coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अव्यवस्थित स्थानीय सरकार

अहिले सम्म संचालनमा नआएको गामको वर्डा कार्यालय भबन

रोल्पा- रोल्पाको दुर्गम सुनछहरी गाउँपालिका ३ बाहिरी गामका स्थानीयहरु वडा अध्यक्ष मोटबहादुर घर्ती कार्यालयमा नआउने गरेका कारण समस्यामा परेका छन्। सदरमुकामबाट २८ कोष टाढाको यो गाउँमा न वडा कार्यालय संचालन गरिएको छ न त अध्यक्ष भेटिन्छन्। ‘वडा अध्यक्ष कार्यालय आउँदैनन् । खोज्न जानु पर्छ । सचिवले पनि दुई वटा वडा हेर्नु हुन्छ। उहाँ पनि कहिले कता कहिले कता हिड्नु हुन्छ,’ बाहिरी गामका स्थानीय २४ वर्षिय हस्तु रोकाले भने।

सबै वडामा कर्मचारी ब्यबस्थापन हुन नसक्दा रोल्पामा सेवाग्राही मारमा परेका छन्। वडा सचिव नारायण आचार्यले दुईवटा वडाको जिम्मेवारी लिएका कारण सधै गाउँमा उपलब्ध हुदैनन् भने अध्यक्ष प्राय नभेटिने स्थानीयको गुनासो छ। ‘सिफारिस गराउनु पर्‍यो भने अध्यक्षको घर खोज्दै जानु पर्छ । धेरै जसो त सदरमुकाम तिर पो जान्छन। काम गराउन आउनेहरु फर्किनु पर्छ,’ स्थानीय ब्यापारी ध्रुव बुढामगर भन्छन्।

सचिव र अध्यक्ष कार्यालयमा नभएको जनगुनासो प्रति जनता माबि गामका प्रधानाध्यापक बागबिर घर्ती पनि सहमत छन्। ‘उहाँहरु कार्यालयमा नभेटिने गरेको जनताको गुनासो ठिकै हो । सचिब ज्युले २ वर्डा हेर्नु भएकोछ। अध्यक्ष पनि कार्यालयको मेसो नमिलेका कारण पर कार्यालय सहयोगिको घरमा आएर कहिले काहि काम काज त गर्नु हुन्छ तर जनतालाई सहज भने भएको छैन।’

नयाँ बनेको भबन हस्तान्तरण नभएको भन्दै वडा कार्यालयले सो भबन प्रयोग गरेको छैन। अहिले कार्यालय सहयोगिको घरको एउटा कोठाबाट काम चलाईएको छ। कार्यालय ब्यबस्थापनका लागि खरिद गरिएका फर्निचरहरु विद्यालयको एउटा कोठामा थन्काईएको छ्। नयाँ भबन प्रयोगमा नआउँदै पुरानो देखिन थालेको छ। ‘हस्तान्तरण नभएको यो भबन चुहिने गरेको भन्दै त्यहाँ कार्यालय ब्यबस्थापन गर्न सकिएको छैन। मैले पनि दुईवटा वडा हेर्ने भएकाले गाउँमा नियमित हुन नसकेको हो। अध्यक्ष र सचिव कार्यालयमा नभेटिने जनगुनासो आउनु स्वभाबिक हो,’ सदरमुकाम भेटिएका वडा सचिव नारायण आचार्यले भने।

 ‘त्यहाँ अलि समस्या छ । गाउँपालिका सम्म पनि गुनासो आएको छ। केहि दिन अगाडि म जाँदा पनि वडा अध्यक्षलाई भेटिन। उहाँले आफै बुझ्नु पर्ने । मैले पनि भनेको छु ।’ सुनछहरी गाउँपालिकाका प्रमुख आसबहादुर पुनले बताए। उनले भने ‘प्राबिधिक कार्यालयले बनाएको भबन पनि हस्तान्तरण गरेको छैन । सचिबले पनि दुई वडा हेर्नु हुन्छ । सबै भन्दा ठूलो गुनासो अध्यक्षले कार्यालयमा समय नदिनु रहेको छ ।’ स्थानीयका अनुसार कार्यालयमा भेट्न नसकिने वडा अध्यक्ष प्राय फोन सम्पर्कमा पनि भेटिदैनन्।

 

प्रकाशित: १६ चैत्र २०७४ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App