८ वैशाख २०८१ शनिबार
समाज

जोखिम कम गर्न पूर्वसूचना संयन्त्र

बाढीबाट बच्न चमेलिया नदीमा कृतिम अभ्यास गर्दै स्थानीय। तस्बिरः नागरिक

बैतडी – बाढी र पहिरोको उच्च जोखिममा रहेका बैतडीका साविका तीन गाविसमा बसोबास गर्ने बासिन्दालाई सुरक्षा प्रदान गर्न बाढीको पूर्वसूचना तथा समन्वयात्मक प्रतिकार्य संयन्त्रलाई सक्रिय पारिएको छ।

प्रणाली अन्र्तगत सूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यलाई आवश्यक खोज तथा उद्धार समाग्रीसहित सक्रिय बनाइएको हो। कार्यदलका सदस्यलाई तालिमसहित उद्धार समाग्री दिएपछि सक्रिय भएका हुन। बाढी पहिरोको जोखिममा रहेका साविकका न्वाली, गोकुलेश्वर, रुद्रेश्वर गाविसका दश समुदायमा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरिएको छ।

मर्सिकोर नेपालको आर्थिक सहयोगमा  सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल, बैतडीद्धारा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाले उद्धार तथा खोज समाग्री तथा तालिम दिएपछि स्थानीय समुदाय विपदबाट बच्न जागरुक हुन थालेका हुन्।

समितिका सदस्यले बाढीको खतराबारे समुदायलाई जानकारी गराउने, नदीको पानीको सतह खतरामा पुग्नु अगावै साइरन बजाएर, माइकिङ गरेर अति आवश्यक सामग्री र कागजपत्रसहित सुरक्षित स्थान जानका लागि व्यवस्था मिलाइएको डिलासैनी–३, पंसेराका विपद व्यवस्थापन अध्यक्ष नन्दराम ओडले बताए।

चमेलिया नदी किनारमा बर्सेनि बाढीको जोखिम हुन्छ। डिलासैनी–६, गोकुलेश्वरका स्थानीय महादेव साउँदले भने ‘नदीमा कुन बेला बाढी आउने हो थाहा हुँदैन। बर्खाका दुई–तीन महिना राती सुत्न सक्ने अवस्था छैन।’ विपदव्यवस्थापन समिति मार्फत बनेका सूचना, प्राथमिक उपचार, खोज तथा उद्धार कार्यदल बनेपछि सजिलो भएको साउँदले जानकारी दिए।

‘खोज तथा उद्धार कार्यदलले बाढी आएपछि उद्धार गर्न आवश्यक सामग्री तयारी अवस्थामा राख्ने र डोरी, ट्युवको सहायताले पीडितको उद्धार गर्ने गरी तयारी अवस्थामा राखिएको छ। बाढीमा परेर घाइते भएका व्यक्तिलाई तत्कालै उपचार गर्नका लागि प्राथमिक उपचार कार्यदल तयार गरिएको छ। कार्यदलका सदस्यलाई दक्ष बनाइ प्राथमिक उपचार समाग्रीसहित तयारी अवस्थामा राखिएको छ।

प्रत्येक कार्यदलमा पाँचदेखि सात जनासम्म सदस्य राखिएका छन्। पूर्वसूचना प्रणालीको मुख्य उद्देश्य मानवीय क्षति तथा चोटपटक शून्यमा झार्न, सहायता चाहिने व्यक्तिलाई समयमै सहयोग पुराउने, नगद तथा बहुमूल्य सामान र कागजपत्र जोगाउने रहेको छ। बाढीको अति जोखिममा रहेका स्थानको पहिचान गर्ने, बाढी पस्ने ठाउँको यकिन गर्ने, सुरक्षित स्थान खोज्ने, समुदायमा बाढीको जोखिमको पहिचान गर्ने लगायतका काम स्थानीय सुमदायले गर्न थालेको मर्सिकोरका जिल्ला संयोजक हेमराज भट्टले बताए।

परियोजना लागू भएका समुदायमा नदी नियन्त्रणको लागि तटबन्द, वृक्षारोपण, आयमुलक विरुवा, पशुपालनको लागि डाँलेघास वितरणलगायतका क्रियाकलाप सञ्चालन गरिएको परियोजना अधिकृत नागेन्द्र भट्टले जानकारी दिए। स्थानीय समुदायको आर्थिक उन्नतिको लागि पशु गाईभैँसी खरिद, गोठ सुधार पशु बिमा र पशु स्वास्थ्य शिविरसमेत सञ्चालन गरिदै आएको छ।

बाढी र पहिरोका कारण हरेक वर्ष बैतडीमा ठूलो धनजनको क्षति हुने गरेको छ। खासगरी पहाडी धरातलकै कारण बर्खामा पहिरो जाने तथा ननीमा आउने बाढीको कारण जोखिम बढने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: १६ चैत्र २०७४ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App