५ वैशाख २०८१ बुधबार
अर्थ

कालोपत्रेको गुणस्तरमा अख्तियारको छानविन

मध्यपहाडी लोकमार्गको हलेसी–बिजुले सडक खण्डमा कालोपत्रेको गुणस्तर परीक्षण गर्दै अख्तियारका प्राविधिकको टोलीलगायत । तस्बिर सौजन्य : इवन राई

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–बिजुले सडक खण्डमा काम सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।

कमसल संरचना निर्माण भइरहेको जनगुनासो आएपछि आयोगले मध्यपहाडी लोकमार्गको हलेसी–बिजुले (१२ किमि) र जयराम–हलेसी (३० किमि) खण्डको गुणस्तर विषयमा छानबिन थालेको हो।

आयोगको केन्द्रीय कार्यालयबाट खटिएका इन्जिनियर सन्तोष निरौला, ल्याब अधिकृत बिनोद शाह र सब–इन्जिनियर गगन बुढाको टोलीले बिहीबार हलेसीदेखि अर्खौलेबीचको सडक खण्डमा शंका लागेको विभिन्न ठाउँको फस्टकोड परीक्षण गरेको छ।

महिना दिन नबित्दै कालोपत्रे उप्किन थालेको, कमसल ढुंगाको गिटीलाई बेसकारुपमा प्रयोग गरिएको, कतिपय ठाउँमा सब–बेसलाई नै बेसकारुपमा राखेको, पर्खाल तथा ड्रेन कमजोर बनाइएको, सिमेन्टले बनेका संरचनालाई क्युरिङ नगरिएको लगायत चर्को गुनासो आएपछि अख्तियारको टोलीले हलेसी–बिजुले खण्डको स्वास्थ्य चौकी हलेसी जाने मोडको कालोपत्रे स्थलगत परीक्षण गरेको हो।

हलेसी–बिजुले खण्डको फस्ट कोड गरिएका स्थानमा स्थलगत परीक्षण तथा पूर्ण कालोपत्रे गरिएका ठाउँका बिटुविन (अलकत्रा), बेस मेटेरियल, चिप्स, गिटीलगायत सामग्री परीक्षणका लागि कोट्याएर शिलबन्दी गर्दै लगिएको आयोगबाट खटिएका इन्जिनियर निरौलाले बताए । ‘शंका लागेका कतिपय ठाउँमा इन्सिन्टु डेनसिटी टेस्ट र कम्पेक्सन टेस्ट गरेका छौं,’ इन्जिनियर निरौलाले भने, ‘कालोपत्रे भइसकेको ठाउँको गुणस्तर परीक्षणका लागि भने बिटुविन, बेस मेटेरियलको स्याम्प्लिङ काठमाडौं लैजाँदै छौं । यसको नतिजा ल्याब टेस्टपछि मात्र भन्न सकिन्छ।’

ल्याब टेस्टका लागि टोलीले कालोपत्रे सडकबीचमा ३० सेन्टिमिटर गोलाकार गहिराइसम्म खनेर निकालिएको निर्माण सामग्री काठमाडौं लैजान शिलबन्दी गरिएको जनाएको छ। अख्तियारका इन्जिनियरको टोलीले हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, मध्यपहाडी लोकमार्गका सिनियर डिभिजन प्रमुख बिजय चापागाई, हलेसी–दिक्तेल सडक आयोजनाका प्रमुख गोबिन्द वाग्ले, ठेकेदार, परामर्शदाता कम्पनीलगायतको उपस्थितिमा सडकको गुणस्तर परीक्षण गरेको हो।

हलेसी–बिजुले खण्डको हलेसी–काभ्रेको बीचमा हालिएको फस्ट कोड कालोपत्रे तथा जयराम–हलेसी सडकका विभिन्न खण्डको प्राइम केही महिनामै उप्किएको गुनासो आएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर, उपमेयर, इन्जिनियरलगायतको टोलीले स्थलगत अनुगमन गरेको केही समयपछि अख्तियारले परीक्षणका लागि आफ्नै प्राविधिक टोली पठाएको हो।

हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेदेखि २७ गतेसम्म जयराम–हलेसी र हलेसी–बिजुले खण्डको कालोपत्रेको अवस्था अनुगमनका क्रममा मेयर राईले ठाउँ–ठाउँमा कालोपत्रे कोट्याएका थिए ।हलेसी–बिजुले खण्डको कालोपत्रेको काम लुम्बिनी कन्काई सुर्य जेभी तथा जयराम–हलेसी सडकमा रौता कन्स्ट्रक्सनले डिबिएमएसटी पिचका काम गरिरहेको छ।

दुईपटक म्याद थप भइसकेको हलेसी–बिजुले खण्डको म्याद आगामी असार मसान्तमा सकिँदै छ भने जयराम–हलेसी सडकको काम यसै चैत मसान्तभित्र सकिँदै छ । अख्तियारको इन्जिनियरको टोलीले मध्यपहाडी लोकमार्गकै जयराम–हलेसी सडक, बिजुले–हुर्लुङ (१२ किमि) र हुर्लुङ–दिक्तेल (११.४३ किमि) खण्डको काममा ढिलासुस्ती र गुणस्तरको विषयमा पनि क्रमशः अनुगमन गरिने जनाएको छ।

नगरपालिकाले गरेको अनुगमनका क्रममा जयराम–हलेसी सडक खण्डको कदुवा, च्यास्मिटारलगायत ठाउँमा कालोपत्रे कोट्याएर संरचनाको गुणस्तर परीक्षण गरिएको थियो। हलेसी–बिजुले खण्डको हलेसी–काभ्रेकोबीचमा हालिएको फस्ट कोड कालपत्रे केही महिना नबित्दै उप्किएर खाल्डो बनेको पाइएको नगरपालिकाले जनाएको छ।

हलेसी–बिजुले खण्डको स्वास्थ्यचौकी हलेसी जाने मोड, मञ्जुश्रीतर्फको मोड, पशुसेवा केन्द्रमुनिको मोड, पात्लेगैरा मोड, भक्तेकुवामाथिका दुई मोडको फस्ट कोड खाल्डो परेर ढुंगा माटो निस्किएको पाइएको मेयर राईले बताए ।


 

प्रकाशित: १६ चैत्र २०७४ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App