जसका कारण बढीभन्दा बढी स्थानीय जात्रामा सहभागी हुन्थे । त्यतिबेला मच्छिन्द्रनाथ गुठीको नाममा सय रोपनीभन्दा बढी जग्गा थियो । ‘उक्त जग्गामा उब्जनी भएको अन्नबाट जात्राको बेला पाहुनालाई भोज खुवाइन्थ्यो,’ उनले भने, ‘बढी भएको उत्पादन सामग्री बजारमा लगेर बेचिन्थ्यो, त्यसबाट जात्रा सञ्चालनका निम्ति आवश्यक पर्ने सरसामान किनिन्थ्यो ।’ उनले पञ्चायत कालमा गुठी संस्थानले जग्गा निजीकरण गरेपछि स्थानीय सहभागिता घटेको बताए । उक्त खेतीयोग्य जग्गा जात्राको मुख्य आयस्रोतका रूपमा लिँदै आएको उनको भनाई छ।
वसन्तपुर लगन टोलका स्थानीय सुरेन्द्र शाक्यका अनुसार अहिले जात्रा सञ्चालन गर्ने सीमित गुठियार छन् । जसले आलोपालो रथ जात्रा सञ्चालन गर्दै आएका छन् । रथ तान्न स्थानीय जनशक्ति अपुग भएसँगै बाहिरी जनशक्ति आवश्यक पर्न थालेको उनले बताए।
‘अहिले यहाँ सर्वसंघको गुठी छ,’ उनले भने, ‘यही गुठीले जात्राको मुख्य भूमिका निभाउँदै आएको छ ।’संस्कृतिविद् चुण्डा बज्राचार्यका अनुसार पञ्चायतकालमा जग्गा गुठी संस्थानले निजीकरण गरेपछि स्थानीयको सहभागिता घटेकाले आर्मी र प्रहरीको पनि सहारा लिनु परेको थियो । ‘अहिले त बाहिरी समुदायका मानिसहरूको सहभागिता पनि बढेको छ,’ उनले सुनाइन्, ‘एकताका रथ तान्न जनशक्तिको हाहाकार थियो।’
जब पञ्चायतकालको अन्तिमतिर सेतो मच्छिन्द्रनाथ सञ्चालनका गुठीले उपभोग गर्दै आएको जग्गा गुठी संस्थानले निजीकरण गर्यो, त्यसपछि जात्रामा स्थानीयको सहभागिता घट्यो । आफूहरूले उपभोग गर्दै आएको जग्गा खोसिएपछि धेरै स्थानीय असन्तुष्ट भए । केहीले जात्राका गुठीमा भागै लिन छाडे । यसको असर मच्छिन्द्रनाथ रथ तान्दा पनि देखियो ।
उनले पञ्चायतकालमा राजाहरू यो जात्रा हेर्न सहभागी नभएको बताइन् । उनका अनुसार गणतन्त्र आइसकेपछि राष्ट्रप्रमुख वा राष्ट्रपतिलाई जात्राको पहिलो दिन सहभागी गराउने चलन बसेकोे थियो । तर, पञ्चायतकालमा राजाहरू जात्रामा खासै सहभागी हुँदैनथे । ‘पहिले स्थानीय टोलवासीबाहेक बाहिरी समुदाय जात्रामा खासै सरीक हुँदैनथे,’ उनले भनिन्, ‘गणतन्त्रपछि अरु समुदायका व्यक्ति र राष्ट्रप्रमुख पनि सहभागी हुने परम्परा बस्यो, यसले जात्रालाई सर्वव्यापी बनायो ।’ तर जग्गा निजीकरणले स्थानीय सहभागीता कम भएको मान्न सकिने उनले बताए।
सदभावना देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा आइतबार सुरु भएको थियो । जात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमलको पु¥याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो । पहिलो दिन मच्छिन्द्रनाथको रथलाई पूजा गर्न बेलुकी साढे ९ बजे असनमा राष्ट्रपति पुगेकी थिइन् । त्यहाँ पुगेर उनले बत्ती बाली सेतो मच्छिन्द्रनाथको दर्शन गरी फर्केकी थिइन्।
करिब ५ दिन चल्ने यो जात्रा विषेशगरी काठमाडौं दरबार क्षेत्रको तीन ठाउँमा देखाउने परम्परा छ, जसमा असन, कालभैरव–हनुमानढोका हुँदै लगनटोलसम्म लगिने संस्कृतिविद् बज्राचार्यले जानकारी दिइन् । ‘पहिले तीन दिनमा जात्रा सकिन्थ्यो,’ उनले भनिन्, ‘अहिले रथ हिँडाउने रुट अस्तव्यस्त भएकोले ढिलो भएको मान्न सकिन्छ ।’ उनले बिहिबार रथलाई लगनटोलबाट तानेर मच्छिन्द्रबहालमा पु¥याएको बताइन् । संस्कृतिविद् बज्राचार्यका अनुसार दुःखी र असहाय रहेसम्म आफूले बुद्धत्व ग्रहण नगर्ने प्रतिज्ञा गरेका कारण सेतो मच्छिन्द्रनाथ (आर्यवलोकितेश्वर करुणामय) लाई सद्भावना देवताका रूपमा लिइने गरिएको थियो।
यो जात्रा नेपाल सम्बत ७०८ मा राजा शिवसिंह मल्लले जमलमा भेटिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खड्गटोल निवासी दखभाजु प्रधानलाई जिम्मा दिएका थिए। प्रधानले गुठी स्थापना गरी सेतो मच्छिन्द्रनाथको रथजात्राको सुरुवात गरेको इतिहास छ।
‘जात्राको अन्तिम दिन मच्छिन्द्रनाथकी आमा रहेको स्थान लगनटोलमा रथलाई लगिएको थियो,’ संस्कृतिविद् बज्राचार्यले भनिन्, ‘त्यहाँ पुर्याएर धुमधामले पूजा गरिएको थियो, त्यसपछि करिब जात्रा सकिएको मानिन्छ ।’ उनले किंवदन्ती अनुसार साँखुको बज्रजोगिनी जात्रा हुने बेला रथभित्र सेतो मच्छिन्द्रनाथ राख्न नहुने बताइन् । उक्त दिनसम्म रथमा भएका मन्च्छिन्द्रनाथलाई बाहिर निकाली सक्नुपर्छ ।जात्राको अन्तिम दिन बिहीबार लगनटोलमा कुमारीलाई पनि उपस्थित गराइएको थियो । कुमारी उपस्थित भएपछि विधिपूर्वक सात÷आठ बजेतिर रथको पूजा गराएर तान्न सुरु गरिन्छ।
संस्कृतिविद्हरूका अनुसार एक सय आठ लोकेश्वरअन्तर्गत काठमाडौं उपत्यकामा चार लोकेश्वर छन् । सद्भावना देवताका रूपमा सेतो मच्छिन्द्रनाथ, रोग र सम्बन्धविच्छेदको व्यवस्थापन गर्ने चोभारका आनन्दादी लोकेश्वर, वर्षा र सहकालका देवताका रूपमा बुङमतीका रातो मच्छिन्द्रनाथ, सृष्टि र संहारको व्यवस्थापन गर्ने देवताका रूपमा नालाका सृष्टिकान्ता लोकेश्वरलाई पुजिन्छ ।
वृद्धवृद्धालाई दर्शन गराउन हिँडाइन्छ रथ
सेता मच्छिन्द्रनाथलाई कल्याणकारी देवताको रूपमा मान्ने चलन छ । मच्छिन्द्रनाथको पूजा गर्दा दीर्घजीवी हुने, स्वस्थ रहने, मनमा शान्ति हुनेलगायत मान्यता छ । जात्राका खोजकर्ता तथा स्थानीय नरेशवीर शाक्यका अनुसार टोलमा भएका बूढापाका र अशक्तलाई लक्षित गरेर विभिन्न टोल परिक्रमा गराउन थालिएको थियो।
‘यो चलन निकै पहिलेदेखिको हो,’ उनले भने, ‘सेतो मच्छिन्द्रनाथलाई सबैले देखुन् भनेरै टोल परिक्रमा गराउन थालिएको हो भन्ने किंवदन्ती पनि छ ।’ उनका अनुसार विभिन्न टोलमा पु¥याएर वृद्धवृद्धाहरूलाई दर्शन गराएर रथ गुठाउने चलन पनि अहिलेसम्म कायमै छ।
प्रकाशित: १६ चैत्र २०७४ ०४:१० शुक्रबार