coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितुवाको आक्रमणले २१ जनाकोे ज्यान गयो, स्थानीय त्रसित

बैतडी–  बैतडीको दक्षिणी तल्लोस्वाराड क्षेत्रमा नरभक्षी चितुवाको आतंकले स्थानीय त्रसित बनेका छन्। चितुवाले ५ वर्षको अवधीमा २१ जनाको ज्यान लिनुका साथै ८ जना घाइते बनाएपछि स्थानीयबासी त्रसित भएका हुन्। घरआँगनमै आएर बालबालिका र मेलापात गएका महिलाहरुलाई नरभक्षी चितुवाले ज्यान लिएको हो।

आमासँगै सुतेका र आँगनमा खेल्दै गरेका बालबालिकाको चितुवाले ज्यान लिएपछि तल्लो स्वराड क्षेत्रका सर्वसाधारण त्रासमा छन।

पछिल्लो पटक आँगनमा खेलिरहेकी बालिकाको शनिबार चितुवाले ज्यान लिएपछि यो क्षेत्रमा त्रास छाएको छ। उदयदेव–९ मकैलमा चितुवाको आक्रमणमा परी स्थानीय हीरा चन्दकी ७ वर्षीया छोरी चञ्चलाको मृत्यु भएको हो। उनको शव ३ घण्टापछि ७ सय मिटर तल डाबर जंगलमा घाँटी र मुख खाएको अवस्थामा भेटिएको थियो। उनी गंगेश्वर प्रावि मकैलमा २ कक्षामा पढ्थिन्।

‘नौ महिनादेखि चितुवाकोले आक्रमण गरेको घटना सुनिएको थिएन,’ उदयदेवका नारायणसिंह महताले भने, ‘फेरि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित छन्।’ गत वर्षको मंसिर १३ गते उदयदेवकै १३ वर्षीया बालिकालाई घाइते बनाएको थियो। ०७२ वैशाख ६ गते उदेयदेव–५ का ७ वर्षीया बालकको ज्यान लिएको थियो।

‘फेरि आक्रमण गर्न थाल्यो,’ स्थानीय भन्छन्, ‘बालबालिका बिद्यालय जान र महिलाहरु मेलापात गर्न डराउन थालेका छन्।’

स्थानीयले पटकपटक चितुवा नियन्त्रणको माग गर्दै आएका छन्। २०६८ असार यता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हँुदै आएको छ। वन्यजन्तु आरक्षका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली प्रभावित क्षेत्रमा बसेर चितुवा नियन्त्रणमा लिन खोजेका थिए।

चार वर्षअघि एक हप्ताको अवधीमा तीन जनाको ज्यान लिएपछि शैलेश्वरी गण झलारी कञ्चनपुरको शसस्त्र र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली डेढ महिनासम्म चितुवा प्रभावित क्षेत्रमा सर्च गरे पनि चितुवा फेला पार्न सकेको थिएन।

ह्रिंसक चितुवाको आतंक मच्याएपछि स्थानीय प्रशासनले चितुवा मार्न स्थानीय सिकारीसमेत परिचालन गरेको थियो। नरभक्षी चितुवा मार्नेलाई पुरस्कार दिने घोषणा गरेपछि त्यसबीचमा तीनओटा चितुवा मारिए पनि चितुवाको आक्रमण रोकिएको थिएन।

अधिकांश बालबालिका आँगनमा खेल्दै गरेको अवस्थामा चितुवाको सिकार भएका छन्। ३ बालबालिकालाई घर भित्रैबाट चितुवाले लगेको थियो। महिलालाई भने घाँसदाउरा गर्न गएका बेला घर नजिकै र जंगलमा आक्रमण गरेको हो। चितुवाको त्रासले दैनिकीसमेत प्रभावित भएको स्थानीय नरेन्द्र महताले बताए।
महाकाली नदी किनारका यी गाउँका बाक्लो झाडीमा चितुवाको बासस्थान रहेको स्थानीय बताउँछन्। यी गाउँमा आक्रमण हुनुअघि महाकालीपारीका भारतीय गाउँमा २ जनाको ज्यान लिएको थियो। २०६८ असार ९ गते विशालपुरका डेढ वर्षीय बालकलाई आक्रमण गरी ज्यान लिएपछि श्रृखलाबद्धरुपमा चितुवाको आतंक पैmलिएको हो। त्यसयता महिनैपिच्छे आक्रमण गर्दै आएको थियो। ९ महिनायता आक्रमणका घटना सुनिएको थिएन।

चितुवाले आक्रमण गर्न थालेपछि केटाकेटी जोगाउन समस्या परेको बिशालपुरका स्थानीय वीरभद्र बिष्टले बताए। ‘एक्लै हिँड्न मेत डर लाग्न थाल्यो मानवबस्तीमा चितुवा पसेर कुन बेला के गर्छ त्रासमा छौं।’ बालबालिका विद्यालय जान डराउन थालेको उनले बताए।

जिल्लाको विशालपुर, उदयदेव, पंञ्चेश्वर, आमचौरा, शर्माली, कुलाउ, गिरेगाडा गाविसमा चितुवाले आक्रमण गर्दै आएको छ। चितुवाले ५ वर्षयता ८ गाविसमा २१ जनाको ज्यान लिइसकेको छ। ८ जना घाइते बनाएको छ । मृत्यु हुनेमा १९ बालबालिका र २ महिला छन् । चितुवाको आक्रमणबाट विशालपुरमा ९, उदयदेव, पंञ्चेश्वर र आमचौरामा ३÷३ , कुलाउ, शर्माली, गिरेगाडामा १÷१ जनाले ज्यान गुमाएका छन्।
घरभित्रै पसेर आक्रमण गरेपछि स्थानीय बासिन्दा बढी त्रसित भएका हुन्। ‘घरआँगनमै असुरक्षित भएपछि ढुक्क भएर विद्यालय पठाउन सक्ने अवस्था छैन,’ महाकाली–५ का मोहनबहादुर चन्दले भने, ‘बालबालिकामाथि आँखैअगाडि आक्रमण हुँदै आएको छ।’

गतवर्ष अनुसन्धान गर्न आएको चितवन राष्ट्रिय निकुञ्जका विशेषज्ञको टोलीले आहारको कमी, घरआँगनमा राति उज्यालो नहुनुलगायतका कारण चितुवाले मानव सिकार गर्न थालेको औंल्याएको थियो। नियन्त्रणमा लिन नसक्दा वैकल्पिक सुरक्षाका उपायमा जोड दिइएको छ। उक्त अनुसन्धानका आधारमा वन कार्यालयले चितुवाबाट जोगिन चेतनामूलक गतिविधि गर्दै आएको छ। विद्यालय र समुदाय स्तरमा सचेतनामूलक गतिविधिमार्फत सुरक्षित हुने उपाय सुझाइएको छ।

विद्युत् सुविधा नभएकाले अँध्यारो समयमा घरआँगनमा आएर आक्रमण गर्न थालेको अनुमान गरेपछि वन कार्यालयले हालसम्म चितुवाको आक्रमणमा परी मृतक र घाइतेमध्ये २७ परिवारलाई सोलार सेट वितरण गरेको छ।

चितुवाबाट सुरक्षित हुने उपायबारे चेतना जगाउँदासमेत स्थानीयकै लापरवाहीले मानवीय क्षती हुने गरेको निमित्त जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताए। वन जंगल र जंगली जनावर नासिँदै गएपछि खानाको लागि चितुवा मानबस्तीमा पसेको हो। बनेपछि आतंकित गर्ने भएकोले यसबाट जोगिने उपाय अवलम्बन गर्नुपर्ने उनको धारणा छ।

बालबालिकालाई एक्लै नछोडन, साझ, बिहान एक्लै नहिड्न घर वरपर झाडी सफा गर्न र उज्यालोको व्यवस्था गर्न सुझाए पनि स्थानीयको लापरवाहीले यस्ता घटना दोहिएको इलाका वन कार्यालयका प्रमुख सरोज पोखरेलले बताए।

‘चितुवाले क्षती गरेको केही दिन सतर्क हुन्छन्, बिस्तारै भुल्दै जान्छन्, जसले गर्दा यस्ता घटना बढ्ने गरेको छ,’ उनले भने।

 

 

 

प्रकाशित: ७ भाद्र २०७३ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App