्दा हुँदैनन् उनका । यस्तो बेला पनि चित्त बुझाउने साधन बन्छ फेरि संगीत नै।

‘गौशालाको नेपाल म्युजिक सेन्टरमा विदेशी रिसर्चर ड्यानियल क्रिसीसँग भेट भयो, उनले दिएको तालिममा बस्ने मौका पाएँ,’ उनले भनिन्, ‘नेपालमा केटीलाई म्युजिक गर्ने स्वतन्त्रता छैनन्, सौन्दर्यताको कुरामा महिला स्वीकार्य भए पनि दिमागको काम महिलाले गर्न सक्दैनन् भन्ने कुरा आएपछि केही गरौँ भनी दिदीबहिनी ब्यान्ड बनाउने विचार आयो।’

त्यही तालिममा चिनजान भएका साथीसँग मिलेर उनीहरूले दिदीबहिनी ब्यान्ड बनाउने पहल थालेका थिए । त्यही पहलको प्रतिफल हो, आजको दिदीबहिनी ब्यान्ड। ‘अरु ब्यान्डमा पुरुषको भन्दा महिलाको संख्या निकै कम हुन्छ, हाम्रोमा भने सबै महिला नै छौँ,’ उनले भनिन्, ‘महिला मात्र भएर पनि भएन, अरुले भन्दा फरक के गर्न सक्छौँ भन्ने छलफल गरेपछि महिलाको मात्र कथा आफ्नो गीतमार्फत ल्याउने विचार ग-यौँ।’

दिदीबहिनी ब्यान्डले नेपाली महिलाका यथार्थ पीडालाई गीत–संगीतमार्फत झल्काउने गरेको छ। ‘हरेक ठाउँका दिदी बहिनीको व्यथा–कथालाई गीतमार्फत झल्काउने प्रयास गर्छौं,’ उनले भनिन्। उनीहरू पितृसत्तात्मक सोच, समाजले महिलालाई हेर्ने दृष्टिकोण, महिलामाथि हुने विभेदलगायत कुरालाई आफ्नो विषय बनाउने गर्छन्।

सात सदस्यबाट सुरु भएको यो ब्यान्डमा अहिले भने पाँच सदस्य छन्। आगामी एक वर्षभित्र तीन वटासम्म एल्बम निकाल्ने योजनामा रहेका छन् उनीहरू। स्वस्थ प्रतिस्पर्धाको कमीले संगीत क्षेत्र बदनाम भएको उनी बताउँछिन्।

बूढानीलकण्ठकी विधाता शाह (२५) बेलुका ८ बजेपछि फोन उठाउँदिनन्, किनकि ८ बजे त उनी सुतिसकेकी हुन्छिन्। राति २ बजे उठ्छिन् र साउन्ड मेडिटेसन गर्छिन्। साधनामा व्यस्त हुन्छिन्, भोकल प्राक्टिस गर्छिन् र तबला बजाउँछिन्। 
‘म्युजिक त लत हो, लत पूरा नभएपछि कस्तो हुन्छ त्यस्तै हुन्छन् संगीतमा डुबेपछि,’ विधाता भन्छिन्। उनी संगीत साधनासँगै इन्टरनेसनल सोसाइटी अफ कृष्ण कन्सियसनेस (इस्कोन)मा काम समेत गर्छिन्। 

‘तोते बोली हुँदा नै म गीत गाउन सक्थेँ, त्यसबेला गीत रेकर्ड गरिएको क्यासेट अझै घरमा छ,’ उनले भनिन्, ‘बाबाले राख्नुभएको छ।’ संगीतसँग आत्मा जोडिएको दाबी गर्छिन् उनी । कानुन अध्ययनरत विधाताका लागि संगीत साधना हो। उनी संगीतमार्फत नाम र दाम कमाउनु पर्छ भन्ने ठान्दिनन्। 

‘साधु–सन्त, तपस्वीका लागि बाहिरी माया–मोह, सम्पत्ति जति महत्वहीन हुन्छ, त्यस्तै मेरा लागि पनि संगीत ध्यान, तपस्या र साधना हो,’ उनी भन्छिन्। उनी भक्तियोग समेत गर्छिन्। ब्यान्डमा खासै इच्छा नभए पनि साथीको संगतले ब्यान्डमा आएकी हुन् उनी। सारंगी र ड्रम बजाउने उनी भोकल पनि गर्छिन्।

उनलाई संगीतमा लाग्न घर–परिवारको पनि साथ छ। उनलाई क्लासिक र इस्ट्रन म्युजिक मन पर्छ। आर्थिक कारण ब्यान्डलाई नेपालका कुना–कन्दरासम्म पु¥याउन नसकिएको उनी बताउँछिन्। 

कोटेश्वरकी सिसम राई (२१) दिदीबहिनी ब्यान्डमा भोकल गर्नुका साथै गितार बजाउँछिन्। नेपाल म्युुजिक सेन्टरमा भेट भएका साथीसँग सल्लाहमा उनी पुरानो ब्यान्ड छाडेर यसमा आबद्ध भएकी हुन्। ‘पढ्दै गर्दा एक्कासि ब्यान्ड ज्वाइन गर्छु भन्दा मेरो परिवारले साथ दियो, सबैजना दंग पर्नुभयो,’ उनी भन्छिन्। 

ब्यान्डमा जोडिएपछि पढाइ र अन्य काममा समय मिलाउन नसक्दाचाहिँ उनलाई समस्या भएको छ। घरमा समय दिन नसक्दा र रातिको कार्यक्रममा जानुपर्दा भने परिवारले कडाइ गर्न खोज्छ। तर, उनले हालसम्म परिवारबाट कुनै पनि अप्ठेरो भोग्नुपरेको छैन।

नैकापकी रोजिना गुरुङ (२२) ड्रम बजाउँछिन्। उनी दाइभाइसँगै मिलेर ब्यान्डमा जोडिएकाले खासै समस्या परेन। ‘कहिलेकाहीँ आर्थिक समस्याले अलिक चेप्ने गर्छ। सोच आउँछ, संगीत क्षेत्रमा टिक्न, केही गर्न सकिँदैन कि जस्तो लाग्छ, फेरि आफूलाई समाल्छु, आफ्नो खुसी र इच्छा हेर्छु, अनि चित्त बुझाउँछु।’ 

उनलाई केटीको ब्यान्डले के गर्ला र? भन्ने सुनेर भने उदेक लाग्छ। केटीलाई शारीरिक रूप रंग हेरेर गरिने व्यवहारदेखि दिक्क लाग्छ। यस्ता प्रवृत्तिलाई जवाफ दिनकै लागि भए पनि आफूहरू सफल भएकामा भने उनलाई गर्व छ। 
मन्टेसरी पढाउने छिरिङ लामा (२३) पनि डेढ वर्षदेखि दिदीबहिनी ब्यान्डमा जोडिएकी छन्। सानैदेखि संगीतमा रुचि भएकाले उनी यो ब्यान्डमा जोडिन पुगेकी हुन्।

परिवारबाट खासै सहयोग नपाएकी उनले अहिले भने राम्रै प्रतिक्रिया पाइरहेकी छन्। ‘आफ्नो इच्छालाई पछ्याएर लगनका साथ काम गरे एक न एक दिन कसो सफल नभइएला र?’ उनले भनिन्, ‘मलाई रक र मेटल म्युजिक मनपर्छ, ममीलाई त यो कामै नलाग्ने जस्तो लाग्छ, तैपनि म संगीत क्षेत्रमै लागेकी छु।’ 

छोरी भएकैले संगीतमा लाग्न समस्या भए पनि उनी त्यसलाई चुनौती दिँदै छन्। पहिले घरमा ढाँटेर कार्यक्रम गर्न दौडने उनलाई परिवारले अहिले भने साथ दिन थालेको छ। अन्य कतिपय क्षेत्रमा लाग्ने महिलालाई जस्तै संगीतमा लाग्नेलाई पनि निकै गाह्रो हुने बताउँछिन् उनी। तर, त्यसलाई चिरेर अघि बढ्न सके समाजमा परिवर्तन ल्याउन सकिने उनको तर्क छ।

प्रकाशित: १७ चैत्र २०७४ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App