८ वैशाख २०८१ शनिबार
समाज

संकटमा नौ मुठे गाई

विश्वको सवै भन्दा सानो प्रजाती भनेर चिनिने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको अछामी नौ मुठे गाई। तस्बिर: खम्म

खम्म खत्री

अछाम- विश्वको सवै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। ७ नम्वर प्रदेशको  पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ।

अगाडिको खुट्टादेखि जुरो सम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीहरु नौमुठ्ठे गाई भन्ने गरेको बताउँछन् जिल्ला पशु सेवा कार्यालय अछामका पशु चिकित्सक झनकदत्त ढुंगाना। ‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिन्छ, केही गाईहरु पोखराको गाईभैंसी फाराममा पनि पालिएका छन्’ उनले भने, ‘लोपोन्मुख प्रजाति भएकोले यसको वीर्य संकलन गर्ने उदेश्यले, पशु प्रजनन महाशाखा खुमलटारमा पनि यो गाईको साढे पालिएको थियो। यो गाईको संख्या ज्यादै न्यून भएको र कृषकहरुले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ।’

 ‘यसलाई दिइने घासपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ, यो गाईलाई राम्रोसंग स्याहार सुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्न सक्छ’ साँफेका कालुसिह कुँवरले भने। ‘यसको दूध निकै पोषिलो पनि हुन्छ’, उनले भने ‘१ सय ५० किलोग्राम तौल भएको यो गाईले २ देखि ३ माना सम्म दूध दिनु भनेको हजार किलोग्राम तौल हुने उन्नत जातको गाई गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै वढी हो।‘

अछामका विभिन्न गाउँ तथा वस्तिमा रहेका नौ मुठ्ठे गाईको संख्या ४४७ मात्र रहेको तथ्यांङ्क जिल्ला पशु सेवा कार्यालय अछामसंग छ। तथ्यांङ्क अनुसार नौ मुठे गाईको संख्या ज्यादै न्यून छ । साविकका केही गा.वि.स.मा मात्र यो गाई पाल्ने गरिएको पाईएको छ। जिल्ला पशु कार्यालय अछामका अनुसार कुनै पनि प्रजातिमा पोथीको संख्या हजार भन्दा कम भएमा उक्तप्रजाति संरक्षणका दृष्टिकोणबाट खतराको स्थितिमा हुन्छ।

यो गाई मुख्य गरि अछामको बावला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाण्डौ र खप्तडमा पाईन्छ। नौ मुठ्ठे गाईको तथ्यांक हेर्दा अत्याधिक गर्मी हुने क्षेत्र अछामको साफेवगर र अति न्यून तापक्रम भएको खप्तड क्षेत्रमा समेत यो गाई पाल्ने गरेको देखिन्छ। पशु कार्यालय अछामका झनकदत्त ढंगानाका भन्छन् ‘हावापानीलेखासै असर नपर्ने यो प्रजातीको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि सफलतापूर्वक पाल्न सकिन्छ भन्नेमा दुई मत नै छैन।’

 

प्रकाशित: १६ चैत्र २०७४ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App