७ वैशाख २०८१ शुक्रबार
मुख्य समाचार

क्रेडिट/एटिम कार्ड सिस्टमलाई चोरको चुनौती

काठमाडौं– उनी बालाजुको एउटा होटलमा बसेका छन्। दैनिक खर्च गतिलै छ। भाडामा लिएको निजी स्क्रिोपियोमा डुल्छन्। सवारीधनीलाई ठाउँ ठाउँमा सवारीधनी आफू रहेको देखाउन भन्छन्। म्युजिक भिडियो बनाउने भनेर तेजेन्द्र केसीको नाम चलाए पनि उनको खास नाम तेजेन्द्र निरौला हो। बाग्लुङ गल्कोटका उनको सबै खर्च जापानबाट आएको एउटा नम्बरका भरमा चलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भदौ १ गते उनलाई पक्राउ गर्‍यो। लामो अनुसन्धानपछि प्रहरी टोली एउटा निष्कर्षमा पुग्यो: तेजेन्द्रको चोरी स्किल हाइटेक छ। कार्ड र अनलाइनबाट चोरीबाट उनको धन्दा चलेको छ।

बालाजु स्थित बागलुङ प्याराडाइज होटल एण्ड रेष्टुरेण्टका दुई महिनादेखिका पाहुना तेजेन्द्रले होटलको बिलदेखि सवारीसाधनको भाडा समेत हाल चलनचल्तीमा रहेको अनलाइन सपिङमार्फत् गरेका थिए। उनले आफूले भुक्तान गर्नुपर्ने सबैलाई नगदको साटो जिन्सीमा भुक्तान गर्ने तेजेन्द्रले सबैलाई सामसङ, हुवावे र लेनोभो ब्राण्डका महँगा स्मार्टफोन दिने गर्थे।

नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिमा आधारित एटिमबाट अनाधिकृत रुपमा पैसा निकाल्ने खतरा सिआइबीको भनाइ छ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार उनले आफूले डिजिटल सपिङ गर्ने र उक्त सामानको आफुले मोल तोकेर भुक्तान गर्ने ब्यक्तिलाई लिन पठाउदै आएका थिए। लोहनीले प्रविधिमा पोख्त र सिपालु रहेका तेजेन्द्रले सिसिटिभीबाट जोगिन अन्यलाई खरिद गरेको वस्तु लिन पठाउने गरेको बताए।

‘निकै सिपालु र चलाख, एक होइन अनेकन प्रकृतीबाट ब्यक्ति ठग्दै रहेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ, थप केही खुल्न बाँकी छ,’ एसपी लोहनीले नागरिकन्युजसँग भने ।

ब्युरोका अनुसार बाग्लुङका दुई युवालाई विदेश पठाउने भन्दै ठगेका तजेन्द्रले भाडामा लिएर गएको ट्याक्सीलाई समेत ठगेका थिए। ‘जो भेटिन्छ उसलाई ठग्ने गरेको देखियो,’ लोहनीले भने।

ब्युरोका अनुसार न्यूरोटिक नेपाल प्रालिको न्यूरोड तथा जावलाखेल शाखाबाट तेजेन्द्रले जापानबाट आएको क्रेडिट कार्ड नम्बरबाट भुक्तान गर्दै आएका थिए। प्रहरीका अनुसार एकजना जापानी नागरिकको क्रेडिट कार्ड डिटेल चोरी त्यसैको प्रयोगबाट तेजेन्द्रले दुई महिनामा सातलाख रुपैयाँ बराबरको खरिद गरेका थिए।

जेठदेखि पटक पटक गरी हिमालयन बैंक लिमिटेडबाट अनलाइन पेमेण्ट सुविधा लिएको न्यूरोटिक नेपालका दुबै शाखामा जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्डको नम्बर प्रविष्ट गरी सामसुङ, हुवावे र लेनोभो ब्राण्डका महँगा मोवाइलहरु अनलाइन खरिद गरीरहेका थिए। भिषाकार्ड मार्फत भइरहेको ठगीका बिषयमा सम्बन्धित ब्यक्तिले त्यहाँको भिषा कार्ड सेक्सनमा जानकारी गराएपछि हिमालय बैंक र न्यूरोटिकले ब्युरोलाई जानकारी दिएका थिए ।

यसअघि ब्युरोले साउन २० गते एटिएम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई पक्राउ गरेको थियो। उनले अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट पैसा निकाल्दै आएका थिए।

साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको थियो। ४९ वर्षीय प्रेडा बस्ने होटलको कोठामा खानतलासी गर्दा प्रहरीले २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आइडी कार्ड बरामद गरेको छ।

नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिमा आधारित एटिमबाट अनाधिकृत रुपमा पैसा निकाल्ने खतरा रहेको ब्युरोको भनाई छ।

ब्युरोका अनुसन्धान अधिकारी एसपी ह्दिय थापाले नेपालमा अनलाईन सपिङको सुविधा र एटिएम काउन्टरको प्राविधिक सहजतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘हाईटेक’ ठगले प्रयोगगर्दै आएको बताए। उनका अनुसार तेजेन्द्रले प्राप्त नम्बर भनेकै कार्डमा रहेको ब्यक्तिको नाम अगाडीको नम्बर र कार्डकै पछाडी रहेको बार कार्ड नम्बरका केही अंक थिए ।

‘नेपालजस्तै अल्पविकसित देशमा चोरीका एटिएम र ह्याक्क गरेका कार्डका आधारमा चोरीगर्ने गिरोह बेलाबेला सक्रिय हुने गरेको छ, ब्युरोले नै एकदर्जन हाराहारी अप्रेसन गरिसकेको छ,’ एसपी थापाले भने । उनका अनुसार योजनावद्ध ढंगले ठगीगर्ने सबैले नेपालमा झिकेको रकम डलर वा युरोमा साटेर आफ्नै गन्तब्यमा फर्कने तयारी गरेका हुन्छन्। ‘ब्युरोमा सूचना आएपछि फुत्किएका घटना छैनन् तर हामी सचेत र प्रविधियुक्त नभए घटना दोहरिन सक्दैन्न भन्न कठिन छ,’ थापाले थपे ।

सन २०१५ देखि तीन पटक नेपाल आएका उनी दुई महिनादेखि शंकर होटलमा बस्दै आएका थिए। हिमालयन र नबिल बैंकको एटिम बुथबाट झिकेको रकम मनि चेञ्जरहरुबाट युरो र अमेरिकी डलरमा परिवर्तन गर्दै आएको अनुसन्धानमा  खुलेको थियो । इन्डोनेसिया, थाइल्यान्ड, बोलिभिया, पपुवा न्यु गिनी लगायतका देशहरुमा पनि उनले एटिएमबाट रकम ठगी गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।

एटिएम सुरक्षा कमजोर भएका देशहरुमा गई उक्त कार्डमार्फत् रकम झिक्ने उनीहरुको रणनीति रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

एटिएमबाट पैसा निकाल्न उनले समूह परिचालन गरी योजनाबद्ध रुपमा काम गर्दै आएका थिए। पहिलो समूहले विभिन्न देशका एटिएम मेसिनभित्र एक्स्टर्नल डिभाइस सेट गरी एटिम कार्ड प्रयोगकर्ताको सम्पूर्ण विवरण कपी गर्ने तथा एटिम बुथभित्रै गोप्य क्यामेरा सेट गरेर पिन कोड लिने काम गर्दै आएका थिए। यसरी लिएको सूचना दोस्रो समूहका सदस्यलाई दिने र दोस्रो समूहले गिफ्ट कार्ड तथा स्वापिङ डिभाइसबाट कार्ड प्रयोगकर्ताको सूचना राखी एटिएम कार्ड बनाउँदै आएका थिए।

ब्युरोले नै यही समुहका अर्का एकजनालाई  एटिएम डाटा र पिन कोड चोरी गरी नक्कली एटिएम कार्ड बनाई अर्काको खाताबाट पैसा निकालेर ठगीमा सक्रिय सदस्यलाई  ३१ लाख रुपैयाँ र ४२ वटा नक्कली एटिएम कार्डसहित पक्राउ गरेको थियो ।

ब्युरोले विभिन्न देशका ४२ वटा एटिएम कार्ड, २६ लाख नेपाली रुपैयाँ र ५ हजार अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ) सहित टर्कीका नागरिक मेहत गुलेनलाई दरबारमार्गको होटल उडल्यान्डबाट २०७१ मंसिरमा  पक्रेको थियो ।

एक्लो व्यक्तिको प्रयासमा मात्र कार्डको डाटा र पिन नम्बर चोरी गरी नयाँ कार्ड बनाउन असम्भव हुने निष्कर्ष निकाल्दै ब्युरो अधिकारीले पक्राउ परेका गुलेन यस्तै ठगीमा सक्रिय अन्तराष्ट्रिय समूहका सदस्य भएको निष्कर्ष त्यसबेलै निकालेको थियो ।

थाइल्यान्ड, कतार, भारत हुँदै नेपाल आएका उनले नेपालका एपेक्स विकास बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको एटिएम मेसिन प्रयोग गरी थोरैथोरै मात्रामा नेपाली रुपैयाँ निकाल्थे । उनले विभिन्न विदेशी बैंकका नक्कली एटिएम कार्ड प्रयोग गरेको खुले पनि नेपाली बैंकका एटिएम भने फेला परेको थिएन ।

एटिएम सुरक्षा कमजोर भएका देशहरुमा गई उक्त कार्डमार्फत् रकम झिक्ने उनीहरुको रणनीति रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जुन देशमा यस्ता एटिमबाट रकम निकाल्न सकिन्छ पहिलो समूहले सो देशका अन्य एटिम प्रयोगकर्ताको सूचना फेरि दोस्रो समूहलाई पठाउने गरेको देखिएको छ। यसरी काम गर्दा रकम निकाल्ने पहिलो समूहले ७० र दोस्रो समूहले ३० प्रतिशत हिस्सा बाँडफाँड गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

 

प्रकाशित: ७ भाद्र २०७३ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App