८ वैशाख २०८१ शनिबार
समाज

बालिकालाई सुरक्षा संकट

दाङ – जिम्मेवार पेसामा रहेका एक व्यक्ति तीन छोरी र श्रीमतीसहित तुलसीपुरमा डेरा गरी बस्थे। बाबुको लाडप्यारले छोरीहरू बाबुसँग धेरै नजिक थिए। दिन बित्दै गए। छोरीहरूको उमेर बढ्दै गयो। बाबुको पुल्पुल्याहट पनि बढ्दै गयो। तीनैजना छोरीसँग उनी नजिक थिए तर माइली छोरीसँग अलिक बढी। माइली छोरीलाई एक्लै कोठामा बोलाएर मिठोमिठो खुवाउने र  हात सुम्सुम्याने गर्थे उनी। कहिलेकाहीँ काखमा सुत्न लगाउँथे। तैपनि अबोध बालिकालाई बाबुले गरेको व्यवहार पिताको अगाध स्नेह भन्ने लाग्थ्यो। उनको मस्तिष्कले बाबुको व्यवहारलाई गलत सोच्ने कुरै थिएन।

बाबुको मनमा पाप मौलाउँदै गयो। उनी माइली छोरीसँग एक्लै कोठामा बस्न बढी लालायित देखिन थाले। यहाँसम्म कि परिवारका सबैलाई बजार घुम्न पठाएर माइली छोरीसँग एक्लै बस्ने थाले। त्यही एक्लै भएको मौका पारेर एक दिन बाबुले छोरीलाई कपडा फुकालेर आफ्नो शरीर देखाउन भने। छोरी लजाइन्। तर, अंगको विकास कति भएको भनेर ‘चेक’ गर्न खोजेको भन्दै उनले दबाब दिए। बिचरी छोरी, बाबुको अगाडि नग्न बनिन्। उनले त्यही अवस्थामा छोरीलाई आफ्नो अंगालोमा लुटपुट्याए। त्यो दिन त्यतिमै सकियो। उनको शरीरभरि टोकेका निलडाम बसे। बाबुका हरेक व्यवहारले उनी अचम्मित बन्दै थिइन्। उनी बाबुदेखि तर्सिदै गइन्। हरेक दिन बाबुले उस्तै व्यवहार दोहो-याउँदै गए। तर, उनले आमालाई भन्ने आँट गरिनन्। उनीमाथि बाबुले दिनहुँ जबरजस्ती गर्ने प्रयास थाले। उनी हायलकायल बन्दै गइन्। ‘छोरीलाई सुर्ती मिच्न लगाउने, उसको कपडा खोलेर शरीरमा टोक्नेसम्मको हर्कत देखाएका रहेछन्,’ घटनाबारे एक महिलाले भनिन्। माइली छोरी टाँढिदै गएको बाबुले चाल पाइसकेका थिए । उनी अन्य दुई छोरीमाथि लागे। जेठी भेटिँदा जेठीलाई नत्र कान्छीसँग पनि माइलीलाई गरेजस्तै व्यवहार देखाउन थाले। श्रीमतीलाई बाहिर पठाएर घरमा छोरीहरूसँग मात्रै रमाउन थाले। छोरीहरू डरले थर्कमान बन्दै गए। बाबुको कुकृत्यले आत्तिएका छोरीलाई बाबु देख्नेबित्तिकै सातो जान थाल्यो। बाबुले आफूहरूमाथि पटकपटक जबरजस्ती गर्ने प्रयास थालेपछि तीनै छोरीले बाबुको व्यवहारबारे आमालाई सुनाए। ‘माइली छोरीले त बाबुले शरीरमा टोकेका पुराना डाम पनि देखाएकी थिइन्,’ ती महिलाले भनिन्, ‘अरू दुई छोरीले पनि बाबुले आफूमाथि गरेको व्यवहारबारे सबै सुनाए।’ छोरीहरूको कुराले आमाको मन भारी भएर आयो। तर, श्रीमान्सँग यसबारे केही कुरा खोलिनन्। छोरीहरूको सुरक्षाका लागि उनले अलग्गै बस्ने योजना बनाउन थालिन्। सोहीअनुरूप घोराहीमा डेरा खोजियो। घोराहीमा कोठा भेटिएपछि सुरुमा आमाले श्रीमान् काममा गएका बेला डेराबाट छोरीहरू भगाइन्। अनि अर्को दिन आफू निस्किइन्। महिला अधिकारकर्मीका सल्लाहमा श्रीमतीले श्रीमान्विरुद्ध उनी कार्यरत कार्यालयमा उजुरी हालिन्। उनी कारबाहीमा परे। सिविन नेपाल नामक एक संस्थाको सहयोगमा उनका तीनै छोरी काठमाडौंमा पढिरहेका छन्।

आफ्नै तीन छोरीमाथि जाईलाग्ने बाबुको यो अमानवीय कृत्य केही वर्षअघिको हो। यो घटना आफ्नो घरभित्र पनि बालिका सुरक्षित छैनन् भन्ने कुराको ज्वलन्त उदाहरण हो। यतिमात्रै हैन, घरभित्रै बलात्कारको शिकार बन्न बाध्य बालिका जिल्लामा थुप्रै छन्।

जिल्लाको पहाडी क्षेत्र बंगलाचुलीकी १० वर्षीया रश्मि (नाम परिवर्तन) घरमा आमा हुँदा एक्लै हुन्थिन्। बाबु साँझ घर फर्कन्थे। रश्मिले आफ्नै बाबुबाट असुरक्षित महसुस गर्ने कुरै भएन। एक दिन घरमा आमा नभएको मौका छोपेर रश्मिका बाबुले छोरीमाथि गिद्धे नजर लगाए। उनी बाबुबाटै बलात्कृत भइन्। यो शृंखला झन्झन् बढ्दै जान थाल्यो। घरमा आमा नभएको बेला उनी कहिल्यै सुरक्षित बन्न सकिनन्। तथापि लामो समयसम्म बाबुबाट बलात्कृत हुनुपरेको घटना कसैलाई भन्न सकिनन्। बाबुले आफूलाई यौन दुव्र्यवहार गर्न थालेपछि उनको धैर्य टुट्यो। अन्ततः उनले आमालाई सबै कुरा सुनाइन्। पीडित पक्षले ०७३ पुसमा उजुरी हाल्यो। आरोपित बाबुलाई दोषी ठहर गर्दै जिल्ला अदालतले ०७३ चैतमा २० वर्ष कैद तथा पीडित पक्षलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिदियो। अहिले छोरीमाथि बलात्कार गर्दै आएका बाबु जेलमा छन्।

तुलसीपुरकी रुबिना १४ (नाम परिवर्तन) की आमा वैदेशिक रोजगारीमा गएपछि घर परिवारको रेखदेखको जिम्मेवारी उनै रुबिनाको काँधमा आइप-यो। घरमै रहेका बाबुले उनीमाथि जबर्जस्ती गर्न थाले। बाबुको यो क्रुर रूपले रुबिना आजित बन्दै गइरहेकी थिइन्। बाबुले २०७२ साउनमा घरमै बलात्कार गरे। बाबुको यो कर्तुत एकपटकमा मात्रै सीमित रहेन। २०७० देखि  २०७३ माघसम्म लगातार डेढ वर्ष बलात्कृत बन्नुपरेको पीडा उनले आफूभित्रै लुकाएर बस्न सकिनन्। उनले आफूमाथि बाबुले गरेको कुकृत्य आफन्तलाई सुनाइन्। ०७३ माघ १५ गते बाबुविरुद्ध बलात्कार गरेको उजुरी प¥यो। माघ २३ गते बाबु पक्राउ परे। जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १८ वर्ष कैद र चालीस हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाइदियो। छोरीलाई बलात्कार गरेको कसुरमा उनी अहिले जेल सजाय भोगिरहेका छन्।

आमा वैदेशिक रोजगारीमा गएकै कारण दंगीशरण गाउँपालिकाकी ९ वर्षीया केसरी (नाम परिवर्तन) लाई पनि बाबुको यौन दुव्र्यवहार खेप्नुप¥यो। बाबुबाट लगातार बलात्कृत हुनु परेपछि ती बालिकाले गाउँलेलाई सुनाइन्। गत भदौ २२ गते छोरी बलात्कार गर्ने बाबुविरुद्ध उजुरी प¥यो। राप्ती उपक्षेत्रीय अस्पतालमा ती बालिकाको स्वास्थ्य परीक्षण भयो। अस्पतालले बलात्कार भएको पुष्टि गरिदियो। बलात्कारका आरोपी बाबु घटनाको उजुरी परेलगत्तै फरार छन्।

पश्चिम दाङको एक घरमा रातको समयमा बालिकाको रुवाइ फुटेको ठूलो स्वर गाउँलेले सुन्दै आएका थिए। बालिकाको आमा अन्यत्रै विवाह गरेर गएकी थिइन्। घरमा बालिका र उनका बाबुमात्रै थिए। घरमा बच्चीको रुवाइ दिनानुदिन बढ्दै जान थालेपछि गाउँलेले बालिकासँग सोधपुछ गरे। उनले आफूमाथि बाबुले बलात्कार गर्ने गरेको सुनाइन्। बालिकाको भनाइअनुसार गत जेठमा छिमेकीहरूले प्रहरीमा उजुरी हालिदिए। बालिकाको संरक्षक कोही पनि नभएको भन्दै बाबुलाई आइन्दा गल्ती नगर्ने सर्तमा मिलापत्र गराएर छोडियो। तर, अन्यत्रै विवाह गरेर गएकी बालिकाकी आमाले उजुरी दिन सक्ने त्रासले ती बाबु अहिले पनि फरार छन्।

विभिन्न निकायले तयार पारेको बलात्कारसम्बन्धी घटनाको तथ्यांक हेर्ने हो भने जिल्लामा मासिक चारपाँच बलात्कारका घटना सार्वजनिक हुने गर्छन्। गुपचुप लुकाइएका घटना पनि उत्तिकै हुन्छन्। बाबुबाट बलात्कार भएका घटना वर्षमा सरदर पाँचको हाराहारीमा देखिन्छ। ‘जिल्लामा बलात्कारका घटनालाई हेर्ने हो भने बढ्ने क्रममा देखिन्छ,’ इन्सेक दाङका प्रतिनिधि जयनारायण पुनले भने, ‘महिनामा सरदर चारदेखि पाँचवटा घटना सार्वजनिक भैरहन्छन्।’ झन्डै तीस प्रतिशत घटना त मिलापत्रमै टुंग्याइन्छन्।

जिल्लामा हुने बलात्कारका घटनामा ३ वर्षका बालिकादेखि १५ वर्षसम्मका किशोरी बढी पीडित भएको देखिन्छ । ‘३ वर्षका बालिकादेखि १५ वर्षसम्मका बालिकामाथि बलात्कार बढी हुने गरेको घटनाहरूले देखाउँछ,’ पुनले भने, ‘कतै न कतै आफन्त साइनो पर्नेबाटै बालिका बढी बलात्कृत हुने गरेको पनि भेटिएको छ।’

प्रकाशित: १६ चैत्र २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App