coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

एसइई दिँदै रोल्पाका विद्यार्थी। तस्बिरः नागरिक

रोल्पा – दश वर्ष सम्म मेहनत गरेको प्रतिफल देखिने परीक्षाका रुपमा हेरिएको एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेशन एक्जाम (एसइई) जारी छ। उत्साह र हौसलाका साथ देखिनु पर्ने कतिपय रोल्पाली विद्यार्थीहरू भारी मन लिएर परिक्षा हलमा प्रवेश गरिरहेका छन्। विद्यालयमा आधा पाठ्यपुस्तक पनि नपढेका उनीहरू अलमलमा देखिन्छन। गरुङ्गो मनले परीक्षा हलमा पस्ने उनीहरू आशु पुच्दै बाहिर आउछन्।

‘गणित र बिज्ञान आधा पनि पढाई भएको थिएन। अंग्रेजी पनि धेरै पढ्न बाँकी थियो। नेपाली विषय मात्र पुरै पढेका थियौ। अर्थशास्त्र, स्वास्थ्य जनसंख्या पनि पूरै पढेका थिएनौ।’ बालकल्याण मावि करेटीका छात्र बालाराम सुनारले भने। ‘छेउमा बसेका अरु स्कुलका साथिहरूले कति मजाले लेख्छन। हामीले त पढेको भए पो लेख्नु। गणित र बिज्ञान पढाउने सर भदौमा पढ्न गए पछि कहिल्यै पढाई भएन। पहिले सानो कक्षाबाटै यस्तै हो कहिले पनि कोर्ष नसकिने।’

रोल्पाका धेरै विद्यालयमा हरेक वर्ष जस्तै यसपाला पनि करिव ५० प्रतिशत विद्यालयहरूमा कोर्स सकिएको छैन। ‘माघ महिनामा दाङ गएर टिउसन पढेको हो। एक–दुई महिना सबै विषयको टिउसनले के बुझिन्थ्यो र ? स्कुलमा आधा पनि पढेका थिएनौ।’ बालकल्याण मावि करेटीका छात्रा तिर्था घर्तीले भनिन्। ‘पोहर ९ कक्षामा पनि यस्तै भयो। ८ कक्षा देखि नै यस्तै हो। आधा पढेर जाच दिएका हौ। सरले पढाए पो कोर्स पनि सकिन्थ्यो। उहाँहरू स्कुल नै आउनुहुन्न।’

त्यसो त रोल्पाको शिब मावि द्धारपानीमा पनि अंग्रेजी, अर्थशास्त्र, सामाजिक, स्वास्थ्य जनसंख्याको कोर्स सकिएन। टिउसनमा जोडबल गरेपछि जबरजस्त कोर्स सकिएको विद्यार्थीहरू बताउछन। ‘स्कुलमा त पोहर परार पनि कोर्स सकिएको थिएन। अहिले एसइई दिने भएकाले टिउसन कोचिङ पढेर बल्ल बल्ल सकियो। सरहरूले पढाए पो सकिन्थ्योे।’ शिब मावि द्धारपानीका अर्का विद्यार्थी ममता पुन र हिरामणी घर्तीले भने। उता जिल्लाका शुक्र मावि झुम्लुङ, जनता मावि गाम, जौलिपोखरी, जेदवाङ लगाएतका दर्जन बढि विद्यालयमा कोर्स सकिएको छैन।

‘यतिका वर्ष पढेको लास्टमा एसइई परिक्षा नै बिग्रीयो। नेपालीमा चै पास भईन्छ कि। बिज्ञान, गणित, अंग्रेजी, अर्थशास्त्र, स्वास्थ्य पास गर्न मुस्किल छ। दाङ गएर एक दुई महिना पढेको टिउसनले कसरी पास हुनु।’ करेटीका विद्यार्थी स्याम घर्तीले भने। उता रोल्पामा विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई अर्को विद्यालय पढ्न जान्छु भन्दा सर्टिफिकेट पनि नदिने गरेको विद्यार्थीहरू बताउछन। ‘पढाई हुने राम्रो स्कुलमा पढ्न जान्छु भन्यो सरहरूले जानै दिनुहुन्न। मार्कसिट, सर्टिफिकेट दिए पो जानु। न आफूले पढाउनुहुँन्छ न त अन्त जान दिनुहुँन्छ।’ घर्तीले थपे।

जिल्ला भरका आधा बढि विद्यालयमा पढाई अपुरो रहेको विषयमा आज सम्म शिक्षा क्षेत्रमा सरोकार राख्ने कोही कसैले छलफल समेत गर्ने गरेका छैनन्। ‘एसइईका विद्यार्र्थीको मात्र होइन एक देखि नौ कक्षा सम्मको पनि हालत उस्तै छ। जिल्लामा दरबन्दी पनि कम छ। सबै भन्दा ठूलो समस्या शिक्षक जिम्मेवार नहुनु हो। प्रधानाध्यापकहरू उत्तिकै गैर जिम्मेवार हुनु पनि अर्को समस्या छ । रोल्पाका प्राय कुनै पनि बिद्यालयहरुमा अनुगमन पनि हुँदैन।’ सदरमुकाम स्थित बालकल्याण नमुना माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भने। ‘श्रोत व्यक्ति र जिल्ला शिक्षा कार्यालयले पनि शिक्षा सुधारमा कुनै चासो दिदैनन्।’

अहिले सम्म जिल्लाको समग्र शिक्षाको जिम्मा पाएको जिल्ला शिक्षा कार्यालय पनि यो विषयमा जानकार हुँदा हुँदै पनि अनभिज्ञ जस्तो गर्ने गर्दछ। हरेक वर्ष जस्तै यसपाला पनि कार्यालयसँग जिल्लाको पठन पाठनका बारेमा कुनै तथ्याङ्क छैन। ‘रोल्पामा श्रोत व्यक्तिले रिपोटिङ नै गर्दा रहेनछन्। जिल्लामा पढाई नहुनुमा शिक्षक जिम्मेवारी नहुनु हो। श्रोत व्यक्ति त बिचौलिया जस्ता छन। सबै कुरा गाउँमै मिलाउने। जिल्लामा कुनै रिर्पोटिङ नै हुँदैन। एउटाको ठाउँमा अर्कोले पढाइरहेको कुरा त हामीसम्म आउदैन। बेतिथी अति छ।’ जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताईन। ‘यहाँको शिक्षा वास्तवमै उदेक लाग्दो छ। शिक्षा पनि अब स्थानीय तहमा जादै छ हेरौ त्यहाँबाट केही हुन्छ कि।’

रोल्पाका ४ सय ७ सामुदायिक विद्यालय मध्ये २ सय ३२ विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी नभएको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ। १ सय १ प्राथमिक विद्यालय, ६७ निम्न माध्यमिक विद्यालय र ३६ माध्यमिक विद्यालयमा शून्य दरबन्दी रहेको छ। बाँकी १ सय ७५ विद्यालयमध्ये अधिकांशमा पनि न्यून दरबन्दी छ। उता १८ वटा उच्च मावि रहेकोमा शिक्षक दरबन्दी भने २६ वटा मात्र छ। अहिले जिल्लामा २ सय ५१ प्रावि, ८२ निमावि र ५६ सामुदायिक मावि रहेका छन्। ८६ हजार ५ सय २३ विद्यार्थी रहेको रोल्पामा गत सैक्षिक सत्रमा करिव २३ करोड रकम समुदायले उठाएर शिक्षकलाई तलब खुवाएका थिए। निशुल्क शिक्षा भनिए पनि रोल्पामा शिक्षक दरबन्दी नहुदा सशुल्क भइरहेको छ।

प्रकाशित: १६ चैत्र २०७४ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App