८ वैशाख २०८१ शनिबार
अन्य

हराउँदै छन् अारन

नुवाकोटका तुलबहादुर विकले जतिबेला आरनको काम सुरु गरे, त्यतिबेला उनी ९ वर्षका थिए । अहिले उनको उमेर ६० वर्ष पुगेको छ । ‘आरनमा काम गर्दै जिन्दगी बिताए, अहिले छोराले आरनकै व्यवसाय गर्दैछ,’ उनले भने ।उनले आरनमा काम थालेको पाँच दशकभन्दा बढी भइसकेको छ । यो अवधिमा काम गर्ने तरिका र लेनदेनमा धेरै उथुलपुथल भएको उनी बताउँछन्।

आरनको काम सुरु गर्दा बालिप्रथाको नियम रहेको उनी सम्झन्छन् । ‘ऊबेला औजार बनाएबापत अन्न लिने चलन थियो,’ उनले भने, ‘अहिले भने पैसा लिने गरिएको छ।’
औजार बनाउन पहिलेजस्तो समय नलाग्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिला एउटा औजार बनाउन दुई÷तीन दिन लाग्थ्यो अहिले एक दिनमै तीन औजार बनाउन सकिन्छ ।’ आधुनिकतासँगै यो व्यवसायको काम गर्ने तरिका परिवर्तन भए पनि अन्यसरह फस्टाउन नसकेको उनी बताउँछन्।

उनी गाउँघरमा प्रयोग गरिने कृषि औजार (हसियाँ, खुकुरी, कुटो, कोदालो, चुलेसी, दिउरी) आदि बनाउँछन् । पहिला चलाइने फलामका औजारको आधुनिकीकरण गरेर बजारमा व्यावसायिक रूपमा सञ्चालन गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्।

दलित समुदायको पुख्र्याैली पेसा संरक्षण र जर्गेना राम्रोसँग हुन नसकेकोमा तुलराम दुःख व्यक्त गर्छन् । ‘कामको सम्मान र श्रमको मूल्य नभएकाले नै यो पेसा लोप हुनुको प्रमुख कारण हो,’ उनी भन्छन्, ‘युवाहरू खाडीमा गएर ज्यानको बाजी राखेर २०÷२५ हजार कमाउन तयार हुन्छन् । तर, आफ्नै देशमा, परिवारसँगै बसेर मेहेनत गर्न तयार छैनन्, जुन दुःखको कुरा हो ।’ उनले आरन पेसालाई उद्योगको रूपमा सञ्चालन गरेका छन्।

आधुनिकतासँगै यो व्यवसायको काम गर्ने तरिका परिवर्तन भए पनि अन्यसरह फस्टाउन सकेको छैन।

उनी भन्छन्, ‘पुराना डिजाइनका औजारलाई आधुनिकीकरण र नयाँ डिजाइन दिएर आधुनिक औजार बनाइन्छ, मैले पनि एउटा औजारको नमुना हेरेर टाइचिपी बनाएको छु ।’ डाक्टरले अप्रेसन थिएटरमा प्रयोग गर्ने सामग्री हेरेर नयाँ रूप दिई औजार बनाएको उनी ठोकुवा गर्छन् । उनी भन्छन्, ‘टाइको जस्तो अकार भएर यसको नाम टाइचिपी राखेको हुँ, यो मैले बनाएकाले अन्यत्र पाइँदैन।’

आरनको काम गर्नेका दुःख अरुले बुझ्न नसकेकोमा उनको दुखेसो छ ।उनी भन्छन्, ‘आरनमा अंगारसँग खेलेर काम गर्नु पर्छ । धुलोमैलोसँगै पसिनामा भिजेर काम गर्नु पर्छ, जुन अन्य कामजस्तो सहज छैन ।’ पहिलाजस्तो दुःख अहिले नरहेको उनको भनाइ छ ।धनकुटा चन्द्रबहादुर विक १३ वर्षको उमेरदेखि आरनको काम गर्दै आएका छन् । भैँसीको सिङ प्रयोग गरेर खुकुरीको कबर र बिड बनाउने गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘सिङ खोज्न भैसी मारेको ठाउँमा जानु पर्छ, यो काममा मेहनत पनि धेरै गर्नुपर्छ र फोहरजस्तो पनि देखिन्छ ।’ कामको सम्मान नभएकाले यो पेसा धरापमा परेको उनको दुखेसो छ । उनी भन्छन्, ‘युवा पुस्तालाई यसको सीप सिकाउन सके यो लोप हुने थिएन ।’ सरकारले अत्याधुनिक मेसीन उपलब्ध गराउन सके यो काम सजिलो हुने उनको भनाइ छ।यो व्यवसायमा दिक्क मानेर केही वर्ष उनी रोजगारीका लागि विदेश बसे । तर, त्यहाँको दुःख र परिवारसँगको पीडाले उनी त्यहाँ धेरै समय टिकेनन्।

‘विदेशको दुःख र परिवारसँग टाडिनुको पीडा सम्झिएपछि त्यहाँ धेरै बस्न सकिनँ । र, स्वदेश फर्किएर यहीँ कामलाई निरन्तरता दिए ।’ अहिले उद्योग रूपमा सञ्चालन गरिरहेको उनले बताए ।आफ्नो समुदायको पहिचानको रूपमा रहेको यो व्यवसायमा निरन्तरता र व्यवसायीक सफलता नहुँदा नराम्रो लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘सरकारले यस कामलाई प्रोत्साहन र‘कामको सम्मान र श्रमको मूल्य नभएकाले नै यो पेसा लोप हुनुको प्रमुख कारण हो,’ उनी भन्छन्, ‘युवाहरू खाडीमा गएर ज्यानको बाजी राखेर २०-२५ हजार कमाउन तयार हुन्छन् । तर, आफ्नै देशमा, परिवारसँगै बसेर मेहेनत गर्न तयार छैनन्, जुन दुःखको कुरा हो।’ सहयोग गरे व्यवसाय फस्टाउथ्यो।’

सल्यानका इन्द्रबाबु थापा विश्वकर्माले ‘इतिहास कृषि आरन तथा खुकुरी उद्योग’ सञ्चालन गरेको १० वर्ष भएको छ । उनी खुकुरी, खुँडा, हसियाँ, तरवार, दाउलगायत औजार बनाउने गरेका छन् । यी औजार स्वदेशमा मात्र होइन, विदेशमा पनि पठाउँदै आएको उनले बताए । उनी भन्छन्, ‘विदेशमा कहिलेकाहीँ फाट्टफुट्ट मात्र पठाउन पाइन्छ, सरकारले अन्तर्राष्ट्रिय बजारमा पठाउने व्यवस्था गर्न सके राम्रो हुन्थ्यो।’

मेहेनत र लगानी अनुसारको श्रम नउठ्दा यसप्रति युवापुस्ताको आकर्षण घटेको उनको बुझाइ छ । काम गर्ने इच्छाशक्ति भए पनि आर्थिक अभावले आरनलाई व्यावसायिक रूप दिन नसकिएको उनी बताउँछन् ।‘यो व्यवसायमा धेरै मेहेनत गर्नु पर्छ, बजार व्यवस्थापन पनि राम्रो छैन,’ उनी भन्छन्, ‘सरकारले यस विषयमा सोचेर योजना बनाउन जरुरी छ।’

फलामका औजारको मूल्य बढी भएकाले नेपालमा बिक्री राम्रो नरहेको उनले बताए । ‘अन्य देशमा बनेका औजारभन्दा नेपालमा उत्पादित औजार राम्रो र बलियो हुन्छ,’ उनी भन्छन्, ‘तर, महँगो भएको व्यापार त्यति राम्रो छैन ।’ अत्याधुनिक मेसिनको प्रयोग गर्न सके यो व्यवसाय फस्टाउने उनको बुझाइ छ।

प्रकाशित: १६ चैत्र २०७४ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App